विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्ध यताकै खराब र नेपालको वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने



काठमाडौं । कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले गरेको प्रक्षेपणमा यस वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले नकारात्मक हुने देखिएको छ । यो दोस्रो विश्व युद्धपछिको अर्थतन्त्रमा देखिएको सबैभन्दा अवस्था भएको बैंकको भनाइ छ ।

विश्व बैंकले सन् २०२० को ग्लोवल इकोनोमिक प्रोस्पेक्टस सार्वजनिक गर्दै सन् १८७० यता सबैभन्दा धेरै प्रतिव्यक्ति आयमा कमी आएको समेत जनाएको छ ।

त्यस्तै, एड्भान्स इकोनेमी भएका देशको अर्थतन्त्र भने सन् २०२० मा ७ प्रतिशतले घट्ने देखिएको छ । आन्तरिक वस्तुको मा र आपुर्ती, व्यापार तथा वित्त क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । समग्रमा हेर्दा अर्थतन्त्रमा ६० वर्षमा संकुचन आउने देखिएको छ । त्यस्तै प्रतिव्यक्ति आय पनि ३.६ प्रतिशतले घट्ने र लाखौं मानिसहरु अति गरिबीमा जाने प्रक्षेपण विश्व बैंकको छ ।

कोरोना भाइरसको महामारीले ठूलो असर गरेका देशहरुमा सबैभन्दा ठूलो असर पर्ने र यसले विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा ठूलो असर पर्ने देखिएको छ । यसले क्षेत्रीय स्तरमा समेत ठूलो असर गर्नेछ ।

त्यस्तै, विकासोन्मुख बजार तथा देशको बाह्य अर्थतन्त्रमा असर पर्ने र यसले विद्यालय, आधारभूत स्वास्थ्य सेवामा मानिसहरुको पहुँच कम हुने र यसले मानव पुँजी विकासमा संकुचन आउने विश्व बैंकले बताएको छ ।

‘यो गहिरो गरी बुद्धिमतापूर्ण तरिकाले अध्ययन गरिएको छ, महामारी अझ लामो समयसम्म जाने र यसले विश्वमा ठूला परिवर्तन ल्याउनेछ,’ विश्व बैंक ग्रुपका इक्विटेवल ग्रोथ, फाइनान्स एन्ड इन्स्टिच्युसनका उपाध्यक्ष केयला पाजारबासिओग्लुले भने, ‘हाम्रो पहिलो प्राथमिकता विश्वको विश्वव्यापी स्वास्थ्य तथा आर्थिक संकटकाललाई सम्बोधन गर्नु हो, त्यससँगै विश्व समूदायलाई सहजरुपमा अति गरिबी तथा बेरोजगारीमा जानबाट बचाउनु, पुनरुत्थान र पुननिर्माण गर्नु हो ।’

हालसम्म गरिएको प्रक्षेपणका आधारमा सन् २०२१ मा विश्वको अर्थतन्त्र रिबाउन्ड भइ ४.२ प्रतिशतको वृद्धि अनुमान गरिएको छ भने अति विकसित देशको अर्थतन्त्र ४.६ प्रतिशतले रिबाउन्ड हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी महामारी अनिश्चितकालसम्म लम्बियो भने यो अवस्था अझ खराब हुँदै ८ प्रतिशतसम्म अर्थतन्त्र नकारात्मक हुने समेत विश्व बैंकको भनाइ छ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.८ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा २.१ प्रतिशत मात्रै वृद्धिदर हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान गरेको छ भने आगामी वर्षको लागि ७ प्रतिशतको लक्ष्य राखिएको छ ।

नेपालले सन् २०१९ मा ७ प्रतिशत, सन् २०१८ मा ६.७ प्रतिशत र सन् २०१७ मा ८.२ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

त्यस्तै, महामारीले रिकभरीको बाटोमा रहेको नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर परेको विश्व बैंकले रिपोर्टमा उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स जस्ता देशमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा योगदान भएको भए पनि महामारीले त्यसमा समेत ठूलो असर गरेको छ ।

नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेको र महामारीका कारण सरकारले गरेको अन्तर्राष्ट्रिय सीमा तथा उडानमा लगाएको रोकका कारण यसले आगामी दिनमा ठूलो असर पर्ने उल्लेख गरिएको छ । त्यसले पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सञ्चालित बजार, आपूर्ति, आन्तरिक उत्पादन तथा निर्माणमा समेत असर परेको छ ।

त्यसैगरी दक्षिण एसियामा सबैभन्दा बढी भारतको अर्थतन्त्रको वृद्धिदर ४.२ मा सीमित हुने र सन् २०२१ मा वृद्धिदर ३.२ प्रतिशत नकारात्मक हुने प्रक्षेपण गरिएको छ । भने पाकिस्तानमा यो वर्ष २.६ प्रतिशत वृद्धिदर नकारात्मक हुने र सन् २०२१ मा ०.२ प्रतिशत अर्थतन्त्र नकारात्मक हुने उल्लेख गरिएको छ ।


क्लिकमान्डु