अब विदेशबाट मोबाइलमार्फत रेमिट्यान्स पठाउन सकिने, यस्तो छ राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट रेमिट्यान्स सेवा शुरु गर्ने भएको छ । विदेशमा रहेका नेपाली कामदारहरुले आफ्नो मोबाइलबाटै नेपालमा रहेका आफन्तहरुलाई रकम पठाउन मिल्ने व्यवस्थाको शुरुवात गर्न राष्ट्र बैंकले तयारी थालेको हो ।

कोरोना भाइसरको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै न्यून आय भएका वैदेशिक रोजगारमा गएका नेपाली कामदार लक्षित गरी मोबाइल वालेट रेमिट्यान्सको गृहकार्य शुरु गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

‘मध्यम आय भएका नेपालीहरुले दैनिक खर्चका लागि नेपाल पठाउने रकमलाई ध्यानमा राख्दै मोबाइलबाटै नेपालमा इच्छाएको व्यक्तिलाई पैसा पठाउन सक्छन्,’ उनले क्लिकमाण्डूसँग भने ‘विदेश जाने नेपालीले बैंकमा खाता हुन्छ सोहीको आधारमा कामदार आफैले वा कम्पनीले सोझै नेपालमा पैसा पठाउन सक्छन् ।’

विदेशमा हुने सबै नेपालीलाई रेमिट्यान्स एजेन्सी वा सेवा प्रदायक कम्पनीहरुबाट नेपाल पठाउन सहज अवस्था नहुने हुँदा मोवाइल वालेट रेमिट्यान्सले उनीहरुलाई धेरै सहज हुने उनको विश्वास छ ।

विदेशमा बस्ने नेपालीले प्रत्येक दिन एक एकाउण्टबाट बढीमा १ लाख रुपैयाँसम्म नेपाल पठाउन सक्ने गरीको व्यवस्था गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

‘वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली कामदारहरुले महिनामा पठाउने भनेको ५० हजार रुपैयाँसम्म हुन्छ,’ उनी भन्छन् ‘विदेशबाट आएको ५÷१० हजार रुपैयाँ पठाउनु पर्दा अहिले रेमिट कम्पनी नै जानुपर्छ ।’

वैदेशिक रोजगारीका गएका नेपालीहरुले प्राय जसो उनीहरुको बिदा भएको दिन बढी रेमिट कम्पनीबाट रेमिट्यान्स नेपाल पठाउँछन् । वैदेशिक रोजगारीमा नै गएका अधिकांश नेपालीहरुले मासिक रेमिट्यान्स पठाउने क्षमता भनेको ५० हजार रुपैयाँभन्दा धेरै हुदैँन ।

रेमिट कम्पनीबाट थोरै पैसा पठाउँदा पनि शुल्क धेरै लाग्ने र प्रक्रिया झन्झटिलो हुने हँदा साथीभाइ मिलेर सापटी गरेर एक पटकमा १/२ लाख पठाउने र्गछन् ।

‘यसरी सर–सापटी लिएर पठाएको पैसा पनि नेपाल पठाउँदा बीचको एजेन्सीलाई धेरै शुल्क तिर्नुपर्ने बाध्यता भएको हुँदा कामदार आफैले परिवारलाई आवश्यक परेको पैसा सोझै नेपाल पठाउन मिल्ने व्यवस्था गर्न लागिएको हो,’  कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने ।

‘रेमिट् कम्पनीबाट धेरै शुल्क लाग्ने हुँदा हुण्डी समेत हुन्छ,’ उनले भने ‘मोबाइल वालेट मार्फत पैसा पठाउँदा शुल्क सस्तो र आवश्यक परेको समयमा तुरुन्तै पठाउन सकिने हुँदा गैर कानुनीरुपमा नेपाल भित्रिने पैसाको कारोबारलाई दुरुत्साहित गर्छ ।’

हाल नेपालमा रेमिट्यान्सकको शुल्क औषतमा ४.५ प्रतिशत छ । मोबाइल वालेटको शुल्क रेमिट्यान्स एजेन्सीहरुको भन्दा थोरै हुने हुँदा यसको सुरुवातले १ प्रतिशत शुल्क घटाउन मद्दत हुने निश्चित छ ।

तथ्यांक अनुसार हाल औपचारीक रुपमा २५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो सेवा शुरु भएपछि नेपालमा औपचारीक माध्यमबाट भित्रिने रेमिट्यान्सको परिमाण वृद्धि हुने देखिन्छ ।

‘स–सानो परिमाणमा मोबाइल वालेट रेमिट्यान्सको प्रयोग गरी विदेशमा रहेको नेपालीले पैसा पठाउँदा पनि मासिक १ अर्ब र वार्षिक १२/१४ अर्ब रुपैयाँ थप रेमिट्यान्स नेपाल भित्रिने सम्भावना छ,’ कार्यकारी निर्देशक नेपालले भने ।

‘विदेशमा रहेका बैंक तथा रेमिट्यान्स प्रदायक मोबाइल वालेट सञ्चालन गरिरहेका कम्पनीहरुसँग सम्वन्य गरी यस प्रकारको व्यवस्था अर्को सातासम्म गर्ने गृहकार्यमा हामी लागेका छौँ,’ उनी भन्छन् ‘कामदारहरुले मोबाइल वालेट रेमिट् सेवा प्रयोग गर्न त्यहाँको रेमिट् कम्पनी वा बैंकको मोबाइल वालेट एपको प्रयोग गर्नु पर्छ ।’

केही कम्पनीहरुले कामदार अनुरोधमा तलब सोझै नेपालमा उनीहरुको आफन्तको खातामा समेत पठाउन सक्ने उनले बताए । जसका लागि रेमिट्यान्स पठाउने र प्राप्त गर्ने दुबै तर्फले मोबाइल वालेट रेमिट्यासको प्रयोगकर्ता हुनु पर्ने हुन्छ ।

मोबाइल वालेट रेमिट्न्सको विकसित देश लगायत केही खाडी मुलकहरु मलेशिया, साउदी अरब लगाएतका देशमा पनि पनि शुरुवात भइसकेको छ ।

‘विदेशमा र नेपालको रेमिट्यान्स कम्पनीहरुसँग यसमा कसरी अघि बढ्न सकिन्छ छलफल गरिरहेका छौँ,’ कार्यकारी निर्देशक नेपालले भने ‘यस प्रकारको सेवाको शुरुवात नेपालमा पनि हुँदा रेमिट्यान्सबाटै दैनिक गुजारा चलाउने न्यून आय भएका नेपाली कामदारहरु र उनीहरुको परिवारले धेरै लाभ लिन सक्ने देखिन्छ ।’

साथै रेमियन्ट्स पठाउँन र भिक्न रेमिट कम्पनीमा जाँदा कोरोना भाइसरको संक्रमणको जोखिम पनि मोबाइल वालेट रेमिट्यान्सले रोक्न सक्ने विस्वास गरिएको छ ।


क्लिकमान्डु