सरकारको लकडाउन अर्थतन्त्रको लागि ‘ब्रेकडाउन’



काठमाडौं । जेठ २० गतेपछि आंशिक रुपमै भए पनि लकडाउन खुल्छ र काम गरौंला, जीवन बाँच्ने आधार फेरि तयार गरौंला भन्ने आशामा बसेका नागरिकहरुलाई सरकारले ‘लकडाउन ८.०’ लागू गरी फेरि एकपटक निराश बनायो ।

धेरैको भनाइ थियो, लकडाउन अब कुनै पनि हालतमा खोल्नुपर्छ नत्र जीवन धान्नै गाह्रो हुन्छ । यसका लागि सरकारले हेर्छ र जे निर्णय गर्छ त्यो जनताको हितमै हुन्छ । तर सरकारले त्यसको ठीक विपरीत लकडाउनको आठौं अध्याय शुरु गर्यो ।

लकडाउन बढाउने घोषणा गरेको केही समयमै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जाल ट्विटरमा असन्तुष्टि जनाए ।

लेखे, ‘यो लकडाउन, लकडाउन रहेन, अब अर्थतन्त्रको ब्रेकडाउनमा परिणत भयो !’ उनले त्यसैलाई कोट गरी १२ घण्टापछि फेरि असन्तुष्टि जनाए ‘नेपालको लकडाउन अब विश्वकै सबैभन्दा लामो । तुलनात्मक जोखिम सरकारले नबुझेको हो कि ?’

महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको अर्गनाइजेसनका विभिन्न कम्पनीमा १७ हजार श्रमिक र कर्मचारी काम गर्छन् । चैत ११ गतेदेखि शुरु भएको लकडाउन यति उनीहरुले काम गर्न पाएका छैनन् । उत्पादन र आपूर्ती बन्द हुँदा आम्दानी ठप्प भएको छ, तलब कसरी दिने भन्ने चिन्ता हरेक दिन थपिँँदै छ ।

‘शुरुमा लागेको थियो, एक साता वा एक महिनासम्म जे जसरी हुन्छ, लकडाउन पालना गरौं, यस्तो संकटका बेलामा सबैको साथ चाहिन्छ भन्ने थियो, तर अब अवस्था त्यो रहेन,’ गोल्छाले भने ।

उनका अनुसार लकडाउनका हरेक दिनमा बैंकको ब्याजदर, श्रमिकको तलब, भाडा, विद्युत महसुलको शुल्कलगायतका विभिन्न खर्चको भार हरेक दिन बढ्दैछ । अब यसले तलब दिन त समस्या थपिँदैछ अर्को समस्या कसरी बाउन्स ब्याक गर्ने हो भन्ने अवस्था पनि आउन थालेको छ ।

महासंघ पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि लकडाउन फेरि थपियो अब अर्थतन्त्र के होला भन्ने चिन्ता व्यक्त गरिसकेका छन् । व्यवसायीहरु अब कुनै पनि हालतमा अर्थतन्त्र चलायमान बनाउनुपर्ने अन्यथा आर्थिक संकट अझ गहिरिने चिन्ता व्यक्त गरेका छन् ।

यो गोल्छाको मात्रै होइन सबैखाले ठूला र साना व्यवसायीको पनि अवस्था त्यस्तै छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको भनिएको होटल व्यवसायीहरुले त १२.५ प्रतिशतभन्दा बढी तलब दिन नसक्ने बताइसकेका छन् ।

पर्यटन क्षेत्रमा लागेका करिब ३ लाख मानिसहरु प्रत्यक्ष रुपमा बेरोजागर हुने अवस्था छ । लकडाउन खोलौं र विस्तारै आन्तरिक पर्यटन बढाएर यस क्षेत्रको जीवन जिउन सक्ने बनाऔं भन्दै अग्रसर भएका व्यवसायीहरु फेरि निराश बनेका छन् ।

छिमेकी मुलुक भारतमा लकडाउनलाई अनलक गर्ने पहिलो अध्यायय जुन ८ देखि शुरु हुँदैछ । त्यहाँको सरकारले विभिन्न फेजमा लकडाउन खुकुलो बनाउँदै लैजाने बताइसकेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा लकडाउन छैन । यद्यपि त्यहाँ बन्द भएका व्यवसायहरु विस्तारै खुल्दैछन् । महिनौं दिन घरमै बसिरहेका मानिसहरु अब अर्को सातादेखि काममा फर्कन पाएका छन् ।

एकातिर काम गर्न नपाएर खान पनि नसक्नेहरुका लागि राहतको व्यवस्था भनेजसरी पुगेको छैन भने मानिसहरु भोको पेटमा सडकमा मर्न बाध्य छन् । न त काम गर्ने वातावरण मिलाउन सक्ने न त राहतको व्यवस्था मिलाउन सक्ने भन्दै सरकारको चर्को विरोधमा मानिसहरु उत्रन थालिसकेका छन् ।

कोरोनाको उद्गमस्थित चीनमा पनि ७२ दिनको मात्रै लकडाउन थियो । त्यसपछि चीन सरकारले कोरोना नियन्त्रण र रोकथाममा देखाएको सक्रियताले कोरोनामाथिको विजयी प्राप्त गरेको थियो । तर हामीकहाँ २ महिनाभन्दा बढी समय लकडाउन हुँदा कोरोना नियन्त्रण हुनुपर्नेमा झन तीव्ररुपमा फैलिरहेको छ ।

लकडाउन शुरु हुँदा कोरोनाका एक जना मात्रै संक्रमित थिए । त्यसको केही समयसम्म ९ जनामा मात्रै सीमित भए पनि पछिल्लो साता दैनिक १ सयदेखि १८९ को संख्यामा संक्रमितहरु बढिरहेका छन् । यसबीचमा न त क्वारेन्टिनको राम्रो व्यवस्था छ न त विदेशबाट फर्कनेहरुका लागि कुनै व्यवस्था छ ।

अर्थतन्त्र लामो समयसम्म बन्द राखेर जीवन धान्न सकिन्न भन्ने बुझेका ठूला देशहरुले लकडाउन हटाउन र आर्थिक गतिविधिलाई सुरक्षित तरिकाले चलाउनका लागि अनेकन प्रयास गरिसकेका छन् । कार्यान्वयनमा ल्याइ पनि सकेका छन् तर नेपालमा त्यसको शुरुवात अझैसम्म हुन सकेको छैन ।

सरकारले ४४ वटा उद्योगमा सीमित कर्मचारी र श्रमिक राखेर सञ्चालन गर्न भने पछि ती क्षेत्रहरु पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । घर फर्किएका श्रमिक र कर्मचारीहरु आउन सकेका छैनन् । कच्चा पदार्थ ओसारपसार गर्ने सवारी पनि निर्वाध रुपमा चल्न सकेका छैनन् । त्यसैले त्यस्ता आयोजनाहरु निकै क्षमतामा सञ्चालन भइरहेका छन् ।

सामान्य अवस्थामा ६०/७० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुने उद्योगहरु धेरै बन्द ७० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुने उद्योगहरु धेरै बन्द छन् भने चलेका पनि १० प्रतिशत क्षमतामा मात्रै चलेका छन् । यिनै उद्योगहरुलाई देखाएर अर्थतन्त्र चलिरहेको छ भन्ने तर्कसंगत विषय हुँदै होइन ।


क्लिकमान्डु