रातभर बसेर बजेट फाइनलः कोरोनाबाट परेको अर्थतन्त्र उकास्न जोड दिइने



काठमाडौं । अर्थमन्त्रालयले बुधबार रातभर बसेर बजेटलाई फाइनल रुप दिएको छ ।

कोरोनाको कारण आर्थिक संकट आउन देखिन थालेको अवस्थामा आउन लागेको बजेटलाई सबैभन्दा ठूलो चुनौती स्रोत व्यवस्थापनमा रहेको छ ।

बजेटले पहिलो प्राथमिकता कोरोनाको कारण देखिएको स्वास्थ्य संकटलाई समाधान गर्नेमा केन्द्रीत गर्ने छ ।

‘स्वास्थ्यलाई बजेटले पहिलो प्राथमिकता दिएको छ,भविष्यमा आउन सक्ने संक्रमित रोगहरुको उपचारको लागि अपनाउनुपर्ने नीतिगत व्यवस्थाहरु बजेटमा उल्लेख गरिएको छ,’अर्थमन्त्रालयले स्रोतले भन्यो ।

बजेट निर्माणको लागि अर्थमन्त्री डा युवराज खतिवडा सहित उनको कोरटिम रातभर नै अर्थमन्त्रालयमा खटिएको थियो ।

बिहीबार मन्त्रीपरिषद्को बैठक बसेर बजेट पारित हुने छ भने परम्परा अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार नै बजेटको बिफ्रिङ गर्ने छन् ।

अर्थविद्हरुले ठूलो आकारको बजेट नल्याउन सुझाव दिएपनि बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो मात्र हुने छ ।
बजेटले स्वास्थ्य समस्यापछि मुख्य रुपमा कोरोनाको कारण संकटमा परेको अर्थतन्त्र उकास्नको लागि नीति लिने छ । मुख्य रुपमा स्वदेशी वस्तुको संरक्षण गर्ने र रोजगारी सिर्जना गर्नेमा बजेटले जोड दिने छ ।

श्रम बैंकको घोषणा सहित प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिवर्तन बजेटले गर्ने छ । आगामी वर्ष १५ लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने अनुमान सरकार छ । १५ लाख नयाँ रोजगारी सिर्जना गर्नको लागि प्रोत्साहनको नीति सरकारले लिने छ ।

नेगेटिभ लिस्टमा रहेका सुर्तीजन्य र मदिरा तथा सवारीसाधनको कर बढ्ने छ । यसबाहेक स्वदेशी वस्तुको प्रवद्र्धन गर्नको लागि बजेट मार्फत विदेशबाट आउने वस्तुहरुको कर बढ्ने छ । कोरोनाको कारण राजस्व संकलन नै कति हुन्छ भन्ने अनुमान गर्न नै यो पटक बजेट निर्माणमा सक्रिय रहेको अर्थमन्त्रालयको टोलीलाई भएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा ४ बजे बजेट सार्वजनिक गर्ने छन् । अर्थमन्त्री डा युवराज खतिवडा लगातार तीनपटक बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघि यस्तो रेकर्ड महेश आचार्यले बनाएका थिए । बामगठबन्धनको यो तेस्रो पटक हुने छ ।

बजेटले अनावश्यक खर्च कटौतीमा जोड दिने छ । खासगरी टुक्रे आयोजनाहरु केही कटौतीका निर्णयहरु बजेटमा हुने छन् । यद्यपी सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव अनुसारको पूर्ण कार्यान्वयन भने हुने छैन ।

सरकारले यो पटक खर्च कटौतीको लागि नयाँ सवारीसाधन नकिन्ने तथा तालिम तथा प्रोत्साहनको नाममा दिने भत्ताहरु नदिने निर्णय गर्ने छ ।
कोरोना संकटको कारण कर्मचारीको तलब बढ्ने छैन कर्मचारीले पाउने सुविधालाई निरन्रता नै हुने छ भने सामाजिक सुरक्षा भत्ता आर्थिक आधारमा दिने घोषणा बजेटले गर्ने छ । यसअघि नै बजेटको सिद्दान्त र प्राथमिकतामा सामाजिक सुरक्षा भत्तामा आर्थिक आधार खोजिने घोषणा अर्थमन्त्री खतिवडाले गरेका थिए ।


क्लिकमान्डु