कोरोनाको कहर महिला उद्यमशीलताको अवसर बन्न सक्छः कोपिला अर्यालको लेख



कोरोना महामारीको असर विश्वस्तरमा छ । र, यसले आर्थिक क्रियाकलाप ठप्प पार्दा श्रम बजारमा ठूलो असर परेको छ । जसले गर्दा रोजगारीमा कटौती शुरु भइसकेको छ ।

विश्व बजारमा देखिएको यो समस्याबाट नेपाल पनि अछुतो रहने सक्दैन । फलस्वरुप १०औं लाखभन्दा बढी मानिसहरु बैदेशिक रोजगारबाट फर्कन सक्ने आँकलन गरिएको छ । यसले स्वदेशमा बेरोजगारीको दर अझ बढाउने प्रक्षेपण गरिएको छ ।

बढ्दो बेरोजगारीका कारण १५औं योजनाले गरिबीको दरलाई एकल विन्दुमा ल्याउने लक्ष्य पूरा नहुने देखिएको छ । भने अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको रेमिट्यान्समा आउने कमीले नेपालको विदेशी मुद्रा सञ्चिती तथा अन्तर्राष्ट्रिय व्यापारमा नकारात्मक असर पर्न गई देशको अर्थतन्त्रमै गम्भीर समस्या पर्न सक्ने देखिएको छ ।

नेपालमा वैदेशिक रोजगारीले बढेको विप्रेषण आप्रवाहले आममानिसको जीवनस्तर उकासेको छ । महिलाहरु हाल उद्यमशीलता तथा व्यवसायमा त्यति आकर्षित भएको पाइदैन । विपेषणका रुपमा प्राप्त हुने रकम घर खर्च तथा दैनिक जीविकोपार्जनमा अधिक खर्च हुने र पुँजीगत खर्च तथा बचत कम रकम हुने हुनाले समेत विप्रेषणबाट आएको रकम सही ठाउँमा सदुपयोग नभएको हो कि भन्ने आभाष हुने गरेको छ ।

विप्रेषण आप्रवाहले सामाजिक जीवन भड्किलो बनाएको छ र यसले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने भन्दा पनि घर व्यवहार र पारिवारिक हेरचाहमै सीमित गरेको छ । यसले भविष्यमा महिलाहरुको जीवनमा गम्भीर असर गर्ने निश्चित छ ।

वर्तमान अवस्थामा नेपालमा दैनिक घरयासी प्रयोजनमा प्रयोग हुने सामानहरुको आयात बढ्दो छ । यसले प्रत्येक वर्ष अर्बौको रकम विदेश पलायन हुने स्थिति छ । घरेलु तथा मझौला उद्योगबाट उत्पादन हुने सामानहरुको उत्पादनमा महिलाहरुको सहभागिताले महिलामा उद्यशीलता बढ्ने साथै सामाजिक कुरिति तथा पारिवारिक बेमेलको समस्या समेत निकारण भई महिला उद्यमशीलताले समाजमा दोहोरा प्रभाव पार्ने निश्चितै छ ।

नेपाल सरकारले २०७७÷७८ को नीति तथा कार्यक्रम संसदमा भर्खरै पेश गरेको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आधुनिकीकरण गरी उत्पादन १० वर्षमा दोब्बर गर्ने लक्ष्य लिएको छ ।

साथै फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, रोजगारी गुमाएका नागरिकहरुको सदुपयोगिता गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्य प्राथमिकताको साथ पेश गरेको छ ।

यसर्थ सरकारले कल्पना गरेको आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनालाई साकार पार्न समेत महिला उद्यमशीलताले विशेष भूमिका खेल्ने निश्चित छ ।

राष्ट्रिय योजना आयोगले नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्न भर्खरै मात्र सूचना जारी गरेको छ । विभिन्न व्यवसायको नविनतम ज्ञान, सीप, योजना तथा क्षमता भएका र स्वपुँजी नभएको युवाहरुलाई उद्यमशीलतातर्फ आकर्षण गर्न सरकारले शुरुवाती पुँजी अनुदान दिने निर्णय गरेको छ ।

साथै नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रुपैयाँसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको छ । यस्तो अवस्थामा स्वपुँजी नभएर महिलाहरु उद्यमशीलतातर्फ आकर्षित नहुने समस्या निराकरण हुने निश्चित छ ।

नेपाल सरकारले महिलाले उत्पादन गरेका वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्न सक्नुपर्छ । बजारमा केही लागत महंगो भए पनि उत्पादन भएका वस्तुको बिक्रीको जिम्मेवारी सरकारले लिएर महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षण गर्न सकिएमा घर भान्सा र पारिवारिक माहोलमा सीमित भएका महिलाहरुले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्न सक्नछन् । साथै महिलाहरुले विभिन्न नियामक निकायबाट झेल्ने समस्याहरुको समाधान गर्न समेत सरकारले विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

हाल नेपाल सरकार २०७७÷७८ को बजेट निर्माणमा व्यस्त छ । हाल महिलाको नाममा दर्ता भएको व्यवसायहरुको दर्ता तथा नविकरण शुल्कमा केही राहत भए पनि व्यवसायिक प्रतिष्ठान र महिलाद्वारा सञ्चालित सामान्य घरेलु व्यवसायले तिर्नुपर्ने कर रकम बराबर रहेको छ । त्यसैले यसतर्फ विशेष ध्यान दिई महिलाद्वारा प्रवर्तित व्यवसायमा केही कर छुट तथा राहात दिएमा समेत महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न सक्न्छि ।

यसर्थ हालको प्रतिकुल अवस्थामा देशको अर्थतन्त्रले नै समस्या भोगिरहेको र आन्तरिक उत्पादन न्यून तथा आयात केन्द्रित अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउन महिला उद्यमशीलता विकास गर्ने उपयुक्त समय हो ।

विभिन्न राष्ट्रले श्रमिक कटौती गर्दा देशमा बेरोजगारी बढ्न गई सामाजिक विचलन आउन सक्ने र समाजमा पर्ने नकरात्मक असर न्यूनिकरणका लागि समेत महिलालाई घरेलु तथा मझौला उद्योगतर्फ आकर्षण गर्ने र निर्माणमूखी खेती प्रणालीबाट आधुनिक कृषि प्रणालीतर्फ परिवर्तन गरी महिला उद्यमशीला विकास गर्न सके अहिलेको विषम् परिस्थिति देशका लागि सुवर्ण अवसर बन्न सक्नेछ ।


क्लिकमान्डु