कोरोना प्रभाव: रेमिट्यान्स घट्न थाल्यो, चैत महिनामा ३४ अर्ब मात्र आयो



काठमाडौं । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख हिस्सा मानिएको रेमिट्यान्स घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामामात्र ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । फागुन महिनामा ७९ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो ।

वार्षिकरुपमा हेर्दा अघिल्लो वर्षको चैत मसान्तको तुलनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स चैत मसान्तसम्ममा आएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको बृद्धिदर २० प्रतिशतको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सुरुदेखि नै आयातमा कमी आएको हुँदा शोधानान्तर भने बचतमा छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।

यस्तै चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४ अर्ब ८० करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ ।  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको थियो ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ खर्ब ९६ अर्ब ८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा १ खर्ब ५९ अर्ब ८१ करोड पुगेको छ । २०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर रु.९८२ अर्ब ५३ करोड कायम भएको छ ।


क्लिकमान्डु