बैंकहरुको खराब कर्जा बढ्यो, कस्को कति ?



काठमाडौं । पछिल्लो समय बैंकहरुमा खराब कर्जा अनुपात बढिरहेको छ । बैंकहरुले दिएको ऋण उठाउन नसकेपछि बैंकहरुको खराब कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा ०.०२ प्रतिशतले बढेको छ ।

बैंकहरुले सार्वजनिक गरेको गत आवको चैत मसान्तसम्म वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा १.६५ प्रतिशत औसत खराब कर्जा अनुपात रहेकामा चालु आवको सोही अवधिमा १.६६ प्रतिशत पुगेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जा मध्ये भाखा नाघेको एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले तोकिएको समयमा ऋण नउठेर ३ महिना नाघेको कर्जामा २५ प्रतिशत, ६ महिना नाघेमा ५० र एक वर्ष नाघेमा शत प्रतिशत प्रोभिजनिङ (जोखिम व्यवस्था) गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो बैंक तथा वित्तीय संस्थाको अवस्था त्यति नै राम्रो मानिन्छ । राष्ट्र बैंकले बैंकहरुलाई खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल हुनुपर्ने भनेको छ ।

चालु आवको त्रेस्रो त्रैमाससम्ममा ११ वटा बैंकको खराब कर्जा बढेको छ भने बाँकी रहेको बैंकहरुको खराब कर्जा घटेको छ ।

खराब कर्जा बढने बैंकहरुमा एनएमबी, नेपाल बंगलादेश, सिद्दार्थ, सेन्चुरी, लक्ष्मी, प्रभु, ग्लोबल आइएमई, एनआईसी एसिया, सानिमा, स्टयाण्र्ड चार्डर्ट र एभरेष्ट बैंक रहेका छन् ।

नेपालको खराब कर्जा दक्षिण एशियाली मुलुकमा सबैभन्दा थोरै भएको अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक कार्यक्रमै भन्दै आएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य र कृषि विकास बैंक दुवैको खराब कर्जा अनुपात चालु आवको पुस मसान्तमा ३.६५ प्रतिशत पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो अनुपात राष्ट्रिय वाणिज्य बैंकको ४.२८ प्रतिशत र कृषि विकास बैंकको ४.२२ प्रतिशत थियो ।

यसैगरी चैत मसान्तसम्म एनएनबि बैंकले सो अवधिमा अन्य बैंकको तुलनामा अत्यधिक मात्रामा खराब कर्जा अनुपात बढाएको छ ।

गत वर्षको चैत मसान्तमा ०.७९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात १.६९ प्रतिशतले बढेर २.४८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकले १.६९ प्रतिशतदेखि ०.०२ प्रतिशतसम्म खराब कर्जा अनुपात बढाएका छन् भने १५ वटा बैंकले खराब कर्जा अनुपात ०.०१ देखि १ प्रतिशतसम्म खराब कर्जा अनुपात घटाएका छन् । जसमा सबैभन्दा धेरै सिभिल बैंकले १ प्रतिशतले र सबैभन्दा थोरै नबिल बैंकले ०.०१ प्रतिशतले खराब कर्जा अनुपात घटाएका हुन् ।

नेपाल एसबिआई बैंकले भने चालु आवको चैत मसान्तसम्म खराब कर्जा अनुपात स्थिर राखेको छ । बैंकको गत आवको चैत मसान्तसम्म ०.१९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा पनि खराब कर्जा अनुपात ०.१९ प्रतिशत नै रहेको छ ।


पुष्प दुलाल