अलफ्ट रेस्टुराँको त्यो लञ्च मिटिङ जसले मिलायो बैंकका अध्यक्ष र सीइओबीचको विवाद



काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले यही बैशाख ९ गते एउटा निर्णय गर्यो ।

त्यो थियो बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट कोरोनाका कारण ऋणीहरु संकटमा परेको भन्दै ब्याजदरमा १० प्रतिशत छुट दिनेदेखि १ प्रतिशतले ब्याजदर घटाउने । र, बैंकिङ क्षेत्रको चालु तथा सञ्चालन खर्च घटाउन विशेष पहल गर्ने ।

यी निर्णय कार्यान्वयन गर्नका लागि परिसंघले बैंकर्स संघलाई पत्राचार गर्यो । संघलाई पत्राचार गर्नेवित्तिकै परिसंघले त्यो निर्णय मिडियामा पनि पठायो ।

मिडियाम समाचार आएपछि यो विषयले बैंकरहरुबीच खैलाबैला मच्चायो ।

परिसंघको पत्र र मिडियामा समाचारहरु आएपछि बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सीइओहरुको भाइबर ग्रुपमा यसको जानकारी गराउँदै सुझाव र प्रतिक्रिया मागे ।

६/७ जना सीइओहरुले मात्रै भाइबर ग्रुपमा सुझाव र प्रतिक्रिया दिए । उनीहरुले सबैले अध्यक्षहरुको संगठनले गरेको निर्णय कार्यान्वयन गर्न नसक्ने प्रतिक्रिया दिए ।

‘बैंक सञ्चालक र सीइओबीचको सम्बन्ध राम्रो भएन भने त्यसले समग्र वित्तीय प्रणालीलाई नै प्रभावित बनाउँछ भन्नेमा हामी हिँजो पनि सचेत थियौं । आज पनि छौं । र, भोलि पनि हुनेछौं ।’

वैशाख ११ गते बैंकर्स संघको कार्यसमितिको बैठक बस्यो । र, अध्यक्ष दाहालले ब्रिफिङसहित एजेण्डा प्रस्तुत गरे । केही सदस्यहरु बोलेनन् । धेरैले कार्यान्वयन गर्न नसकिने राय राखे । अध्यक्षहरुले क्षेत्राधिकार नाघेर निर्णय गरेको अधिकांशको प्रतिक्रिया थियो । अनि अध्यक्षहरुको संस्था परिसंघको निर्णय कार्यान्वयन गर्न नसकिने निर्णय भयो ।

जसरी अध्यक्षहरुको संगठनले मिडियावाजी गरेर निर्णय सार्वजनिक गर्यो त्यसरी नै सीइओहरुको संस्थाले पनि आफ्नो निर्णय मिडियाबाजी गर्यो ।

११ गते दिउँसो साढे २ बजे अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघले बैंकर्स संघलाई छलफलका लागि बोलाएको थियो । परिसंघले आफ्नो निर्णय कार्यान्वयन गराउनका लागि बैंकर्स संघलाई बोलाएको थियो ।

तर, बिहान बसेको संघको बैठकले कार्यान्वयन गर्न नसकिने निर्णय गर्यो । र, परिसंघले बोलाएको बैठकमा गएन ।

अध्यक्ष र सीइओहरुको संगठनबीच सतहमै छताछुल्ल हुनेगरी विवाद देखियो ।

अध्यक्षहरुले पनि सीइओहरु भनेका हामीले नियुक्ति गरेका कर्मचारी हुन् । हामीले निर्णय गरेपछि कार्यान्वयन नगरी सुखै छैन भन्ने हिसाबले बैंकर्स संघसँग छलफल नै नगरी एकैपटक निर्णय गरिदियो ।

अनि सीइओहरुको संस्था बैंकर्स संघले पनि हामी त राष्ट्र बैंकको रेगुलेशनबाट चल्ने हो । राष्ट्र बैंकबाहेक अरुले भनेको मान्न जरुरी छैन भनेर आफ्नो कार्यकारी अधिकारको प्रयोग गरे ।

जनताको पैसामा बैंकका अध्यक्ष र सीइओबीच जुँगाको लडाईं, गम्भीर खतराको रातो बत्ति !

कति विषय सम्बोधन गर्न सकिने थिए होला । कति नसकिने । तर, अध्यक्ष र सीइओहरुको संगठनबीचको जुँगाको लडाईंको एउटै कारण थियो- कम्युनिकेशन ग्याब ।

उनीहरुले ‘फेस टू फेस’ बसेर कुरै गरेका थिएनन् । आफ्ना निर्णयहरु तेस्रो पक्ष अर्थात् मिडियाबाट सार्वजनिक गरेका थिए ।

यसरी उत्पन्न विवादले वित्तीय प्रणालीमै असर गर्ने विश्लेषण गर्दै दुबै संगठनले आपसमा बसेर मनका भँडास पोख्ने अनि सहमतिमा अघि बढ्ने निष्कर्शमा पुगे । र, ९/१० दिन अघि ठमेलस्थित छायाँ सेन्टरमा रहेको अल्फोर्ट रेस्टुराँमा लञ्च मिटिङ गरे ।

उक्त मिटिङमा अध्यक्षहरुका तर्फबाट पवन गोल्यान, भोजबहादुर शाह, पृथ्वीबहादुर पाण्डे र चन्द्र ढकाल थिए भने सीइओहरुका तर्फबाट भुवन दाहा, अशोक राणा, ज्ञानेन्द्र ढुंगाना, अनुकुल भट्नाकर सहभागी थिए ।

‘त्यसअघि पनि हामीबीच विवाद थिएन तर कम्युनिकेशन ग्याब भएका कारण ठूलै विवाद भएजसरी मिडियामा समाचारहरु आए,’ परिसंघका अध्यक्ष पवन गोल्यानले क्लिकमाण्डूसँग भने, ‘त्यो कम्युनिकेशन ग्याब लञ्च मिटिङसँगै टुंगिएका छ । आपसमा कम्युनिकेशन मजबुत बनाउँदै मिलेर अघि बढ्ने र परिसंघका निर्णय कार्यान्वयन गर्ने समझदारी भएको छ ।’

‘देश संकटमा छ, हाम्रा ऋणीहरु चरम संकटमा छन्, यस्तो अवस्थामा बैंकहरु नाफा कमाउन केन्द्रित हुनुहुँदैन, ऋणीलाई डुब्न नदिन सञ्चालकहरुको तर्फबाट राहत प्याकेज ल्याएका हौं,’ गोल्यानले थपे, ‘कार्यान्यान्वयन सीइओसाबहरुले गर्ने हो । उहाँहरु कार्यान्वयन गर्न सहमत हुनुभएको छ ।’

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि त्यो लञ्च मिटिङपछि परिसंघ र बैंकर्ससंघबीच कम्युनिकेशन ग्याबका कारण उत्पन्न समस्या टुंगिएको जानकारी दिए ।

‘अध्यक्षज्यूहरुसँग म लगायत केही सीइओसाबहरुले सौहार्दपूर्ण वातावरणमा लञ्च मिटिङ गर्यौं, कम्युनिकेशन ग्यावका कारण सिर्जित समस्या समाधान गर्दै आपसमा मिलेर अघि बढ्ने समझदारी भयो,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘सबैले आआफ्नो जिम्मेवारीअनुसार काम गर्ने र रेगुलर कम्युनिकेशनबा बसेर अघि बढ्ने कुरा भयो ।’

परिसंघ र संघको सचिवालयलाई नियमित सम्पर्क गराएर छलफल गरी अघि बढ्ने समझदारी भएको गोल्यान र दाहाल दुबैको भनाइ छ ।

‘बैंक सञ्चालक र सीइओबीचको सम्बन्ध राम्रो भएन भने त्यसले समग्र वित्तीय प्रणालीलाई नै प्रभावित बनाउँछ भन्नेमा हामी हिँजो पनि सचेत थियौं । आज पनि छौं । र, भोलि पनि हुनेछौं,’ उनीहरुको भनाइ थियो ।

‘अध्यक्षज्यूहरु हाम्रा अभिभावक हुनुहुन्छ,’ थाहालले थपे, ‘बाउछोरा बसेर तीतामिठा गफ गरेकोजस्तो अनुभूति भयो । अब हामीबीच कुनै पनि प्रकारको तिक्तता छैन ।’

गोल्यानले पनि बाउछोराबीचको छलफल भएको जानकारी दिए ।

‘कहिलेकाहीँ बाहिरका मान्छेहरुले घर भाँड्न खोज्छन्, अहिले भएको पनि त्यही हो,’ गोल्यानले भने, ‘हामीबीच बाउछोराको जस्तै सौहार्दपूर्ण वातावरणमा छलफल भयो ।’


पुष्प दुलाल