कोरोना कहरलाई कृषि उत्पादन बढाउने अवसरमा परिणत गर्नुपर्छः सुनिल बल्लभ पन्त



विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइसर) को कारणले गर्दा नेपाल लगायत विश्वका धेरै देशहरु लक डाउनमा छन् । जसकारणले ती देशहरुसँगै नेपालको पनि आर्थिक गतिविधिहरु रोकिएको छ ।

आर्थिक क्षतिपुर्तिको लागि नै बीमा गरिने भएको कारणले जबसम्म आर्थिक गतिविधिहरु चलायमान हुँदैन तबसम्म बीमाको खासै उपयोगीता रहन्दैन् । जबसम्म उद्योगधन्दा कलकारखाना चल्दैन्, सवारी साधानमा आवतजावत बढ्दैन र पहिलेको जस्तै नर्मल अवस्थामा जीवनयापन हुदैन तबसम्म बीमा व्यवसाय पनि शुन्यमा नै रहन्छ ।

बैंक वित्तीय संस्थाहरुबाट गरको लगानी तथा सम्पती सुरक्षणको लागि बीमा गरको अवस्थामा केही प्रतिशत बीमा शुल्क बैंकहरुबाट डिसजटल माध्यमबाट प्राप्त भइरहेको छ ।

तर यही अवस्था रहने हो भने बीमा उद्योग फैलिएर नयाँ व्यवसाय गर्ने वा नयाँ क्षेत्रमा जान भने सक्दैन । यो बेला बैंक तथा वित्तीय क्षेत्रले कुनै लगानी पनि बढाउन सकेका छैनन् । बैंकको लगानीको माध्यमबाट हुने बीमा व्यवसाय पनि रोकिएको छ ।

त्यस कारण अहिलेको अवस्था भनेको बीमा कम्पनीहरुले भविष्यको लागि भएपनि बीमाको सचेतना फैलाउने, बीमाको आवश्यकता जनमानसमा महशुस गराउने कार्य गर्न सक्यो भने त्यसले बीमाको पहँच वृद्धि गर्न मद्दत गर्छ । कोरोना भाइसरको संक्रमणको कारणले हुनसक्ने आर्थिक तथा मानविय क्षति र भविष्यमा आउनसक्ने यस्ता प्रकारका क्षतिलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुले सोही अनुसारको बीमा पोलिसीहरु पनि ल्याउनु पर्छ ।

अहिलेको परिस्थीतिबाट पाठ सबैले सिकेका छन् । बैदेशिक रोजगारीमा गएका र देश भित्र नै पनि विभिन्न स्थान क्षेत्रहरुमा रोजगारीमा रहेकाहरु गाँउ फर्किसकेका छन् । उनीहरुलाई राज्यले पुनः उत्पादन मुलक क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गरेर रोजगारी दिनु पर्छ ।

मुलत भनेको अब लगानीको पहिलो प्राथमिकतामा कृषि क्षेत्र नै रहेको छ । सबैले कृषिमा नै लगानी बढाउन सक्यो भने अहिलेको असहज परिस्थीतिले पारेको आर्थिक नोक्सानीलाई परिपुर्ति गर्न सजिलो हुन्छ ।

अब बीमा कम्पनीहरुले आफ्नो व्यवसायको दायरा फराकिलो बनाउन पनि आवश्यक देखिएको छ । कृषिमा लगानी सबैले बढाइरहँदा बीमा व्यवसायले पनि कृषि तथा पशुपन्छी बीमाको दायरालाई अझै फराकिलो बनाउनु पर्छ ।

संक्रमण पछिको अवस्थामा राम्रोसँग कुनै क्षेत्रका उद्योग सुचारु हुन्छ भने त्यो कृषि उद्योगहरु हुन् । विश्व खाद्य संगठनले पनि यो समयमा कृषिको उत्पादन बढाउन भनेको छ । उत्पादन नै भएन भने फेरि अर्को खाद्यन्न महामारी आउनसक्छ ।

श्रमिकहरु गाँउघर फर्किएका छन् । उनीहरुलाई स्थानियस्तरमा नै कृषि क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिएको खण्डमा कृषि उत्पादन बढाउन सकिन्छ । कृषिमा आधारित अर्थतन्त्रको विकास गरी आन्तरिक उत्पादन बढाउनको लागि सबैले आआफ्नो क्षेत्रबाट लगानी बढाउन आवश्यक छ ।

कृषि क्षेत्रमा लगानी बढिरहदा भने बीमा कम्पनीहरुले त्यो लगानीको जोखिम बहन गरी उत्पादनको र त्यसको प्रतिफलको सुनिश्चितता गराउन सक्नु पर्छ । बीमा कम्पनीहरुले खाद्यन्न सम्बन्धी क्षेत्रहरुलाई नै पहिलो प्राथमिकतामा राखेर व्यवसाय गर्नु पर्छ । पहिलेदेखि नै रहेको कृषि तथा पशु बीमालाई अझ व्यापकता दिनु पर्छ ।

बिपत र आपतमा सहयोग गर्न र सम्पती वा लगानीको जोखिम बहन गर्नको लागि बीमा कम्पनीहरु स्थापना भएका हुन् । अब भने बीमा कम्पनीहरुले पहिलो प्राथमिकतामा स्वास्थ्य र कृषिलाई राखेर यही बेलामा नै बीमाको पहुँच गाँउगाँउमा पुर्याउनु पर्छ ।

मानिसको पहिलो प्राथमिकताको आवश्यकता भनेको पहिलो स्वास्थ्य र खाना नै हो । त्यही महत्वपुर्ण विषयलाई नै बीमा कम्पनीहरुले आफ्नो दायरालाई अगाडि बढाउनु पर्छ । यो असहज अबस्थामा सबैले धेरै पाठहरु सिकिरहेका छन् । अब भने यस्तो परिस्थीतिमा अवसरको खोज गरी व्यवसायलाई डिजिटल प्रविधिसँग जोडेर विस्तार गर्नु पर्छ ।

स्वास्थ्य र खाद्यन्न भनेको मानव जिवनमा परिपुरक रहेको आधारभुत आवश्यकता हो । खाद्यन्न नै भएन भने सबै कुरा जोखिममा रहन्छ । त्यसैले विश्व नै खाद्यको उत्पादन बढाउन लागेको छ ।

नेपालमा पनि यसको प्रभाव पर्छ । कृषिमा आधुनिकीकरण गर्दै खाली रहेका जग्गाको सदुपयोग कसरी गर्ने त्यसमा सरकारले योजना बनाउन आवश्यक छ । बीमा कम्पनीहरुले कृषि क्षेत्रमा गरेको जस्तो सुकै लगानीको पनि जोखिम बहन गर्न तयार हुनुपर्छ ।

बीमा समीतिले निर्दिष्ट गरे अनुसार बीमा कम्पनीहरुले हिँजोका दिनमा पनि कृषि क्षेत्रमा गरिएका साना ठुला सबै प्रकारका लगानी र उत्पादनको जोखिम बहन गरिरहेको थियो । भोलीका दिनमा पनि त्यसको दायरा फराकिलो बनाउँदै र शुल्कलाई सहुलियत दिनु पर्छ ।

सबै बीमा कम्पनीहरुले भोलीको दिनमा कृषि क्षेत्रमा व्यवसाय विस्तार गर्न हिजोको दिनमा ल्याएका पोलेसीहरुलाई अझ प्रभावकारी बनाउँदै नयाँ कृषि तथा पशु बीमा पोलेसी ल्याउनु पर्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल