इन्जिनियर र सीए बन्न नसकेका सन्तोष कोइराला यसरी बने सफल बैंकर
मुलुक अहिले लकडाउनमा छ । कोरोना भाइरसको असर विश्वव्यापी हुँदा अधिकांश क्षेत्र लकडाउनमै छ । आर्थिक गतिविधि ठप्प जस्तै भएको छ भने अबको भविष्य के हुने हो भन्ने अन्योलता कायमै छ ।
इश्वीसम्वतको नयाँ अध्यायसँगै शुरु भएको कोरोना भाइरसको महामारी साढे ३ महिनापछि विक्रम सम्वतको शुरुवातमा पनि संकट हटेको छैन ।
धराशायी हुँदै गरेको अर्थतन्त्रलाई जोगाउन अनेकन विकल्पको खोजी पनि भइरहेको छ । जसरी दिनहरु फेरिँदै गएका छन् त्यसैगरी नयाँ चुनौती, संकट र अवसरमा चर्चा पनि भइरहेको छ ।
यही संकटको भूमरीमा उनको व्यवसायिक जीवनमा नयाँ अध्याय शुरु भएको छ । मानवीय जीवन र अर्थतन्त्रमा संकट छाएका बेलामा उनी वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
उनी यानेकी सन्तोष कोइराला ।
दुई दशकको लामो बैंकिङ अनुभव संगालेका उनी नयाँ वर्षको सुर्योदयसँगै माछापुच्छ्रे बैंकको सीईओका रुपमा उदाएका छन् ।
ठ्याक्कै एक महिना अघि चैत २ गतेदेखि कामू सीईओमा पदोन्नती भएका उनलाई चैत १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले नयाँ वर्षदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ति गरेको थियो ।
यही बैशाख ७ गते कोइरालाले माछापुच्छ्रे बैंकमा काम शुरु गरेको ७ वर्ष पुग्छ । यो अवधिमा उनी सिनियर म्यानेजरबाट एजीएम, डीजीएम हुँदै २ वर्षदेखि डेपुटी सीईओ थिए ।
र, आज सीईओ भएका छन् ।
२०३० सालमा पूर्वी पहाडको भोजपूरमा जन्मिएका कोइरालाले कक्षा ५ सम्मको अध्ययन स्थानीय सिद्देश्वर माविबाट पूरा गरे । बुबा सरकारी जागिरे, नायब सुब्बामै कार्यरत छँदा अवकास पाएपछि उनको सपरिवार झापाको चन्द्रगढीमा बसाइ सर्यो ।
परिवार २०३८ सालमै बसाइ सरे पनि उनी भने २ वर्षपछि २०४० सालमा मात्रै तराई झरे । पढाइमा तिक्ष्ण बुद्धि भएका उनी जहिले प्रथम वा द्वितीय हुन्थे ।
कोइरालाले झापाको बीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी दिए । एसएलसीमा पनि प्रथम श्रेणीमा उत्तीर्ण भए ।
त्यसपछि उनी सुरक्षित र आकर्षक करिअर मानिने इन्जियर बन्ने योजनालाई मूर्तरुप दिन राजधानी काठमाडौं हानिए ।
इन्जिनियर बन्नका लागि पहिले आईएससी पढ्नु पथ्र्यो, त्यसैले इन्टरनमा अमृत साइन्स क्याम्पस (अस्कल)मा भर्ना भए । आइएस्सी पास त गरे । तर चित्त बुझ्दो नम्बर भने आएन ।
इन्जिनियर बन्नका लागि उनी सामू अब एउटा मात्रै विकल्प थियो, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाल्नु । त्यहाँ गएर फारम त भरे तर त्यही समयमा भाइको व्रतवन्धका लागि झापा जानु पर्दा यता प्रवेश परीक्षा छुट्यो ।
इन्जिनियर बन्ने उनको सपनाले त्यही बिसर्जन लियो ।
इन्जिनियर बन्ने सपनाले बिश्राम लिएपपछि उनी फेरि झापा फर्किए । मेची बहुमुखी क्याम्पसमा बिकम पढ्न थाले ।
यसैबीच वर्षजति अध्यापन पनि गराए । २०४८ सालमा बिकम टप गरे । त्यसपछि कोइराला फेरि काठमाडौं फर्किए । र, शंकरदेव क्याम्पसमा भर्ना भए ।
त्यो बेला क्याम्पस चिफले सन्तोषलाई एकदिन बोलाएर भने, ‘सन्तोष तिमी ट्यालेन्ट छौं, चाटर्ड एकाउन्टेन्सी पढ ।’
इन्जिनियर बन्न नसकेपछि अब सीए बन्छु भन्ने मनमा आशा पलायो र उनी सीए पढ्न भारतको चेन्नइ हानिए । त्यतिबेला चेइन्नमा अहिले आयल निगमका प्रमुख सुरेन्द्र पौडेल सीए पढिरहेका थिए । कोइराला पौडेलसँगै ६ महिनासम्म रुम पार्टनर भएर बसे ।
तर सीए पढ्दै गर्दा स्वास्थ्यमा समस्या देखियो । उनलाई जन्डिसले नराम्रोसँग थला पार्यो । उनी झापा फर्किए । चेन्नइको वातावरण नमिलेकाले बिरामी भएको भन्दै उनलाई बुबाआमाले सीए पढ्न जान दिएनन् । त्यसपछि भारतीय दुतावासबाट सीएको परीक्षा दिए । तर, सफल भएनन् ।
यसले सीए बन्ने उनको सपनामा पनि पूर्णबिराम लाग्यो ।
इन्जिनियर र सीए बन्ने सपना तुहिएपछि त्रिभुवन विश्वविद्यालयमा प्राइभेटतर्फ एमबीएमा भर्ना भए । कोइराला एमबीएमा राम्रो नम्बर ल्याएर उत्तीर्ण भए । तर, प्राइभेट भएकाले गोल्ड मेडल पाउनबाट बञ्चित भए ।
सीए बन्न नसकेपनि लेक्चर भने बन्छु भन्ने उनमो सोच पलाएको थियो ।
यसैबीच सन् १९९९ मा बैंक अफ काठमाण्डूमा कर्मचारीको भ्याकेन्सी खुल्यो । उनले जुनियर असिस्टेन्टमा फारम भरे । पुतलीसडकस्थित कुमारी हलको पछाडि नेशनल कलेज छेउ बृहस्पती विद्या सदनमा परीक्षा भएको थियो ।
बैंक अफ काठमाण्डूमा उनको नाम निस्कियो । र, २००० मार्च महिनामा बैंक अफ काठमाण्डूमा जागिर शुरु गर्न थाले । त्यतिबेला उनको तलब ५ हजार रुपैयाँ थियो । जागिर खाएको ८/९ महिनामै बिबाह गरेका उनको हेटौंडा सरुवा भयो ।
ठूली छोरी जन्मिइसकेकी थिइन् । यस्तो अवस्थामा पनि परिवारभन्दा टाढा बस्नुपरेको पीडाबोध भइरहेको थियो उनलाई ।
त्यसैबीच एक राष्ट्रिय स्तरको बैंकका लागि भनेर एक दैनिक पत्रिकामा जागिर खुल्यो । उनले काठमाडौंमा काम गर्न पाइन्छ भनेर फारम भरे । बैंकले लिएको परीक्षाामा उत्तीर्ण भए । जब अन्तर्वार्ताका लागि बोलाइयो तब उनले थाहा पाए त्यो त सानिमा विकास बैंक रहेछ ।
वणिज्य बैंकमा काम गरिरहेका कोइरालालाई विकास बैंकमा काम गर्न केही संकोच त अवश्यक भयो तै पनि काठमाडौंमै पोस्टिङ भएकाले परिवारसँग बस्न पाउने लोभले उनी काम गर्न राजी भए । पहिलेभन्दा एक पोस्ट पदोन्नती पनि भयो र साथमा तलब पनि ।
सानिमा बैंकमा निरन्तर १३ वर्ष काम गरे । उनले काम थालेको ११ वर्षपछि सानिमा विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति भयो । उनी पनि बढुवा हुँदै म्यानेजरसम्म पुगे ।
यसैबीच माछापुच्छ्रे बैंकका तत्कालीन डीजीएम उमेशसिंह भण्डारीले सिनियर म्यानेजर बनेर माछापुच्छ्रे आउन अफर गरे । त्यतिबेला बैंकका सीईओ थिए तुलसीराम गौतम । गौतम पनि झापाली नै हुन् । माछापुच्छ्रेबाट आएको त्यो अफरलाई स्वीकार गरे ।
आफ्नो ग्रोथलाई अर्ग्यानिक ग्रोथ भन्छन् उनी ।
‘अर्ग्यानिक ग्रोथ लिएर करिअर बढाएको थिएँ, जुन बैंकमा डेपुटी सीइओ थिए त्यही बैंकमा सीइओ हुँदा बढुवा भएको जस्तो भएको छ’, कोइराला भन्छन्, ‘नौलोपन केही फिल भएको छैन, हिजोसम्म स्थायी जागिर थियो, अब करार जागिरमा अब थप चुनौती थपिएको छ, आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर आएको छ ।’
सबै राजनीति गर्नेहरु मन्त्री प्रधानमन्त्री बन्दैनन् । सबै सिपाइ आइजी बन्दैनन् । सबै राष्ट्र बैंकका जागिरे गभर्नर बन्दैनन् । त्यसैगरी सबै बैंकका जागिरेहरु सीइओ बन्दैनन् ।
तर, २१ वर्षको करिअरमा सन्तोष कसरी सीइओ बने त ? कसरी मिल्यो यति ठूलो सफलता ? क्लिकमाण्डूको प्रश्नमा एकैछिन घोरिए ।
इन्जिनियर र सीए बन्न नसकेपछि ‘एक्सिडेन्टल बैंकर’ बनेका उनले हरेस भने कहिल्यै खाएनन् । करिअर शुरु गरेपछि ‘प्यासन’का साथ काम गरे ।
करिअर बनाउने क्रममा मैले धेरै मिहेनत गरे, इमानदार भएर कार्यालयलाई पूरा समय दिए, कार्यालय व्यवस्थापनमा सफल भएको देखेर नै माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सीईओ बनायो ।
‘पारिवारिक व्यवस्थापन श्रीमतीज्यूले सम्हाल्दा व्यवसायिक जीवनमा मन लगाएर काम गर्न पाएँ, फलस्वरुप आजको यो सफलता हो,’ उनले भने ।
व्यवस्थापनको सुत्र ।
आफूसँग भएको ज्ञानलाई कन्र्भट गरेर सम्पूर्ण कर्मचारी, सञ्चालक समिति, नियामक निकाय र सरोकारवालासँग राम्रो सम्बन्धमा रहनुपर्छ भन्ने कोइरालाको व्यवस्थापकीय सुत्र हो । ग्राहकप्रति उत्तरदायी हुनुपर्ने र कर्मचारीको मनोवल राख्नुपर्नेमा बढी उनी सचेत छन् ।
‘ग्राहक भनेका हाम्रा भगवान हुन्, उनीहरुलाई सँधै सम्मान र आदर गर्नुपर्छ’, कोइराला भन्छन्, ‘सीईओको काम कर्मचारीलाई परिवारका सदस्य मानेर माया र मनोवल बढाउँदै अभिभावकत्व दिलाउन सक्नुपर्छ ।’
‘बैंकको काम कर्मचारीले नै गर्ने हो, त्यसका लागि टिम वर्क चाहिन्छ, सीइओ एक्लैले सबै कुरा गर्ने होइन,’ उनले थपे ।
अहिले कोरोना भाइरसले विश्वव्यापीरुपमा चुनौती थपिदिएको छ । यस्तो अवस्थामा सीईओको जिम्मेवारी लिएर काम गर्नु कम चुनौतीपूर्ण छैन । सेयरधनीलाई नघटाई प्रतिफल दिनुपर्ने ठूलो चुनौती छ कोराइलाका अगाडि छ ।
चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्छ ।
सबै काम आफै गर्नुपर्छ भन्ने सोच कोइरालाको कमजोरी हो । अरुले गरेको काममा झट्टै विश्वास गरिहाल्दैनन उनी । क्रस चेक गरिहाल्छन् । कतिपयले उनको यो बानी मन पराउँदैनन् ।
माछापुच्छ्रे बैंकका अहिले १४ सयभन्दा बढी कर्मचारी छन् । १५९ वटा शाखा छन् । ९ लाख ग्राहक छन् । निक्षेप १ खर्ब बढी र ऋण ९३ अर्ब रुपैयाँ छ ।
आफ्नो ४ वर्षे कार्यकाल सकिँदा अहिलेको बिजनेशको साइजको दोब्बर गर्ने उनको योजना छ । लगानीकर्तालाई प्रत्येक वर्ष ५ देखि ७ प्रतिशतले लाभांश बढाउँदै लैजाने योजना र आँट छ उनीसँग ।
तर, नियामकले बेलाबेलामा परिवर्तन गर्ने नीतिका कारण ठ्याक्कै आफूले सोचेजस्तो नहुन सक्नेमा उनको ध्यान पुगेको छ ।
सन्तोषको बुझाइमा बैंकिङ धेरै आक्रामक भएर गर्ने व्यवसाय होइन । बैंकमा पहिलो काम निक्षेपकर्ताको सुरक्षा हो । निजी कम्पनी खोलेजस्तो होइन ।
बैंकिङ नियमनभित्र बसेर नीति, निर्देशन कानून मानेर काम गर्नुपर्छ । बैंक निक्षेपकर्ताको सुरक्षा गर्ने ठाउँ हो । बैंक समस्यामा पर्दा निक्षेपकर्ता डुब्छन् । सर्वसाधारण निक्षेपकर्ताको पैसाले बैंक चल्छ ।
नियन्त्रणसहितको आक्रमकता आफूले लिने रणनीति भएको बताउँछन् उनी । राष्ट्र बैंकले ल्याएको नीति र निर्देशनको अक्षरशः पालना गर्दै अगाडि बढाउने छु, कोइराला भन्छन् ।
बैंकिङ प्रणाली अब डिजिटाइजेशनमा जानुपर्ने उनको भनाइ छ । कोरोनाले पनि त्यही पाठ सिकाएको छ । तर प्रविधिमा चुनौती बढेको छ ।
लक्ष्य पूरा भएन भने डिप्रेस हुनु हुँदैन, अर्को लक्ष्य लिनुपर्छ भन्ने मान्यतामा पनि उनको विश्वास छ ।
‘म एसएलसी पास भएपछि इन्जिनियर बन्ने थियो, त्यो भएन, त्यसपछि सिए बन्ने लक्ष्य लिए त्यो पनि भएन, परिस्थितीले बैंकर बने, सीइओ बने,’ उनी भन्छन्, ‘सकारात्मक सोचले अगाडि बढ्नुपर्छ । असफलतामा रमाउनुपर्छ । त्यो अनुसार प्यासन राख्नुपर्छ ।’
श्रीमतिको योगदान
आफ्नो सफलतामा सबैभन्दा ठूलो हात श्रीमतीको रहेको उनको बुझाइ छ ।
‘संघर्षका ती दिनमा श्रीमतीले साथ नदिएको र कम्प्रमाइज नगरेको भए यो सफलता पक्कै पनि सम्भव थिएन,’ उनले सुनाए ।
मेरो श्रीमतीले बिएसी र ग्रामीण विकासमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन् । मेरो करिअरका लागि उनले गरिरहेको काम पनि छाडिइदिन् र परिवारमा केन्द्रित भइन् । जसकारण म सफल हुन सकेँ ।
काइरालाले २०५७ सालमा विवाह गरेका थिए । स्कुलमा आफैंले पढाएको विद्यार्थीसँग उनको बिबाह भएको थियो । कोइरालाका २ छोरी छन् ।