महानगरले दियो ३१ हजारलाई राहत, विदेशबाट फर्किएका १ सय ३४ जना महानगरको सम्पर्कमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत २६ सम्ममा ३१ हजार १ सय ८४ जनालाई राहत वितरण गरेको छ । महानगरका अनुसार नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित भएको छ । त्यो सँगै काठमाडौँ महानगपालिका भित्र बसोबास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई सहज भएको छ ।

राहत वितरणसँगै फागुन १८ पछि विदेश भ्रमण गरी महानगरपालिका क्षेत्र भित्र बसोबास गर्दै आएकाहरुको विवरण संकलनलाई पनि महानगरपालिकाले तिव्रता दिदैँ आएको थियो । बैठकमा चैत २६ गतेसम्म काठमाडौँ महानगरपालिकाले यसरी बसोबास गर्दै आएका १ सय ३४ जनाको विवरण संकलन गरेको लगायतका विषयमा जानकारी गराइएको थियो ।

बुधबारसम्मको तथ्याङ्क अनुसार वडा–३१ ले सबै भन्दा बढी अर्थात ३ हजार ८ सयलाई राहत वितरण गरेको छ । त्यसैगरी वडा–७ २ हजार ३ सय ९६ लाई राहत वितरण गरेको छ । वडा–१० ले पनि २ हजार २० लाई राहत वितरण गरेको छ भने वडा–१६ ले १७ सय १९ लाई राहत वितरण गरेको छ । वडा–१५ ले १५ सय २० र वडा–६ ले १४ सय ७६ लाई वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अहिलेसम्म भएको राहत वितरणलगायतका विषयमा समिक्षा गर्न बैठक बसेको जानकारी दिए । ‘अहिलेसम्म राहत वितरणमा भएका कमी–कमजोरी, राहत वितरणका क्रमा देखिएका समस्यालगायतका विषयमा छलफल गर्न बैठक बोलाइको हो,’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलाई अझ प्रभावकारी बनाउन के–गर्नुपर्ला भन्ने विषयमा पनि छलफल भयो । महानगरपालिका आगामी दिनमा कोरोना संक्रमण फैलिन नदिन अझ प्रभावकारी ढंगले अघि बढ्छ ।’

पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकाले ३७ हजार ७ सय ९० जनालाई राहत वितरण गर्नुपर्ने भनी पहिचान गरेको छ । २४ हजार ३ सय १९ जनालाई आफ्नै स्रोतबाट राहत वितरण गरेको छ भने विभिन्न स्रोतबाट ६ हजार ८ सय ६५ जनालाई वितरण गरेको छ । काठमाडौँ महानगरपालिकाले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेसँगै विभिन्न संघ–संस्थाले पनि जुन वडामा राहत वितरण गर्ने हो त्यहिका जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै वितरण गर्दै आएको महानगपालिकाले जानकारी दिएको छ ।

प्रमुख शाक्यले पनि संघ सरकार, प्रदेश सरकार, बिभिन्न मन्त्रालय र महानगरले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएको व्यवस्थालाई वडाको एउटै ढोकाबाट कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । ‘अहिले जटिल परिस्थिति छ । यसलाई मिलेर सामना गर्नुपर्छ । सर्वदलीय निर्णय, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरीसँगको सहकार्यमा स्थानीय क्लव तथा संघ संस्थालाई तालिकाबद्ध परिचालन गरेर राहत बाँड्नुहोला,’ उनले भने ‘हामीले रातह वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेसँगै विभिन्न संघ–संस्थाले पनि जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै वितरण गरेकाे जानकारी प्राप्त भएको छ । यसले राहत भन्दा प्रचार बढी गर्ने कुरामा कमी आएको छ ।’

उनले प्रचारका लागि नभई भावनाले नै प्रेरित भएर आ–आफ्नो ठाउँबाट राहत वितरणलगायका काममा लाग्न पनि सबैलाई आग्रह गरे । ‘यो विपद्को बेलामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ,’ ‘प्रमुख शाक्यले भने, ‘सकेसम्म पाउनु पर्ने व्यक्तिले मात्रै राहत पाउन भनेर काठमाडौँ महानगरपालिकाले सबैसँग समन्वय गरेर काम गरिरहेको छ ।’


क्लिकमान्डु