कोरोनाकै काण कतिपय बैंकहरु लाभांश बाँड्न नसक्ने अवस्थामा पुग्छन्ः गणेशराज पोखरेल



कोरोना भाइरसको संकट यतिबेला विश्वव्यापी छ । जसले मानवीय स्वास्थ्यलाई संकटमा पारिरहेको छ । यसबाट बच्न विश्व समूदाय नै एकजुट भएर लडिरहेको छ ।

अर्कोतिर आर्थिकरुपमा पनि निकै ठूलो असर गरेको छ । र, यो कुनै एक देशको मात्रै नभइ विश्वव्यापी भएकाले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिकरुपमा यसको असर ठूलो छ । साथै यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ ।

नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेको छन् । बैंकको संघ बैकर्स एसोसिएसन छ । संघसँगको र नियमनकारी निकायसँगको समन्वयमा काम भइरहेको छ । त्यसले गर्दा समस्या छैन । हाम्रो समस्याहरु विस्तारै सम्बोधन भइरहेको छ ।

तर देशमै अवस्था गाह्रो भइसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडि बढिरहेको छौं । यतिबेला बच्ने र बचाउनु पर्ने समय आएको छ ।

लकडाउनमा पनि कारोबार गर्नका ग्राहकहरु आएका छन् । बुधबार मात्रै सिटिजन्सले ४१ वटा ब्रान्च खोलेको छ । मंगलबार पनि त्यही संख्यामा शाखा खुलेका छन् । एटीएममा पनि राम्रै कारोबार भइरहेको छ । सामान्य दिनमा जस्तो कारोबार हुन्छ भन्ने अपेक्षा गर्ने कुरा पनि भएन ।

अब डिजिटल फर्म मै काम गर्नुहोस् भन्ने नै हो । यो समय डिजिटलमा जानका लागि अवसर पनि हो ।

चैतको अन्तिम समय आइसकेको छ । कामहरुको दबाबको समय पनि हो यो । सरकारी पेमेन्टको कुरा पनि आउने होला त्यसैले हामीले केही कारोबारको रकम बढ्छ कि भन्ने सम्भावना छ भन्ने बुझेका छौं ।

त्यही हिसाबले कर्मचारीहरुले स्वतः स्फूर्त काम गरिरहनु भएको छ । प्रदेश स्तरमा पनि सोही अनुसारले काम गरिरहनु भएको छ । हामीले ९४ वटामध्ये ४१ वटा ब्रान्च खोल्नु भनेको राम्रो हो ।

कर्मचारीको सुरक्षाको विषयमा भ्यालीभित्रमा ल्याउने लैजाने व्यवस्था कार्यालयले गरिरहेको छ । सेनिटाइज गरेको गाडीमा ल्याउँछौं । फेरि जम्मा २ घण्टामात्रै कार्यालय खोलेर सीमित कर्मचारीबाट मात्रै खोलेका छौं ।

हात धुने, सेनिटाइज गर्ने र मास्क लगाउने कुरामा पनि हामीले कर्मचारी र ग्राहकमा उत्तिकै ध्यान दिएका छौं । स्प्रे पनि सबै ब्रान्चमा गरिरहेका छौं । एक सातादेखि यसलाई प्रभावकारी बनाएका छौं ।

काठमाडौं बाहिरको हकमा कर्मचारीको उपस्थिति अलिक बढी हुनुपर्ने भएकाले स्थानीय प्रशासनसँगको समन्वयमा काम गरिरहेका छौं । तर बैंकको कर्मचारीलाई अहिले मनैदेखि धन्यवाद दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि कामलाई प्राथमिकतामा राखेर उहाँहरुले काम गर्नु भएको छ । धन्यवादका पात्र पनि हुनुहुन्छ ।

यही कर्मचारीहरु नै आउनु पर्छ भनेका छैनौं । कर्मचारीमा पनि शारीरिक र मानसिकरुपमा अलिक बलिया मानिएका कर्मचारी आउनु्होस् है भनेका छौं । जहाँसम्म इन्सेन्टिभको कुरामा जसरी अहिले यस्तो अवस्थामा काम गर्नु भएको छ त्यसमा सम्मान पनि गरेका छौं । त्यसले पनि उहाँलाई मोटिभेट भइरहेको छ । फाइनान्सियल मोटिभेट कसरी गर्ने भन्ने विषयमा अहिले बहस चलिरहेको छ । निर्णय गरिसकेका छैनौं ।

यो नियमित नै काम भएकाले यसलाई कसरी हेर्ने भन्ने पनि छ । बैंकले भविष्यमा कसरी प्रमोसन गर्दा कसरी मूल्यांकन गर्ने भन्ने लगायतका प्रोत्साहन गर्ने कुरा पनि छ । यसलाई हाम्रो एचआरले पनि त्यसलाई रेकर्ड राखिसकेको छ ।

वित्तीय क्षेत्रमा कोरोना संकटले बैंकको खुद नाफामा घाटा नहोला । तर अहिले दोहोरो टाइपको वित्तीय विवरण पनि छ । वितरणयोग्य नाफाको पनि कुरा छ । कतिपय बैंकहरु लाभांश बाँड्न नसक्ने अवस्थामा समेत पुग्नसक्ने देखिन्छ ।

चैत सकिन धेरै पनि बाँकी छैन । त्यसपछि पनि सबै चित्र देखिन्छ । राष्ट्र बैंकले पनि १० प्रतिशतसम्म ब्याज तिर्दा छुट दिने र असारसम्म जरिवाना दिने विषयमा गरेको नीतिगत निर्णयले गर्दा नाफामा अहिले असर गर्छ । अहिले कसैले उत्साही भएर किस्ता तिर्न गाह्रो छ ।

डिपोजिटको क्षेत्रमा भोलिका दिनमा रेट झर्दैछ । साढे ५ प्रतिशत सेभिङमा जान्छ । २६ वटै बैंकको निर्णय भएको छ । एफडीको हकमा १ प्रतिशत थपिन्छ । यसले पनि अलिकति कस्ट अफ फन्ड घटाउँछ । यसले गर्दा उद्योगीहरुलाई राहत पनि मिल्छ कि जस्तो लागेको छ ।

राष्ट्र बैंकले जसरी सीएसआर घटाएर ३ प्रतिशतमा ल्याएको छ यसले पनि ठूलो राहत हुने देखिएको छ । तर यसको ओभरअल असर फिगरमा कति होला भन्ने केही समय लाग्ला ।

केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाइदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने, रि स्ट्रक्चरिङ गर्ने कुराले पनि केही राहत पक्कै पनि दिनेछ ।

किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन कि भन्ने लाग्छ । प्रधानमन्त्रीको सम्बोधनमा पनि अझै २ साता लम्बने सक्ने भएकाले त्यसले पनि यो अवधि अझ लामो हुन सक्छ ।

साथै तरलतार पनि अलिकति सहज बनाइदियो भने फाइदा हुन्छ भन्ने मलाई लाग्छ । हाइड्रो पावरलगायतका आयोजनाहरु लम्बने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्कने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन कि भन्ने लाग्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल