यस्तो छ गभर्नरमा सिफारिस भएका शिवाकोटी, अधिकारी र खनालको ‘राजनीतिक कनेक्सन’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट बैंकको नयाा गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेका छन् । अर्थमन्त्रीले सिफारिस गरेका नाममध्येबाट मन्त्रिपरिषदले एक जनालाई गभर्नर नियुक्ति गर्ने छ ।

खतिवडाले कामू डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर तथा लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी र अर्थसचिवबाट २ महिनाअघि अवकास पाएका राजन खनालको नाम सिफारिस गरेका छन् ।

अर्थमन्त्री संयोजक रहेको गभर्नर सिफारिस समितिले यी ३ जनाको नाम सिफारिस गरेसँगै भाव गभर्नर को बन्ला भनेर अनेकौ टिक्काटिप्पणीहरु भइरहेका छन् । सबैका आआफ्नै तर्क र अनुमान छन् ।

गभर्नर राजनीतिक नियुक्ति हो । त्यसैले योग्य भएर मात्रै गभर्नर बन्न संभव छैन । सरकारले जसलाई विश्वास गर्छ त्यही व्यक्ति गभर्नर बन्छ ।

गभर्नरको सिफारिसमा परेका व्यक्तिहरुको राजनीतिक कनेक्सन कस्तो छ त ? भनेर हामीले जानकारी दिने उदेश्यले यो सामाग्री तयार पारिएको हो ।

विभिन्न स्रोत र सम्पर्क शूत्रबाट प्राप्त जानकारी अनुसार यो सामाग्री तयार पारेको हुनाले हाम्रो आँकलन शतप्रतिशत हुन्छ भन्ने होइन । तर, यो आँकलन ८० प्रतिशतभन्दा बढी सत्य भने छ ।

चिन्तामणि शिवाकोटी

वि.सं. ०२२ साल साउन ६ गते तेह्रथुमको आठराईमा जन्मिएका सिवाकोटी ०४४ साल चैत ७ गते राष्ट्र बैंकको नोकरीमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री ओली पनि आठराईकै हुन् ।

त्यतिमात्रै होइन, शिवाकोटी पञ्चायतकालमै बामपन्थी राजनीति गरेर ओलीसँग निकट भएका थिए । र, अहिलेसम्म पनि निकट छन् ।

शिवाकोटी प्रधानमन्त्री ओलीसँग सिवाकोटीको भौगोलिक, वैचारिक र व्यक्तिगत निकटता छ । उनीहरु दुबै तेह्रथुमको आठराइबाट बसाईँ सरेर तराई झरेका हुन् ।

शिवाकोटीको स्थायी घर पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको सीमानामा पर्ने मोरङको अमरदह हो । प्रधानमन्त्री ओलीकै ईच्छामा उनी डेपुटी गभर्नर बनेका थिए ।

शिवाकोटी विद्यालय पढ्दादेखि नै वामपन्थी आन्दोलनमा सक्रिय थिए । १० कक्षा पढ्दा उनी अनेरास्ववियुको स्कुल कमिटी अध्यक्ष भएका थिए । त्यसपछि नेपाल कमर्श क्याम्पस मीनभवनमा पढ्दा ०४३ सालमा अनेरास्ववियुका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सहसचिवमा निर्वाचित भएका थिए ।

राष्ट्र बैंकमा ०४४ मा प्रवेश गरेपछि पनि उनी वामपन्थी संगठनमै आवद्ध भए । त्यसबेला राष्ट्र बैंकमा वाम कर्मचारीको नेतृत्व दीपेन्द्रबहादुर क्षेत्रीले गरेका थिए । सिवाकोटीले त्यसबेला क्षेत्रीले नेतृत्व गरेको कमिटीका सहसचिव भएर काम गरे ।

शिवाकोटी अहिले पनि पार्टीका विभिन्न कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी हुँदै आएका छन् भने पार्टीलाई सक्दो सहयोग पनि गर्दै आएका छन् ।

महाप्रसाद अधिकारी

५ वर्ष अगाडि गभर्नरका लागि नाम सिफारिस भएपनि महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाएनन् । तर, तत्कालीन ओली सरकारले गभर्नरको कम्पनसेसनको रुपमा सरकारले २०७३ असारमा लगानी बोर्डको सीइओ नियुक्ति गरेको थियो ।

त्यो बेला उनलाई लगानी बोर्डको सीइओ बनाउनमा तत्कालिन योजना आयोगको उपाध्यक्ष रहेका डा युवराज खतिवडाको नै मुख्य भुमिका थियो ।

लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी राष्ट्र बैंकमा २६ वर्ष बिताएका छन् । अधिकारीको अर्थमन्त्री युवराज खतिवडाको विश्वासिला पात्र हुन् ।

अर्थमन्त्री खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नरका लागि कनिष्ठ कार्यकारी निर्देशक हुँदाहुँदै पनि अधिकारीलाई गरेका थए । जसकारण उनी राष्ट्र बैंक प्रवेश गरेको २१ वर्षमै डेपुटी गभर्नर भएका थिए ।

खोटाङमा जन्मेका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका छन् । सन् १९९४ मा राष्ट्र बैंकका उपनिर्देशक रहेका अधिकारी छिटो बढुवा हुने कर्मचारीमा पर्छन् ।

राष्ट्र बैंकमा हुँदा सक्रियरुपमा कर्मचारी संगठनमा काम नगरेपनि अधिकारी सुरुदेखि नै बामपन्थी बिचारसँग नजिक भएका व्यक्ति हुन् ।

राजन खनाल

काठमाडौं । नायब शुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका राजन खनाल ०७६ माघ २२ गते अर्थसचिवबाट अवकास भएका थिए । अर्थसचिव हुँदा खनाल अर्थमन्त्री खतिवडाको यसम्यान भएर काम गरेका थिए भने प्रधानमन्त्री ओलीलाई पनि कन्भिन्स गरेको बताइन्छ ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाले खनाललाई अवकास हुने समयमा नै गभर्नर बन्नका लागि तयार हुन आग्रह गरेको हल्ला एककान दुईकान हुँदै मैदान भएको छ ।

२०२४ सालमा काभ्रेमा जन्मेका खनाल निजामति सेवामा हुलाकका क्याडर हुन् । खुल्ला प्रतिस्पर्धामा अधिकृतमा खनालले हुलाक सेवामा नाम निकालेका थिए । खनाल निजामति सेवामा खुल्ला प्रतिस्पर्धाबाट नै माथिल्लो पदमा पुग्ने प्रशासक हुन् । उपसचिव हुँदै सहसचिवको यात्रा उनले खुल्ला प्रतिस्पर्धाबाट निकालेका हुन् । सहसचिव नहुँदासम्म उनको पोस्टिङ अर्थमन्त्रालय मातहतका निकायमा भएन ।

सहसचिव भएपछि उनको सरुवा अर्थमन्त्रालयमा भयो । उनी भन्सार विभागका उपमहानिर्देशक भएपछि महानिर्देशक नै भए । त्यसपछि शिक्षा हुँदै उनी अर्थमन्त्रालयमा आए । अर्थमन्त्रालयमा आएपछि उनी निजामित सेवामा निकै बलियो मानिने आन्तरिक राजस्व विभागको महानिर्देशक बने ।

आन्तरिक राजस्व विभागको महानिर्देशक भएपछि उनी अर्थमन्त्रालयमा फर्किए । त्यहीबाट सचिवमा बढुवा भयो ।

सचिवमा बढुवा भएपछि उनी सामान्य प्रशासन मन्त्रालयमा पुगे । तत्कालिन राजस्व सचिव अमेरिका पलायन भएपछि तत्कालिन अर्थमन्त्री डा रामशरण महतले सामान्य प्रशासन मन्त्रालयबाट राजन खनाललाई अर्थसचिव बनाएर ल्याए ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बेला खनाल अख्तियारमा सचिव बन्न पुगे । ओली सरकार आएपछि खनाल अर्थसचिवको रुपमा पुनः अर्थमन्त्रालय भित्रिएका थिए । प्रधानमन्त्री र अर्थमन्त्रीले रुचाएकै कारण उनी फेरि अर्थसचिव बन्न सफल भएका थिए ।

राजनीतिकरुपमा पनि उनी नेकपमा निकट मानिन्छन् ।


पुष्प दुलाल