क्लोज आउटमा सर्ट सेलिङ क्या काइदा !: नीरव पुडासैनीको लेख
बजारमा आउने अमुक सेयरको मूल्य घट्दैछ भनेर आफूसँग नभएको सेयर बढी मूल्यमा बेच्न र पछि उक्त सेयर किनेर राफसाफको प्रयास गर्नु नै सेयरमा सर्ट सेलिङको धारणा लागू गराउन खोज्नु हो ।
तर नेपालमा यस्तो गर्नु धितोपत्र कानून सम्मत छैन । प्रष्ट भाषामा भन्दा नेपालमा सर्ट सेलिङको अवाधारणा नै छैन ।
सर्ट सेलिङ अन्तर्गत कुनै पनि लगानीकर्ता वा कारोबारीहरुले ब्रोकर वा अन्य निकायसँग अमुक सेयर उधारोमा लिएर बेच्न र पछि कम मूल्यमा किनेर उधारोमा तिर्नु हो ।
यस्तो किसिमको कारोबार धेरै जस्तो पोर्टफोलियो म्यानेजर वा धेरै ठूलो मात्राा सट्टा कारोबार गर्नेहरुले विश्वभरी प्रयोग गरेको पाइन्छ । विश्वको धेरैजस्तो स्टक मार्केटले सर्ट सेलिङलाई प्रतिबन्ध गरेको पाइन्छ ।
सन् २०१२ मा युरोपियन युनियनले यस्तै प्रतिबन्ध लगाएको थियो । त्यस्तै अष्ट्रेलियाले पनि यस्ता सर्ट सेलिङलाई चाँज गर्न नियामकलाई आदेश दिएको छ ।
तसर्थ नेपालमा यस्तो सर्ट सेलिङ अवधारणा छैन वा त्यो सम्बन्धि कुनै कानून छैन भन्दा अस्वभाविक हुँदैन । तर नेपालमा घुमाउरो बाटोको प्रयोग गरेर यसको प्रयोग अनधिकृतरुपमा केही व्यक्तिहरुको मिलेमतोमा भइरहेको छ भन्ने भान हिँजोआज हुन थालेको छ ।
नियामक आफैंलाई यी र यस्तै धितोपत्र सम्बन्धी बठ्याँइको ज्ञान नै नभएको सन्दर्भमा केही व्यक्ति वा संस्थाले यस्तो कार्य गरेका नहोलान भनेर विश्वास गर्न सक्ने आधार पनि छैन । धितोपत्र कारोबार राफसाफ तथा फ्छ्र्यौट विनियमावली २०६३ को धज्जी उठाउने गरी कार्यहरु भइरहेको हामी प्रष्ट देख्न सक्छौं ।
यस्तै हो भने नेपालमा सर्ट सेलिङको अवधारणा लागू गरेर भइहाल्यो नि होइन र ?
नेपालको सेयर बजारमा खरिदकर्ताले पाउनु पर्ने सेयर फ्र्छौट गर्न बिक्रेता असमर्थ भएमा र त्यस्तै खरिदकर्ताले तोकिएको रकमको हिसाब मिलान गर्न नसकेमा क्लोजआउटमा राफसाफ सदस्यले उक्त समयमा भएको कारोबार मूल्यको २० प्रतिशत जरिवाना स्वरुप थप गरी बुझाउनु पर्छ ।
तर यक्ष प्रश्न के उक्त जरिवाना वापतको रकम प्रत्यक्ष पीडितले पाउँछ । पक्कै पनि पाएको उदारहण विरलै होला ।
धितोपत्र कारोबार राफसाफ तथा फ्र्छौट विनियमावली २०६३ को विनियम १९ अनुसार राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा क्लोज आउट गर्न सक्ने, २० अनुसार आंशिक मौज्दात भएमा क्लोजआउट गर्नुपर्ने, २१ मा क्लोज आउट सम्बन्धि व्यवस्था सीडीएससीले निर्धारण गर्न सक्ने र क्लोजआउट गर्दा राफसाफ सदस्यले क्लोज आउट भएको कारोबारको मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएससीमा बुझाउनु पर्ने र २३ अन्तर्गत ग्राहकले राफसाफ गर्न नसकेमा राफसाफ सदस्यले सोको जानकारी सीडीएससीलाई गराउनु पर्नेछ ।
तसर्थ कुनै पनि लगानीकर्ताहरु होस् वा कारोबारीहरु होस् आफूसँग नभएको वा अपुग भएको धितोपत्र कारोबार गर्नु हुँदैन । र, त्यस्तो कारोबारको राफसाफ तथा फ्र्छौट राफसाफ सदस्यले पनि गर्नु हुन्न भनेर धितोपत्र कानूनले प्रष्टसँग भनेको छ । यस्तो कार्य गरेमा सम्बन्धित निकाय (सीडीएससी)ले कारबाही गर्न सक्ने प्रावधान छ ।
तथापी ब्रोकरहरुले यस्तो कारबाहीको डर महसुस गरेको देखिन्न । विगत केही समययता भएका क्लोज आउटले यसलाई थप टेवा दिन्छ ।
उनीहरुले सीमित व्यक्ति तथा संस्थाको आडमा यस फितलो व्यवस्थाको फाइदा उठाउने प्रयास गरी रहेका देखिन्छन् ।
किनभने यस नियमले पीडित खरिदकर्तालाई कुनै किसिमको कानूनी उपचार दिँइन्न । नियम प्रष्ट छ राफसाफ सदस्यले कारोबार समपन्न भएको दिन बाहेक तीन कार्य दिनभित्र राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको आवश्यकता एवम प्रकृति हेर िसीडीएससीले क्लोज आउट गर्न सक्नेछ ।
यहाँ उल्लेख भएको ‘आवश्यकता एवम प्रकृति हेरी’ भन्ने शब्दमा खेल्न सबै राफसाफ सदस्यलाई छुट दिएको छ भन्दा अन्यथा नहोला । तसर्थ ट्रेडिङ ब्रोकर र राफसाफ तथा फ्र्छौट सदस्य फरक हुनुपर्छ भन्ने माग पनि जाय नै हुन्छ ।
अन्यथा गैरकानूनी रुपको सर्ट सेलिङ अवधारणाको फाइदा उठाएर बजारमा अनावश्यक कारोबार रकम बढाइरहेको भोलिका दिनमा पैष्टरुपमा देख्न नसकिएला भन्न सकिन्न ।
यस्ता च्याँखेबाज कारोबारहरुलाई सर्ट सेलिङको नियम ल्याएर यसभित्र रहेर कारोबार गराउन सके अनावश्यक चलखेल केही हदसम्म भए पनि कम हुने थियो । यसका साथै यसको समाधान स्वरुप अनलाइन कारोबारलाई अन्तर्राष्ट्रिय मान्यता अनुरुपको बनाउन सक्नुपर्छ । जुन ठूलो कुरा होइन ।
यस्को साथै विभिन्न काराणहरुले भुलवश पनि कहिलेकाँही खातामा नभएको वा अपुग धितोपत्र बिक्रीको कारणले क्लोजआउट हुनसक्छ । यसको समाधान स्वरुप अक्सन कारोबारको शुरुवात गर्न सकिन्छ । तर हाम्रोमा चर्चामा धेरै हुन्छ काम भने शुन्य बराबर ।
निश्चित समय दिएर क्लोज आउटमा गएका राफसाफ गर्ने सुविधा दिन सकिन्छ । तर यसमा पनि ठूलो चलखेल नहोला भन्न सकिन्न । तसर्थ सेयर बजारको ट्रडिङ प्याटफर्म मार्फत् नै यसको समाधान गर्न सक्नुपर्छ ।
सेयर बजारमा सट्टा हुँदैन भन्नु यसको प्रकृति नबुझ्नसु हो । हो, सट्टा हुन्छ तर यसलाई धितोपत्र नियम वा भनौं नियामकले उचित तरिकाले सम्बोधन गर्न सक्नुपर्छ । धितोपत्र कारोबारका विभिन्न औजारहरु जस्तै सर्ट सेलिङ अवधारणा, फ्युचर ट्रेडिङ, फुल मार्जिङ ट्रेडिङ, स्टक फ्युचर आदि औजारहरुसको व्यवस्था गर्न सक्नुपर्छ ।
एकभन्दा धेरे डिम्याट अकाउन्टका कारण पनि भुल हुन सक्ने देखिएका कारण एक व्यक्ति एक डिम्याट खाताको अवधारणा लागू गराउनु पर्छ । (लेखक पुडासैनी पुँजी बजारसम्बन्धी जानकार मानिन्छन्)