कोरोनाले रेमिट्यान्समा पार्ने असर र अबको बाटोः आइएमइका सीइओ सुमन पोखरेल



कोभिड १९ भनिने कोरोना भाइरसको असर यतिबेला समग्र विश्वको अर्थतन्त्रमा परेको छ । रेमिट्यान्सको ठूलो योगदान रहेको हाम्रोजस्तो मुलुकको अर्थतन्त्र पनि यसबाट अछुतो छैन ।

यो भाइरस शुरुमा चीनमा देखिएको थियो । चीनबाट कम रेमिट्यान्स आउने भएकाले गत महिनासम्म त्यसले असर गरेको थिएन । शुरुमा पर्यटनमा मात्रै असर देखिएको थियो ।

तर जब कोरोना भाइरसको संक्रमण युरोप र अमेरिका हुँदै विश्वभर फैलियो । अनि त्यसले नेपाल भित्रने रेमिट्यान्समा असर गर्न थाल्यो । अझ लकडाउन हुन थालेपछि त रेमिट्यान्समा निकै ठूलो असर परेको छ ।

रेमिट्यान्सको मूख्य स्रोतको रुपमा रहेका युरोप, अमेरिका, मध्यपूर्व, मलेसिया, जापान, कोरिया लगायतका मुलुकमा देखिन थालेसँगै रेमिट्यान्स कम भएको छ । मलेसिया लकडाउन छ । मध्यपूर्व पनि समस्यामा छ । कोरियामा कोरोना नियन्त्रणउन्मूख भएपनि रेमिट्यान्स भने प्रभावित भएको छ ।

पछिल्लो समय पनि अमेरिका र जापानबाट रेमिट्यान्स आइरहेको थियो । तर अहिले ती देशबाट आउने रेमिट्यान्समा समस्या देखिएको छ ।

पछिल्लो १५ दिन र अघिल्लो महिनाको यही १५ दिनको तुलना गर्ने हो भने रेमिट्यान्स ६० प्रतिशतले घटको छ । आगामी दिनमा यसको असर निकै ठूलो हुने देखिन्छ । विश्वव्यापी रुपमा हेर्दा पनि ५ प्रतिशतसम्म जीडीपी घट्न प्रक्षेपण गरिएको छ जुन २ देखि ४ ट्रिलियन अमेरिकी डलरको घाटा हो ।

एसियाली विकास बैंकको रिपोर्ट हेर्दा पनि सबै देशको जीडीपी घट्ने देखाइको छ । भारतमा पनि यो दशकको सबैभन्दा कम हुन्छ भनेको छ । अन्य देशको पनि इकोनोमी स्लोडाउन हुन्छ भनिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र, निर्यातमा आधारित, सेवामुलक क्षेत्रमा आधारित अर्थतन्त्र निकै घाटा हुन्छ भनिएको छ ।

हाम्रो रेमिट्यान्सको स्रोतका रुपमा रहेका देशहरुको अर्थतन्त्र स्लोडाउन भएपछि हामीलाई त्यसको प्रत्यक्ष प्रभाव पर्छ । आगामी २ वर्षसम्म पनि वैदेशिक रोजगारीमा पनि यसले असर गर्छ । तर कुन स्तरमामा असर गर्छ भन्ने कुरा आगामी दिनले निर्धारण गर्ला ।

तै पनि रेमिट्यान्स आउन ठप्पै हुने भन्ने त होइन । संसारमै रेमिट्यान्सको योगदान धेरै हुने मुलुकमा हाम्रो देश पनि पर्छ । बैंकिंग, बीमा, अर्थतन्त्रका विभिन्न क्षेत्रहरु प्रभावित हुन्छन् । साथै सामाजिकस्तरमा स्वास्थ्य, शिक्षा, खाद्यान्न र जीवनशैलीमा पनि ठूलो पर्छ ।

पहिले गरिबी न्यूनिकरणमा रेमिट्यान्सको योगदान ठूलो थियो । अब यसको असर गरिबीको संख्या घटाउने भनेर लिएको लक्ष्यमा पर्छ ।

अब यहाँनिर रेमिट्यानसको विकल्पको कुरा पनि गरिएको छ । रेमिट्यान्सको विकल्प त ठ्याक्कै यही हो भन्न नसकिएला आजका दिनमा । तर आगामी दिनमा योजना बनाउँदै जाने हो भने केही न केही समाधान त निस्कन्छ ।

अर्कोकुरा चाँडै नै कोरोना नियन्त्रण हुन्छ भन्ने कुरा पनि आइरहेको छ । यस्तो अवस्थामा कम असर पर्छ ।

विश्वव्यापीकरणको अवस्थामा विदेश जानेक्रम रोकिने त छैन तर पनि कम हुनसक्छ । त्यसका लागि विकल्पका रुपमा कृषि क्षेत्रमा धेरै काम गर्न सकिन्छ । सेवामुलक क्षेत्रमा पनि काम गर्न सकिन्छ । स्थानीय तहमा मानिसहरुलाई क्षमता अभिवृद्धि गरी सशक्तिकरण गर्नुपर्छ । सरबारले ठूल्ठूला विकास निर्माणका कामलाई तीब्रता दिने र रोजगारी सिर्जना गर्ने हो भने रेमिट्यान्सबाट परेको असरलाई पूर्ति गर्न सकिन्छ । र उत्पादकत्व पनि बढ्छ ।

वर्षौदेखि अर्थतन्त्रमा २५ प्रतिशतसम्म योगदान गर्ने कामदारहरुका लागि सम्बन्धित देशसँग छलफल गरेर उहाँहरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सरकारले सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल