जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल



नेपालभर कोरोना भाइरसको संक्रमण फैलने सम्भावना देखिएकोले सरकारले चैत ११ देखि २५गतेसम्म लागू हुनेगरी जारी गरेको निर्देशनअनुरुप जीवन बीमा कम्पनीहरुले आ-आफ्ना कार्यालयहरु खोलेर दैनिक व्यवसाय संचालन गर्न सक्ने स्थिति छैन ।

त्यसैले, बीमा कम्पनीहरुले आफ्ना ग्राहकलाई सुचना जारी गरी अनलाइन तथा विद्युतीय माध्यमबाट बीमा सेवालाई निरन्तरता दिइरहको अवस्था छ ।

सबै जीवन बीमा कम्पनीहरुबाट ग्राहकले आफूले भुक्तानी गर्नु पर्ने बीमाशुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधासहित बीमा दावी तथा ग्राहक सेवाको लागि अपनाउनु पर्ने प्रक्रिया एवं थप सूचना तथा जानकारी आदि सम्बन्धमा आवश्यक परेमा सम्पर्क गर्न सकिने गरी सम्पर्क व्यक्तिसमेत तोकिएको अवस्था छ ।

हाल संचालनमा रहेका १९ वटा बीमा कम्पनीहरुको छाता संगठन ‘जीवन बिमक संघ नेपाल’ ले समेत चैत १३ गते यस सम्बन्धी सूचना जारी गरी आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।

नियामक निकाय बीमा समितिको निर्देशन अनुसार हाल भुक्तानी गर्नुपर्ने बीमाशुल्क किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमाशुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, नेपाल सरकार (मन्त्रिपरिषद) को मिति चैत १६ गतेको निर्णयबाट स्वीकृत भएअनुसारको राहत कार्यक्रम कार्यान्वयन गर्न “कोभिड १९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन कार्ययोजना, २०७६” समेत लागू भइसकेको छ ।

उक्त कार्ययोजनामा समेटिएका र २०७६ चैतसम्ममा कार्यान्वयनमा आइसक्ने गरी तोकिएका जीवन बीमासँग सम्बन्धित देहायका विषयहरुमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट मिति चैत २० निर्देशन जारी भइसकेको अवस्था छ ।

-कोभिड-१९ भाइरसको संक्रमणका कारण सिर्जना भएको असामान्य परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट प्राप्त समेत) का आधारमा बीमालेख नवीकरण गर्ने ।

-जीवन बीमा सम्बन्धी प्रिमियम संकलन गर्ने समय अवधि वैशाख मसान्तसम्म थप गर्ने र उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउने ।

-चैत महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद वैशाख मसान्तसम्म थप गरी सो वापत जरिवाना नलाग्ने व्यवस्था मिलाउने ।


पुष्प दुलाल