कसरी हट्यो अनलाइनबाट समाचार ? यसो भन्छन् काठमाडौं प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मा



काठमाडौं । चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री खरिद सम्बन्धि प्रकाशित भएको समाचार हटाइएको विषयमा काठमाडौं प्रेस अनलाइनका सम्पादक कसमस विश्वकर्माले कानूनी उपचार खोज्ने बताएका छन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै कानूनी उपचारका लागि विज्ञसँग छलफल गरिरहेको समेत बताएका छन् ।

उनको भनाइ

नेपाली पत्रकारितामा हामीले एउटा अनौठो पीडा भोग्यौं । मंगलबार साँझ हामीले चीनबाट मेडिकल सामान खरिदका विषयमा एउटा सामाचार प्रकाशित गरेका थियौं – ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ । प्रकाशित समाचारका विषयमा विभिन्न निकाय र व्यक्तिबाट विभिन्न प्रतिक्रियाहरू हामीलाई प्राप्त हुन थालेको थियो ।

बुधबार विहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रा। लि। को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर ‘त्यो समाचार हटाइदिनु पर्‍यो, हामीलाई माथिबाट ठूलो दबाव आयो’ भन्ने अनुरोध गर्नुभयो ।

हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्‍यौं ।

विहान १०स्३० बजेतिर शिरान टेक्नोलोजिज्का प्रज्ज्वल महर्जनले फोन गरेर ‘त्यो समाचार त हटाउनै पर्यो’ भन्नुभयो । उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं । र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं ।

त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो । त्यसपछि ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन गर्‍यौं, मेसेज पठायौं, तर उहाँहरुले कुनै प्रतिक्रिया जनाउनु भएन । समाचार हटाइएकोमा कानुनी प्रक्रियामा जान्छौं भनेपछि फोन उठाउनु भयो र ‘हामी हेर्छौं’ भन्नुभयो ।

तर  हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट राखियो । फेरि मेसेज गरेर त्यसमा पनि कानुनी उपचार खोज्ने जानकारी दिएपछि उहाँहरुले बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाउनु भयो ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला । हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं ।

समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । हामी हाम्रो समाचारमा कहीं पनि त्रुटि वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न तयार नै छौं । यस घटनामा कानुनी कदम चाल्न पनि हामीले विज्ञहरूसँग सल्लाह गरिरहेका छौं ।


क्लिकमान्डु