लकडाउनको वेवास्ता गर्दै सहकारी संस्था खोल्न मन्त्रालयदेखि दुवै सहकारी विभागको दबाब



काठमाडौं । कोरोना भाइरसको त्रास फैलिरहेको समयमा सरकारी निकायको ध्यान यतिबेला सहकारी संस्थाहरुमा परेको छ ।

आइतबार सहकारी विभागले सहकारी संस्थाहरु खोल्न आग्रह गर्यो, सोमबार सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको छलफलमा पनि सहकारी बैंक तथा सहकारी संस्था पनि खोल्नुपर्ने भन्दै निर्देशन जारी भएको छ ।

यता काठमाडौं महानगरपालिकाको सहकारी विभागले पनि सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई खोजी खोजी भएपनि यो संकटको घडीमा पैसा दिन पत्राचार गरेको छ । देश लडकाउनको अवस्थामा रहेको समयमा पनि सरकारी निकायले सहकारी संस्था खोल्न निकै दबाब दिन थालेका छन् ।

मन्त्रालय र विभागले सहकारी खोल्ने भन्ने अनी सुरक्षा निकायले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेसँगै सबैमा अन्योलता देखिएको छ ।

महानगर अन्तर्गतको सहकारी विभागले देश लकडाउनको अवस्थामा रहेका बेला आफ्ना सेयर सदस्यहरुको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सबै सहकारीहरुलाई पत्राचार गरेको छ ।

‘संक्रामक समस्याको चुनौती सामना गरिरहनु परेको बर्तमान सन्दर्भमा सहकारीकातर्फबाट सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर हामीले सहकारीहरुलाई यस्तो परिपत्र गरेका हौं,’ सहकारी बिभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भने ‘भाइरसको संक्रमणबाट बच्न सरकारले बिभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैङ्कले गरेका परिपत्र संक्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, संक्रमण रोकथामका लागि महानगरले गरेका व्यवस्थाका आधारमा सहकारीहरुलाई अनुरोध गरेका हौं ।’

सहकारीमा न्युन तथा मध्यम आय भएका व्यक्तिहरुले थोरै थोरै गर्दै, गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरुको यो बचत भोलि आउने अप्ठ््यारोका लागि हो ।

बिभागका उपनिर्देशक सुमन अधिकारीले भने ‘अहिले सहरी गरीब तथा न्युन र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ््यारो परेको छ । उनीहरुलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नोस् भनेका हौं ।

उत्पादन र उपभोक्ता सहकारीहरुले उत्पादित बस्तुको सहज बितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यहरुलाई सम्भव भए माक्स र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

त्यस्तै आफू वा आफ्नो परिवेश नजिक कसैमा भाइरसको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गर्न वा महानगरको निगरानी प्रणालीको प्रयोग गरेर शंका निवारण गर्न भनिएको छ । महामारीबाट आफ्ना सदस्य र समाजलाई बचाउन यो सेवा प्रयोग गर्न प्रोत्साहन गर्न समेत पत्रबाट आग्रह गरिएको छ ।


क्लिकमान्डु