कोरोनाको कहरलाई राष्ट्र बैंकले सम्बोधन गर्ने बेला भएन र ?: नीरव पुडासैनी
हाम्रो अर्थतन्त्रको आकारले वैश्विक अर्थतन्त्रसँग खेल्न सक्ने अर्थराजनीतिक खेल वा सीधा अर्थमा भन्दा विश्व अर्थतन्त्रसँग गरिने पौठेजोरीको मामलामा हामी गणितीय हिसाबले शुन्य सहर हुन्छौं । स्मरण रहोस गणितीय शुन्य । जसको ठूलो महत्व हुँदाह्ँदै पनि छैन ।
महत्व आफूले दर्शाउन सके हुन्छ अन्यथा उही शुन्य । अर्थतन्त्रको हिसाबले महामारीको मध्यतिर पुगेको वैश्विक अर्थतन्त्र जोगाउन सम्बन्धित देशहरुले गरेको भगिरथ प्रयासलाई हाम्रो अर्थराजनीतिले गिज्याइरहेको भान हुन्छ ।
कारण गति शुन्य भएको देख्दा चाहे त्यो अमेरिकी सरकारको २ ट्रिलियन डलरको राहत प्याकेज होस् वा छिमेकी भारतकी वित्त मन्त्री निर्मला सितारमणको भारु १७ लाख करोड गरिबी राहत प्याकेज होस् । यी सबै कुुराहरु हाम्रा लागि दिवासपना हो । तथापि हाम्रो अर्थतन्त्र अनुकुल केही त हुनु पर्यो नि होइन र ?
ठूला अर्थतन्त्रका गतिविधिबाट हामीले सँधै केही सिक्ने प्रयासलाई जारी भने राख्न छाड्नुहुन्न । आज विश्लेषणत्मक लेखभन्दा पनि जानकारी तथा केही सुझाव दिन चाहन्छु । सम्बन्धितले मनन् गर्दैैनन् भन्ने जान्दा जान्दै पनि ।
यसै सन्दर्भमा भारतीय रिजर्भ बैंकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । नेपालले यसको सिको गर्न जरुरी छैन । तर अध्ययन र मनन भने जरुरी छ । आवश्यक परेको बेला केन्द्रीय बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई दिने ऋणको दर (रिपो)को ०.७५ प्रतिशतले घटाएको छ ।
त्यसैगरी बैंकहरुले केन्द्रीय बैंकमा रकम जम्मा गर्दा पाउने रिभर्स रिपोको रेट पनि घटाएको छ । रिपो रेट घटेसँगै भारतमा सबै किसिमको कर्जाको ब्याजदर पनि सँगसँगै घट्ने कुरा पक्का छ । तथापि यो अवस्थामा तत्काल यसको प्रभाव पर्छ भन्न सकिन्न । फलस्वरुप महामारीसँगै फैलिएको अर्थतन्त्रलाई थप उर्जा दिन केही हदसम्म यो सफल होला भन्ने अनुमान लगाउन सकिन्छ । यसतर्फ हाम्रो केन्द्रीय बैंकले पनि सोच्ने बेला भएन र ?
यद्यपि यसको दुश्चक्र कति समयसम्म रहन्छ भन्ने कुराको कुनै निश्चितता छैन । तसर्थ महामारीको प्रकोप लामो समयसम्म रहे रिपो रेट थप घट्ने वा यसले कम नगर्ने सम्भावनलाई नकार्न सकिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुख क्रिस्टिला जर्जियावाको भनाइअनुसार विकासोन्मुख राष्ट्रलाई यो महामारीको आर्थिक चपेटबाट बाहिर ल्याउन धेरै ठूलो आर्थिक प्याकेजको जरुरी पर्छ । उनी भन्छिन्- २००३ को आर्थिक मन्दीभन्दा यो २०२० मन्दी धेरै भयाभय, खराब र जटिल हुनेवाला छ । तसर्थ यस्ता कुराहरुलाई मनन गरेर हाम्रो केन्द्रीय बैंकले उचित कदम चालोस् ।
जसरी भारतीय केन्द्रीय बैंकले बैंकहरुलाई मोरोटोरियमको अधिकार दिएको छ यस्तै किसिमको अधिकारको प्रयोग नेपाली अर्थतन्त्र र बजार सुहाउँदो किसिमले लागू गर्न अब ढिला नगरौं । जसअन्तर्गत ऋणीहरुलाई ऋणको भुक्तानी केही समयसम्मका लागि स्थगित गरेर भुक्तानी समय केही पछि धकल्ने अधिकारको प्रयोग गर्न सक्ने नियम हो ।
जस्तै, कसैले ईएमआई (किस्ता) मा घर गाडी वा अन्य वस्तु लिएको छ भने बैंकलाई ग्राहकसँग मासिकरुपमा बुझाउनुपर्ने किस्ता केही समयपछि सारिदिने अधिकार हुन्छ । जसलाई मोरोटोरियम भनिन्छ ।
यस्तो अधिकार नेपालको सन्दर्भमा बीमाको प्रिमियममा पनि लागू हुनुपर्छ । व्यक्तिगत ग्राहकको अधिकार निकै संकुचित भएको हाम्रो सन्दर्भमा यो अधिकार बिमितले नपाएमा उनीहरुलाई बीमा कम्पनीहरुले धेरै ठूलो झेल गर्न सक्छन् भनेर नियामकले बुझ्नुपर्छ ।
यसकारण मोरोटोरियम वा प्रिमियम बुझाउने समय सीमा थप गर्नु बीमाको सन्दर्भमा अति आवश्यक छ । तर यो छुट होइन, ईएमआई र प्रिमियम तिर्ने समय लम्बाइएको मात्रै हो । यसले मध्यमवर्गिय ग्राहकहरुका लागि धेरे ठूलो राहत हुनेछ । जुन नेपालमा प्रयोगमा ल्याउन गाह्रो कुरा होइन । सबै किसिमको रिटेल ऋणमा यो लागू गर्न सकिन्छ ।
यसका साथै चालु पुँजी कर्जामा पनि ऋणको भुक्तानीको अवधिलाई पछि धकेल्नुपर्छ । विभिन्न सामानहरु आयात गरेर व्यापार व्यवसाय गरेका व्यापारीहरुले बैंकसँग विभिन्न ऋणका साथै चालु पुँजी कर्जा लिएका हुन्छन् । यसको भुक्तानी बजारबाट पैसा उठाएर नै गर्ने हुँदा समयमा यो ऋणको भुक्तानी गर्ने सम्भावना धेरै कम छ ।
तसर्थ उनीहरुको भुक्तानी अवधि केही समयका लागि लम्ब्याउने छुट दिलाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निभाउनु जरुरी छ । अन्यथा धेरै व्यापार व्यवसाय धरापमा जाने स्थिति उत्पन्न हुन्छ । जसले अर्थतन्त्रलाई नकारात्मक असर पार्ने पक्का छ ।
आम जनमानसको रोजगारी सुनिश्चितताका लागि पनि राष्ट्र बैंकले यी र यस्तै आर्थिक सुधारका कुराहरु शुरु गर्न ढिला गर्नु हुँदैन । यसका साथै निर्माणाधिन जलविद्युत आयोजना, विभिन्न उद्योग तथा चालु उद्योगहरु जसलाई थप नयाँ पूर्वाधार दिएको ऋणमा पनि मोरोटोरियम लागू गर्नुपर्छ । यसका साथै पुँजी बजारलाई केही चलायमान गर्न ढिला नगरौं ।
साथै नागरिक लगानी कोष जस्ता संस्थाको प्रयोग गरेर सेयर बजारलाई तत्काल परिचालित गर्ने प्रयास पनि आजको आवश्यकता हो ।