पूर्ण रुपमा बैंक तथा वित्तीय शाखा बन्द नहुँने, नगद व्यवस्थापनका लागि आंशिक शाखा खुल्ने



काठमाडौं । सरकारले मंगलबारदेखि लागु गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुँने भएको छ । नेपाल बैकर्स संघले अर्थमन्त्रालयसँगको कुरा गरेर शाखा खोल्ने वातावरण बनाएको छ ।

संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको शाखा कार्यालय एउटा स्थानीय तहमा एउटा खुल्ने बताए ।

‘हाम्रो बैंकको ललितपुर महानगरमा तीनवटा शाखा छन्,जसमा एउटा खुल्छ,यस्तै अन्य स्थानीय तहमा अरु बैंकका लागि समेत लागु हुन्छ,’उनले भने ।

काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक बिदा भएको हुँदा शाखा कार्यालय खुल्दैन । काठमाडौं बाहिरको हकमा अर्थमन्त्रालयले गृहमन्त्रालयलाई बैंकको शाखाको लागि पास उपलब्ध गराउन अनुरोध गरेको छ । सो अनुसारको पासले बैंकले सबै शाखा बन्द नगरेर निश्चित बैंकका शाखा खोलेर बैंकिङ सेवा दिने छन् । एटिएममा समेत नगदको व्यवस्थापन बैंकले गर्ने छन् । बीमाको हकमा पनि सोही अनुसारको व्यवस्था हुने छ ।

राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नगद व्यवस्थापनको लागि निश्चित शाखाहरु खुल्ने बताएका छन् । सरकारले गरेको निर्णयमा बैंक तथा वित्तीय संस्था उल्लेख नभएको हुँदा अन्यौल बढेको थियो ।

कुन शाखा खोल्ने निर्णय भने बैंक आफैले गर्नेछन् । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले पास दिने छ ।

यसअघि प्रकाशित सम्पूर्ण शाखा बन्द हुने समाचार गलत भएको हुँदा सच्चाइएको छ ।  सम्पादक


क्लिकमान्डु