कोरोना संकटको केन्द्रबाट अमेरिकाका नेपालीको अनुरोधः नडराउनुहोस्, सकभर घरमै बस्नुहोस्



बाल्टिमोर ।  आजभन्दा ३ महिना अगाडि डिसेम्बरको पहिलो दिनमै चीनको वुहान शहरमा कोरोना भाइरस फैलिएको सुचना आयो । यो ३ महिनाको बीचमा त्यही चीनमा भाईरसकै कारण करिब ३ हजार ४ सय व्यक्तिले ज्यान गुमाए । वुहानबाट फैलिएको मानिएको भाईरसले आजसम्ममा विश्वभरबाट १३ हजार भन्दा बढी व्यक्तिको ज्यान लिईसकेको छ भने झण्डै दुई लाखबढी उपचाररत छन् ।

करिब १ सय ८० देशमा पुगेको यो भाईरसको विषयमा हामी बसेको देश अमेरिका समेत बेलैमा सचेत हुन सकेन । भाइरस देश र जनताको लागि खतरनाक छ भन्ने जान्दा जान्दै विश्वको शक्तिशाली मानिएको देशले यसलाई देशमा भित्रिन नदिन उपयुक्त कदम चाल्न सकेन । फलस्वरुप आज म लगायत करिब यहाँका ३२ करोड जनता आंशिक लकडाउनको अवस्थामा छौं भने केही शहर पूर्ण रुपमा बन्द गरिएको छ ।

जब यो भाइरस विस्तारै चिन बाहिर फैलिदो अवस्थामा थियो त्यो बेलामा यो देशका राष्ट्रपतिको रुपमा रहेका डोनाल्ड ट्रम्पले समेत ‘चिनिया भाईरस‘ भन्दै खिल्ली उडाउने काम मात्र गरिरहे । जब विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा आपतकालको घोषणा गर्यो र अमेरिकाकै उत्तरी राज्यमा केही विरामी समेत फेला परे तब मात्र अमेरिकाको आखाँ खुल्यो तर त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । दिन दुईगुणा रात चार गुणा गर्दै एक एक गरी यो भाईरस आज अमेरिकाको सबै शहरमा पुगेको छ । र, विश्वकै शक्तिसाली देशलाई पनि बाँकी देश जस्तै गरेर गलाईसकेको छ ।

उत्तरदेखि दक्षिणसम्म पुर्वदेखि पश्चिमसम्म सबै क्षेत्रमा अहिले भाईरसका विरामी भेटिएका छन् । देशका राष्ट्रपतिदेखि सम्पूर्ण राज्य प्रमुखहरु २४ सै घण्टा यसलाई रोक्न लागिपरेका छन् । आर्थिक रुपमा ठूलो नोक्सानी भोगिरहेको यो देश भविष्यमा के होला भन्ने न हामीलाई थाहा छ न देशको प्रमुखलाई नै ।

अहिले राज्यको सम्पूर्ण संयन्त्र रोग नियन्त्रण गर्ने र अर्थतन्त्र बचाईराख्नेतर्फ केन्द्रित छ । तुलनात्मक रुपमा संसारकै सुविधाजनक स्वस्थ्य सेवा रहेको यो देशमा समेत कोरोनाको विरामीले गर्दा ठूलो हलचल आइरहेको छ । जसलाई दुई महिना अगाडि निचियाँ भाइरस भनेर उडाईन्थ्यो त्यसले आज यहाँ सबैको निन्द्रा उडाईरहेको छ ।

यो रोग आफैंमा बलियो वा कमजोर के होला त्यसको विश्लेषण गर्ने जिम्मा डाक्टरहरुलाई छोडौं तर यो रोगकै कारण देश कसरी तहसतहस हुनसक्छ भन्ने उदाहरण अहिले हामीले अमेरिकाकै केही राज्य, ईटली र चीनबाट लिन सक्छौं । २४ सै घण्टा जागा रहने न्यूओर्क शहर अहिले पूर्ण रुपमा बन्द (लकडाउन) को अवस्थामा छ ।

कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ भने अतिआवश्यक परे मात्रै घरबाट बाहिर निश्कन आग्रह गरिएको छ ।

अमेरिकाभरको धेरै राज्यका स्कूलहरु बन्द छन्, सरकारी कार्यालय आशिंक रुपमा अतिआवश्यक मात्र खुल्ला छन् । यता खाद्यान्न स्टोरहरुमा खाद्य सामाग्रीको लागि लडाई भइरहेको छ । तपाई हामी सामान्य अनुमान मात्रै पनि लगाउन सक्दैनौं कि यो कारण कुन–कुन क्षेत्रमा प्रभाव परेको छैन भनेर ।

जब डिसेम्बरमा यो रोग चीनमा देखियो त्यतिबेलै अहिलेको अवस्थाको परिकल्पना अमेरिकाले गर्न सकेको भए यो रोग भित्रिन नदिन प्रर्याप्त समय थियो । सामान्य रुपमा खुल्ला आवतजावतको विषमा मात्रै ध्यान दिन अमेरिका नचुकेको भए अहिले न हामीले न यो अवस्था भोग्नुपथ्र्यो न यो लेखिरहनु नै । केही सामान्य सावधानी अपनाउन नसक्दा अरु देश जस्तै अमेरिका पनि जनधनको क्षति हुनबाट रोकिन सकेन । र यो क्रमले कुन रुप लिने हो अहिले अनुमान मात्रै गर्न सक्छौं किन भने संकट भर्खर सुरु भएको छ ।

लेखक खतिवडा

यो रोगलाई हामीले त अहिलेसम्म भोगेका छैनौं तर रोगको कारण यहाँ अमेरिकामा कष्टकर जीवन भने भोगिरहेका छौं । हामीले चाहेको बेला चाहेको स्थानमा जान सक्ने अवस्था छैन । यहाँ छिन छिनमा आउने नयाँ विरामी र मृत्यूको खबरले जताजतै कोरोनाको त्रास मात्र बढिरहेको छ । पुरै अमेरिका लाग्दा पनि रोग नियन्त्रणमा आउने भन्दा दिनादनुदिन नयाँ विरामी थपिनेक्रम मात्र बडिरहेको छ । अहिलेसम्म भगवानको क्रृपाले नै भनौं यो रोग नेपालमा पुगेको छैन । संसारको सबै देश पिडित हुँदा हामीसितं अझै सोच्ने समय मिल्नु भनेको एउटा चमत्कार नै हुनु हो ।

वास्तममा यो रोग न त विरामीको प्राणघातक रोग हो न त ठूलो खतरनाक नै । तर पनि यो रोग प्रवेशले धेरै देश तहसनहस भईसकेका छन् । रोगले व्यक्ति भन्दा राष्ट्रको नोक्सानी कल्पना गरेभन्दा बाहिरको हुनसक्छ । अहिले नेपालमा यो रोग लाग्ने वित्तिकै व्यक्तिको निधन भईहाल्नेजस्तो गरेर हल्ला फिजाईएको छ । यहाँ हामै्र आँखा अगाडि धेरै व्यक्ति यो रोगबाट निको भएर घर फर्केका छन् ।

मै बसेको शहरमा अहिलेसम्म ४ जना व्यक्ति पूर्ण निको भएर दैनिक काममा फर्किसकेका छन । जसको रोगप्रतिरोधात्मक क्षमता कम छ त्यही व्यक्तिहरु जस्तो बृद्ध बृद्धा तथा कुनै दिर्घरोग जस्तै क्यान्सर तथा मधुमेयजस्ता रोगीहरुलाई केही सचेत हुनुपर्ने भनिएको छ । यति भन्दै गर्दा युवाहरुले यो रोगले असरै गर्दैन भनेर यहाँ धेरै अन्जान वा लापरबाहीका कारण आज पुरै देशै लकडाउनको अवस्थामा पुगेको छ ।

अहिले नेपालमा प्रधानमन्त्रीको सम्बोधन आउने वित्तिकै काठमाण्डौं बाहिरिनेको संख्या उच्च भएको छ । तपाईहरुलाई भिडभाडमा नजानुस भनेको कुनै व्यक्तिलाई लक्षण नै नदेखिईकनै अरु व्यक्तिमा यो रोग फैलिन सक्छ भनेर हो । हो ठ्याक्कै यही कुरा यहाँ अमेरिकामा पनि भनिएको छ ।

तर काठमाण्डौंमा यदि यो रोग रहेछ भने तपाईले काठमाडौं छोड्दा यो रोग पनि तपाईसंगै गएर गाउँमा भएका बृद्ध बाबुआमा फैलिन सक्छ त्यसैले अहिलेको अवस्थामा जुन स्थानमा छौं त्यही सुरक्षित रुपमा बसेर आफूमा रोग नभएको एकिन गर्दा सजिलो हुने देखिन्छ ।

उपचारको भरपर्दो विधी नभेटिसकेको यो रोग नियन्त्रण गर्ने मुख्य उपाय भनेकै एकबाट अरुमा फैलिन नदिनु हो । चीनले यही विधिबाटै सफलता हाँसिल गरिसकेको छ भने हामी बसेको देश अमेरिकाले पनि नागरिकलाई बारम्बार भिडभाडमा नजान, साबुनपानीले हात धुन, आफ्नो अनुहारमा फोहोर हातले नछुन र सकेसम्म घरबाहिर नकिस्कन चेतावनी दिँदै आइरहेको छ ।

यदि विरामीको शंका लागिहाले पनि आत्तिहाल्नुपर्ने अवस्था रहँदैन किनभने हाम्रै नेपालमा पनि एक व्यक्ति यो रोगबाट निको भईसकेको उदाहरण छ । अहिले सामाजिक सञ्जालमा जति हल्ला फैलिएका छन् यि सबै निराधार छन् । यो रोग लाग्ने वित्तिकै कसैको मृत्यू हुँदैन यदि हुनेथियो भने चीनमा यत्तिका मानिस अहिले जिवित हुने थिएनन् । यता अमेरिकामा पनि धेरै व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

अन्तर्राष्ट्रिय संकटको यो घडीमा हामी जति सवेदनशिल हुन्छौं त्यति नै यो रोग नियन्त्रणमा लिन सजिलो हुने छ । यदि हामी बसेको अमेरिकामा जसरी यो रोग नेपालमा फैलियो भने यो संकटलाई थेग्न सक्ने क्षमता हाम्रो सरकारमा नहुन सक्छ । अहिलेको अवस्थामा सबैभन्दा बुद्धिमानी भनेकै व्यक्ति आफैं सावधान हुनु र सकेसम्म रोगलाई प्रवेश नदिनु नै हो । हामी पनि यहाँ घरभित्रै छौं, त्यसैले सुरक्षित छौं ।

(नोटः यतिबेला यो आलेख तयार पार्दैगर्दा म कोरोना भाईरस अर्थात कोभिड १९ को कारण आंशिक लकडाउन भएको शहर अमेरिकाको मेरिल्याण्डको बाल्टिमोर नजिकै छु । यो लगभग ६० लाख जनसंख्या रहेकोको राज्यमा पछिल्लो एक हप्ताको बीचमा कोरोना भाइरसको कारण दुई जनाको ज्यान गईसकेको छ भने २ सय भन्दा धेरै विरामी अस्पतालमा उपचार गराईरहेका छन् । यो संख्या बढ्ने क्रममा रहेको छ । म बसेको पुरै अमेरिकाभरी करिब २७ हजार कोरोनाका विरामी अस्पतालमा उपचार गराईरहेका छन भने ४ सय व्यक्तिको यही भारईरसकै कारण ज्यान गईसकेको छ । विश्वकै आर्थिक राजधानीको रुपमा मानिने र म बसेकोको स्थानबाट निकै नजिक रहेको न्यूओर्कमा मात्रै १० हजारको हाराहारीमा विरामी छन् ति मध्ये ७० जानको ज्यान गईसकेको छ । भाइरसकै कारण अमेरिकाको सेयर बजार करिब करिब ध्वस्त अवस्थामा छ भने प्रमुख विदेशी राष्ट्रसंगको हवाईसम्पर्क पूर्ण रुपमा टुटेको छ । नागरिकलाई आवश्यकताविना घरबाहिर नकिस्कन र हुलमुलमा नजान आग्रह गरिएको छ । यो सबै नजिकबाट नियालिरहेको र आफैंले भोगेको अनुभव आज यहाँ बाड्न गईरहेको छु । यो आलेखको आसय कसैलाई डर देखाउनु वा त्रासमा पार्नु होईन । सचेत मात्रै गराउनु हो ।)


पुष्प दुलाल