उडान संख्या कटौती गरेसँगै महंगियो हवाई भाडा, यात्रु नभरिए अर्को विमानमा पठाइने



काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित नेपालको हवाई क्षेत्र यतिबेला गम्भीर संकटमा परेको छ ।

अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा त्यसको असर आन्तरिक विमान कम्पनीमा देखिएको छ । जसले गर्दा सस्तो दरका टिकट बिक्री गरी उडान गरिरहेका विमान कम्पनीहरुले शुक्रबारदेखि भने उडान संख्यामा भारी कटौती गरेका छन् ।

वायुसेवा सञ्चालक संघ (आयोन)का महासचिव योगराज कँडेलले अहिले सबै विमान कम्पनीहरुले अत्यावश्यक बाहेकका उडान बन्द गरेको बताए ।

‘खाली विमान उडान गर्न नसक्ने अवस्था भयो, त्यसैले अत्यावश्यक बाहेकका उडान बन्द गरिएको छ, साथै यात्रुलाई मर्का नपर्ने गरी विमान कम्पनीबीच समझदारीमा यात्रुलाई गन्तव्यमा पुर्याइने छ,’ उनले भने ।

उनका अनुसार यदी कुनै यात्रुले टिकट काटिसकेको अवस्थामा कुनै कम्पनीको विमान खाली हुने अवस्था आयो भने ती यात्रुलाई अर्को विमानमा उत्तिकै मूल्यमा पठाइने तयारी गरिएको उनले जानकारी दिए ।

उदाहरणका लागि पोखरा जान दैनिक ३ उडान छ भने पर्याप्त यात्रु नभए सबै उडानलाई एउटै बनाइने छ ।

‘जस्तै पोखराका लागि बिहान १० बजे, दिउँसो १२ बजे र ३ बजेका लागि तीन वटा उडान छन् र १० बजेको उडानमा पर्याप्त यात्रु संख्या नभए त्यसलाई १२ बजे वा ३ बजेसम्मका लागि डिले गरिनेछ,’ कँडेलले भने ।

बिहीबारसम्म सस्तो दरका टिकटमा यात्रुलाई सेवा दिइरहेका विमान कम्पनीहरुले शुक्रबारदेखि नै उडानमा भारी कटौती गर्दै भाडा पनि महंगो बनाएका छन् ।

बिहीबारसम्म १५ सयदेखि २५ सय रुपैयाँसम्म टिकट पाइने गन्तव्यमा अहिले अधिकतम मूल्यमा टिकट बिक्री भइरहेका छन् ।

सामान्यतयाः स्टोल रुटमा ८० प्रतिशतसम्म उडान कटौती भएका छन् भने ट्रंक रुटमा पनि ५० प्रतिशतभन्दा बढीले उडान संख्यामा कटौती गरिएको हो ।

यता हेलिकप्टरको हकमा पनि ९८ प्रतिशतसम्म उडान कटौती हुने अवस्था आएको छ । कँडेलका अनुसार कमिटमेन्ट भइसकेका बाहेक उडानहरु १ अप्रिलबाट सबै हेलिकप्टर ग्राउन्डेड गर्ने निर्णय गरिएको छ ।

केही निर्माणाधिन क्षेत्रमा सामग्री पुर्याउनका लागि कार्गो सेवा बाहेक सबै उडानहरु स्थगित गरी हेलिकप्टर ग्राउन्डेड गरिनेछ ।

संघले सरकारसँग विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षसम्म ब्याज मिनाह गर्ने, विदेशी मुद्राको ऋणलाई नेपाली मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने, विमान कम्पनीलाई बैंकहरुले आपसी सहमतिमा सहुलियत ऋण जारी गर्नुपर्ने, ऋणको पुनरतालिकिरण गरिनुपर्ने लगायतका माग अघि सारेको छ ।

साथै प्रभावित विमान कम्पनीहरु पुर्नजीवित हुन लामो समय लाग्ने भएकाले सरकारले कर, बीमा, ब्यादजर, टीडीएस, मूल्य अभिवृद्धिकर, ल्यान्डिङ, पार्किङ र रात्री विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुरआदिमा प्रोत्साहन दिनुपर्ने माग गरिएको छ ।

साथै स्टोर अपरेटर्सहरुले संकटको मौजुदा अवस्थामा मागको आवश्यकत अनुसार उपलब्ध १२ वटा मध्ये ६ वटा ग्राउन्डेड गरी बाँकी उडान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु