एयरलाइन्स कम्पनीले सरकारलाई भने- १ वर्षसम्म बैंकको ब्याज तिर्न सक्दैनौं
काठमाडौं । कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा यसको सबैभन्दा ठूलो असर नेपाली हवाई कम्पनीमा देखिएको छ । एकातिर यात्रु नपाएर लोअर अकुपेन्सीमा उडान गर्नु परिरहेको छ भने अर्कोतिर बैंकको बढ्दो ब्याजदरले विमान कम्पनीलाई पिरोलिरहेको छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार अहिले ‘स्टोल रुट’मा ८५ प्रतिशत र ट्रंकरुटमा ५० प्रतिशतले उडान संख्यामा कमी आएको छ । साथै यात्रुको संख्यामा पनि उल्लेख्य कमी आएको छ । जसले गर्दा अहिले विमान कम्पनीहरु के गर्ने भन्ने अन्योलमा देखिएका छन् ।
कँडेलका अनुसार अहिले हेलिकप्टरका व्यवसाय ९५ प्रतिशतदेखि ९८ प्रतिशतसम्म कमी आइसकेको छ । साथै आन्तरिक उडानमा यात्रुको संख्या पनि उल्लेख्य कमी आएको छ । विदेशी पर्यटकहरु १० प्रतिशत मात्रै छन् भने आन्तरिक यात्रुको संख्या ८० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ ।
यस गम्भीर संकटबाट पार लगाउनका लागि इन्धनको मूल्यमा कटौती गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको छ, नेपालमा पनि इन्धनको मूल्य घटाइदिएको अवस्थामा विमान कम्पनीलाई केही राहत हुने थियो,’ उनले भने ।
उनका अनुसार यतिबेला विमान कम्पनीहरु बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । उनले वायुसेवा सञ्चालक संघले सरकारसँग ३ वटा माग अगाडि सारेको जानकारी दिए ।
जसमा पहिलो माग ऋणको रिफाइनान्स गरिदिनु भन्ने माग गरिएको छ भने दोस्रो मागमा पुस मसान्तसम्मको बैंकको ब्याजदर तिर्न नसक्ने जनाउँदै त्यसलाई साँवामा मिलान गर्नुपर्ने माग उनीहरुको छ ।
त्यस्तै, तेस्रोमा ग्राउन्ड इन्स्योरेन्सका लागि बीमा समितिमार्फत् बीमा कम्पनीहरुलाई सरकारले निर्देशन दिनुपर्ने उनीहरुको माग छ
‘कोरोनाको प्रभाव अझै ६ महिनासम्म चल्ने देखिएको छ, छिट्टै समाधान भए पनि एक महिनापछि मात्रै व्यवसायले गती दिन सक्छ, यस्तो अवस्थामा हामीले चैतदेखि पुस मसान्तसम्मको बैंकको ऋण तिर्न सक्ने अवस्था छैन, त्यसलाई साँवामा मिलाइ दिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने ।
उनका अनुसार अहिले विमान कम्पनीले बसको भाडाभन्दा कम शुल्कमा हवाई उडान गर्न बाध्य छन् । जस अनुसार अहिले विमान कम्पनीहरुले सञ्चालन खर्च जोगाउनका लागि मात्रै भए पनि सस्तो दरका टिकट बिक्री गरिरहेका छन् ।
‘पोखरा जानका लागि लक्जरी बसकै २२ सय रुपैयाँ पर्छ, तर विमान कम्पनीहरुले १८ सय रुपैयाँसम्म उडाइ रहेका छन्, अन्य गन्तव्यमा पनि त्यस्तै अवस्था छ,’ उनले भने ।
उनका अनुसार आन्तरिक उडानतर्फ सबै जसो गन्तव्यमा विमान कम्पनीहरुले सस्तो दरका टिकटमा उडान गरिरहेका छन् । विदेशी पर्यटकको संख्यामा कमी आउँदा डलर फेयरमा टिकट बिक्री नभएको र सस्तो दरमा टिकट बिक्री गर्नु पर्दा समस्या सिर्जना भएको उनको भनाइ छ ।
अहिले विमान कम्पनीले सञ्चालन खर्च मात्रै जोगाउनका लागि विदेशी पर्यटकले ६० प्रतिशत अकुपेन्सी वा आन्तरिक यात्रुले ८० प्रतिशत अकुपेन्सी भयो भने मात्रै पनि हुन्छ । तर अहिले विदेशी यात्रुबाट आम्दानी हुने डलर फेयर नहुँदा समस्या बढ्दै गएको छ ।