अब वाणिज्य बैंकहरुसँग मर्जरको सिरियस छलफल गर्छौंः प्राइम बैंकका सीइओ मानन्धर



राष्ट्र बैंक र सरकारले म्याक्रो लेभलबाट हेरेर वाणिज्य बैंकबीच मर्जरको कुरा गरेका हुन् । तर हामीले त म्याक्रो लेभलबाट हेरेर मात्रै हुँदैन । बिजनेश र रिटर्नलाई प्राथमिकताका साथ हेर्नुपर्छ ।

प्राइम बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने भनेर साधारणसभाले नै पारित गरिसकेको छ । अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब रुपैयाँ छ भने कोर क्यापिटल १९ अर्ब रुपैयाँ पुगेको छ ।

मर्जर गर्दा २ प्लस २ जोड्दा ५ हुनुपर्छ । यदि त्यस्तो अवस्था देख्यौं भने हामी त्यसमा हात हालिहाल्छौं । कैलाशम पनि त्यही संभावना देखेर हामीले एक्वायर गरेका हौं । २ मा २ जोड्दा ३ भयो भने त्यो राम्रो मानिँदैन ।

विकास बैंक मात्रै मर्जर वा एक्वायर गरेर २२ अर्ब पुँजी पुर्याउन गाह्रो छ । २२ अर्बको हाम्रो मिशनले वाणिज्य बैंकलाई नै मर्जर वा एक्वायर गर्ने भन्ने हो ।

यो अवधिमा धेरैवटा वाणिज्य बैंकहरुसँग मर्जर तथा एक्वायरको कुराकानी भयो पनि । एउटा वाणिज्य बैंकसँग त निकै चरणमा कुराकानी भएको थियो ।

तर, कैलाश प्राप्तिको काम नसकिउञ्जेलसम्म अरु बैंक तथा वित्तीय संस्थासँग गंभीररुपमा छलफल गर्दैनौं भनेर हामीले जवाफ दिइरहेका छौं । आज कैलाशको प्राप्ति सकियो । अब सिरियसली मर्जरका लागि छलफल गर्छौं ।

मर्जरका लागि हामीले केही शर्त राखेका छौं । त्यो शर्त पूरा हुने संस्था आएको खण्डमा हामी मर्जर तथा एक्वायरमा गइहाल्छौं ।

हाम्रो शर्त भनेको हामीसँग कुनै पनि बैंक मर्जर वा एक्वायरमा आउँदा अहिले हामीले सेयरधनीलाई दिइरहेको प्रतिफल कम हुनु भएन । यसको मतलम अहिले प्राइम बैंकले १८ प्रतिशत लाभांश दिएको छ । मर्जरमा गएपछि १७, १६ वा १५ प्रतिशतमा झर्नु भएन । कम्तिमा १९, २० प्रतिशत पुग्नुपर्यो ।

र, अर्को शर्त हो हामी प्राइम बैंकको ब्राण्ड गुमाउन चाहँदैनौं । हामीले हाम्रो नाम गुमाएर मर्जरमा जानुपर्ने आवश्यकता नै छैन ।

सरकार र राष्ट्र बैंकको नीतिको अर्थ के हो भने मर्जरले संस्थाहरु बलिया बनुन् । बिजनेश बढोस् । सस्टेन गर्न सकुन् । सानो–तिनो समस्या पर्दा बैंकलाई अफ्ठेरो नपरोस् भन्ने हो ।

कैलाशलाई गाभेर एकीकृत कारोबार गरेको दिन प्राइम बैंकको घोषणाः अर्को बैंकपनि मर्ज गर्ने छौ

राष्ट्र बैंकले वाणिज्य बैंकका लागि न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ तोकेको छ । हामीले १४ अर्ब पुर्याइसकेका छौं । हामी धेरै अगाडि बढिसक्यौं । भोलिका दिनमा राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोक्यो भने पनि प्राइम बैंकले बोनस सेयर जारी गरेरै भएपनि तोकिएको पुँजी पुर्याउन सक्छ । पुँजी पुर्याउनकै लागि हमी मर्जरमा जानुपर्ने बाध्यता छैन ।

कैलाश प्राप्ति गरेपछि शाखा सञ्जाल पनि २०० पुगेका छन् । नाफा पनि राम्रै छ । प्रतिफल पनि राम्रै दिइरहेका छौं । यस्तो अवस्थामा हामी आफ्नो अस्तित्व नै गुमाएर मर्जरमा जानुपर्ने अवश्यकता छैन ।

तर पनि राष्ट्र बैंकले मर्जरमा जाँदा विभिन्न अवसरहरु दिएको छ । त्यो सुविधा लिन पाइने र आफू पनि सबल भइने भएकाले हामी वाणिज्य बैंकसँग मर्जरमा जान तयार छौं ।

अलि पहिले प्राइमले नयाँ पुस्ताका बैंकहरुसँग मर्जरको कुराकानी गरेको थियो । अब फेरि ती बैंकसँग सिरियसली छलफल अघि बढाउँछौं । र, केही पूराना बैंक पनि छन् । हामीसँग ४/५ वटा वाणिज्य बैंकको कुराकानी भएको हो ।

प्राइमको प्रतिस्पर्धा प्राइमसँगै

हामीले जहिल्यै पनि अरु बैंकले प्रतिस्पर्धा गरेका ठाउँमा प्रतिस्पर्धा गर्न गएका छैनौं । नयाँ नयाँ ठाउँ खोजेर आफ्नो बजार विस्तार गरिरहेका छौं । त्यसैले हामीलाई कसैसँग प्रतिस्पर्धा गरेको अनुभव नै भएको छैन । हामी आफैंसँग प्रतिस्पर्धा गर्छौं । हिँजोभन्दा आज र आजभन्दा भोलि कसरी राम्रो बन्ने भन्ने हाम्रो ध्येय हो । आफ्नो तर्फबाट बेस्ट दिने हो ।

यो हम्रो संस्थाको नीति हो । म भए पनि नभए पनि प्राइम बैंक यही नीति अनुसार अघि बढ्छ । अरु बैंक मर्जर गर्नका लागि म नै चाहिन्छ भन्ने छैन । जो सीइओ आएपनि यही नीति अनुसार अघि बढ्छ ।

कैलाशबाट धेरैकुरा पायौं

कैलाश विकास बैंकमा धेरै क्वालिटीका बिजनेशम्यानहरु आवद्ध थिए । कमिटेड र डेडिकेटड व्यक्तिहरु थिए । व्यवसायमा जो मान्छे कमिटेड र डेडिकेटेड हुन्छ, त्यो अवश्य सफल हुन्छ । आजदेखि त्यो सबै प्राइमले पाएको छ ।

त्यतिमात्रै होइन, एउटा स्थापित संरचना नै पाएका छौं । क्षमतावान र अनुभवी कर्मचारीहरु पाएका छौं ।

बैंक खुलेको दोस्रो वर्षमै सेयरधनीलाई लाभांश खुवाउने बैंक हो प्राइम । यो बैंकमा लगानी गर्नेहरुको भ्यालू १२ वर्षमा कहाँ पुग्यो, पुग्यो । कतिपय बैंकका लगानीकर्ताले १२ वर्षमा लाभांश सुँघ्न पनि पाएका छैनन् ।

बैंकहरुबीच शाखा खोल्ने प्रतिस्पर्धा नै चलेको थियो । यहाँ पनि साथीहरुले कुरा गर्नुहुन्थ्यो । तर, मेरो बुझाइ के थियो भने पहिला आफूलाई चाहिएजति र थेग्नसक्ने गरीमात्रै शाखा खोल्नुपर्छ ।

एउटा कुनै नयाँ शाखा खोलेर त्यसलाई नफामा लैजान कम्तिमा १ वर्ष लाग्छ । कैलाश ल्याउँदाखेरी हामीले १०० शखा खोलेर खर्च गर्नै परेन । आजकै दिनदेखि सबै शाखाहरु नाफामा छन् । आजैदेखि कमाइ खान पाइयो ।

अब जागिर खाने मन छैन

मलाई अब जागिर खाएर बस्न मन छैन । मलाई चाँडै नै बैंक छाड्न मन छ । ५० वर्षभन्दा बढी जागिर खाइसकेँ । म एकान्तमा बस्न चाहन्छु ।

पहिला पनि मैले छाड्न खोजेकै हो । तर, सबैजनाले कैलाशको प्राप्ति नसकिएसम्मका लागि बसिदिन आग्रह गरेपछि बसेको हुँ । अब उमेर हद तोकिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित हुँदैनछ । त्यो पारित भएका दिन म नै सबैभन्दा खुसी हुन्छु होला ।

उमेर तोक्नु ठीक हो वा होइन भन्ने आफ्नो प्रसेप्सन्सको कुरा हो । यसका सबल र दुर्बल दुबै पक्ष छन् ।

मभन्दा जान्ने धेरै बैंकर छन्, तर…

म भन्दा जान्ने धेरै बैंकरहरु छन् । उहाँहरुका अघि म केही पनि जान्दिन । मभन्दा बढी इनर्जेटिक धेरै सीइओहरु हुनुहुन्छ । तर, व्यवसायमा सफ बन्न एउटा कुरा चाहीँ के हो भने क्रेडिबिलिटी चाहीँ मेन्टेन गर्नुपर्छ । आफ्नो कुनै स्वाथ्र्य हुनु भएन ।

महाँ जो ग्राहक आएपनि म परिवारको सदस्यको जस्तो व्यवहार गर्छु । प्राइम बैंकबट ऋण लिनेहरु मेरा व्यावसायिक साझेदार हुन् भन्ने सोच्छु । ग्राहकलाईै केही सस्या पर्यो भने म आफैं काउन्सिलिङ गर्छु । गाह्रो साह्रो पर्दा नियमभित्र रहेर सहयोग गर्छु । जसकारण १ प्रतिशत बढी ब्याज तिरेर भए पनि प्राइम बैंकबाट ऋण लिन्छु भन्ने धेरै ऋणीहरु छन् ।

ग्राहकको समस्या पनि बैंकको समस्या हो भनेर हामीले बुझ्छौं । बरु एकछि बढी बसेर ग्राहकको काम सकौं न भन्ने मेरो काम गर्ने शैली छ ।


पुष्प दुलाल