कोरोना प्रभावः ठूला विकास निर्माणका आयोजना प्रभावित



काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसारभर नै त्राहीमाम भएको छ । विश्वका ८० भन्दा बढी देशका सो भाइरसको सक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

जसमा चीन, जापान, इरानलगायतका देशमा कोरोनाका कारण मृत्यु हुने नागरिकको संख्या ३ हजार बढी पुगेको छ । कोरोनोले विश्व अर्थतन्त्रलाई समेत समस्यामा पारिरहेको बेला त्यसको प्रत्यक्ष प्रभाव नेपालका ठूला विकास निर्माणको काममा समेत परेको छ ।

चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका कामदार फर्कन नसक्दा नेपालका ठूला विकास निर्माणका काममा समस्या पैदा भएको छ । विशेष गरी निर्माण सकिने तयारीमा रहेका आयोजनामा समेत समस्या देखिएको छ ।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी मारमा परेको छ । विमानस्थलको लाइटिङको काम मात्रै बाँकी छ ।

तर चिनियाँ कामदार आउन नसक्दा विमानस्थल निर्माणको काम रोकिएको छ । पछिल्लो पटक सरकारले चिनियाँ ठेकेदारको अवधि ३ महिना थप गरेको भएपनि कामदार नआउँदा सो आयोजना थप पर धकेलिने देखिएको छ ।

विमानस्थलको काम रोकिदा त्यसले धेरै क्षेत्रमा प्रभाव पार्ने निश्चितप्रायः भएको छ । विमानस्थलका प्रमुख प्रवेश अधिकारीले कामदार र उपकरण नआउँदा समस्या भएको बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये छिटो सकिने भनिएको आयोजना थियो । तर कोरोनाका कारण सो लक्ष्य समेत पर धकेलिने भएको छ ।

यस्तै पोखरा विमानस्थल निर्माणमा समेत कोरोना प्रभाव परेको छ । चीन गएका चिनियाँ कामदार नआएका कारण सो विमानस्थल निर्माणको काममा समेत गत्यावरोध पैदा भएको छ । गौतमबुद्ध र पोखरा विमानस्थलको महत्वपूर्ण निर्माणका काममा चिनियाँ कामदार नै रहेका छन् ।

गत जनवरीको दोस्रो साता नयाँ वर्ष मनाउन चीन फर्केका कामदारलाई चीन सरकारले विदेश यात्रा नगर्न निर्देशन दिएपछि ती आयोजनामा समस्या पैदा भएको हो ।

यस्तै कोरोना भाइरसकका कारण प्रभाव परेको अर्को आयोजना हो ४०० केभी क्षमताको ढल्केबर सवस्टेशन । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ ।

ग्यास इन्सुलेटेड सवस्टेशन (जिआईएस)’का उपकरणको सञ्चालन परीक्षण गर्न कोरोना भाइरसले गर्दा चिनियाँ इञ्जिनियर आउन नसक्दा सवस्टेशनको निर्माण प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर सवस्टेशन मुलुकभित्रको सबैभन्दा ठूलो सवस्टेशन भए पनि निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको हो ।

सवस्टेशनको उपकरण जडानमा खटिएका प्राविधिकले अहिलेकै अवस्थामा चिनियाँ इञ्जिनियर निर्माण क्षेत्रमा आउन नसक्ने र आएको खण्डमा पनि काम नहुने अवस्था देखिएको छ । चीनबाट आएका इञ्जिनियरलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुँदा तत्काल उनीहरु आउँदा पनि आयोजनाको काम करिब साढे एक महिना ढिला हुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भइरसका कारण चिनियाँ इञ्जिनियर आउन नसक्दा निर्माणको अन्तिम चरणमा पुगेको सवस्टेशनको काम प्रभावित भएको जानकारी दिए ।

‘जिआइएस तथा अरु उपकरण जडान भइसकेका छन्, चीनमा उत्पादित उपकरण भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इञ्जिनियर आउनुपर्छ, कोरोना भाइरसका कारण उनीहरु आउन नसक्दा सवस्टेशन सञ्चालन हुने मिति धकेलिएको हो’, उनले भने ।

यस्तै, देशका अन्य विकास निर्माणका काममा समेत प्रभाव परेको छ । चिनियाँ कामदारले काम गरिरहेका विभिन्न जलविद्युत् आयोजना समेत प्रभावित भएका छन् । यस्तै कामदार आउन नसक्दा रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको ४८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना समेत समस्यामा परेको छ ।

यस्तै चिनियाँ ठेकेदारले जिम्मा लिएको रसुवागढी जलविद्युत् आयोजना समेत समस्यामा परेको छ । सो आयोजनामा काम गर्ने ३०० बढी कामटदार चीन गएका कारण उनीहरु फर्कन पाएका छैनन् ।

आयोजनामा हाल असाध्यै न्यून मात्रामा चिनियाँ कामदार छन् । जसका कारण आयोजनाको समय र लागत बढ्ने अवस्था पैदा भएको छ । सो आयोजनाको हाल टेरेल सुरुङ निर्माणको काम भइरहेको थियो ।

कामदार आउन नस्क्दा जटिलता पैदा भएको आयोजनाले जनाएको छ । कूल प्रगति ८५ प्रतिशत पुगेको सो आयोजना समेत कोरोनाको प्रभावमा परेको छ । यस्तै चिमिले– त्रिशुली थ्री बी २२० केभी प्रसारण लाइन समेत समस्यामा परेको छ । सो आयोजनामा समेत समस्या देखिएको छ ।

कोरोनाका कारण सरकारले श्रमस्वीकृति बन्द गर्दा त्यसको प्रत्यक्ष प्रभाव विप्रेषणमा समेत पर्ने देखिएको छ । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा करिब १ प्रतिशतले मात्रै बढेको विप्रेषण कोरोनाका कारण झनै प्रभावित हुने भएको छ ।

उता सरकारले सार्वजनिक कार्यक्रमको आयोजना नगर्न आग्रह गरेपछि व्यापार व्यवसायमा समेत त्यसले प्रत्यक्ष प्रभाव पर्ने भएको छ । देशभित्र कोरोनाको सत्रमmण भएका कुनै पनि बिरामी फेला नपरेपनि असुरक्षा भने बढेको छ । व्यापार व्यवसायमा त्यसले प्रभाव पर्न थालिसकेको छ । आयातमा आधारित अर्थतन्त्र झनै समस्यामा पर्ने भएको छ ।


क्लिकमान्डु