चन्द्र र किशोर जसले त्याग गर्छ, उसलाई पछि अध्यक्ष बनाउने सहमति हुन्छः रविभक्त श्रेष्ठ



रविभक्त श्रेष्ठ, पूर्वअध्यक्ष- नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत अन्तिममा हुने निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्धारी घोषणा गरी चुनावी प्रचारलाई तीब्र बनाएका छन् । ढकाल अहिलेका एसोसिएट र प्रधान जिल्ला-नगरतर्फका उपाध्यक्ष हुन् । ढकालको उम्मेद्धारी घोषणामा पूर्वअध्यक्षहरु चण्डीराज ढकाल र सुरज बैद्य उपस्थित थिए भने प्रधानको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहरु बिनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छा उपस्थित थिए ।  

यसरी उम्मेद्धारहरुको पक्षमा पूर्वअध्यक्षहरु खुलेरै हिँडेपछि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको मन पोल्यो । चुनावी तिक्तताले भावी दिनमा महासंघमा टुटफुट ल्याउन सक्ने र त्यसले महासंघ कमजोर हुने विश्लेषण गर्दै श्रेष्ठले सर्वसहमतिम नेतृत्व चयनको इनिसिएसन लिए । पूर्वअध्यक्ष कुशकुमार जोशीले साथ दिए । र, जोशीले यही फागून १५ गते बिहीबार राजधानीको रोयल रोयल सिंघी होटेलमा पूर्वअध्यक्षहरुको बैठक बोलाए । र, सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पहल थाल्न आग्रह गरे । उपस्थित सबै पूर्वअध्यक्षहरु श्रेष्ठको प्रस्तावमा सहमत भए । र, रविभक्त श्रेष्ठलाई नै आगामी निर्वाचनमा सर्बसम्मत नेतृत्व चयनका लागि पहल गर्न पूर्वअध्यक्षहरुको संयोजक बनाए । उनै श्रेष्ठसँग क्लिकमाण्डूका लागि पुष्प दुलालकमलकुमार बस्नेतले गरेको कुराकानीः

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्धारी घोषणा गरी चुनावी प्रचारप्रसारलाई तीब्रता दिन थालेपछि तपाईं लगायतका पूर्वअध्यक्षहरुले सर्बसहमतिको प्रयास थाल्नुभएको छ । चुनाव हुँदा के नै बिग्रिन्थ्यो र ?

पक्कै पनि नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षलाई लिएर अहिले माहोल तातेको छ । यस विषयमा हामी पूर्वअध्यक्षहरुले चासो देखाउनु स्वभाविक नै हो । तर सकारात्मक रुपमा । व्यक्तिगत रुपमा मेरो चाहना पहिलेदेखि नै महासंघको भावी अध्यक्षका रुपमा रहने वरिष्ठ उपाध्यक्षको निर्वाचन सर्वसम्मत नै होस् भन्ने हो । त्यसैले दुबैजना उम्मेदवारलाई सर्वसम्मतमा जाऔं भनेर भनि सकेका पनि छौं ।

गत बिहीबार मात्रै पूर्वअध्यक्षहरु बसेर सर्बसहमति गर्ने औपचारिक इनिसिएशन थाल्नुभएको छ । कुन पूर्वअध्यक्षले के भन्नुभयो त त्यो छलफलमा ?

गत साता हामी केही पूर्वअध्यक्षहरु महासंघको निर्वाचनको विषयलाई समेत लिएर बैठक बस्यौं । त्यसमा पूर्वअध्यक्षहरुका कुराहरु व्यक्त गर्ने र सुन्ने काम भयो । जसमा सबैको साझा चासो छ कि महासंघमा अबको वरिष्ठ उपाध्यक्ष सर्वसम्मत् नै हुनुपर्छ । यसको अग्रसरताका लागि सबैले मलाई नेतृत्वदायी भूमिकामा अगाडि सार्नु भएको छ । सोही अनुसार अहिले हामी अगाडि बढिरहेका छौं ।

लोकतान्त्रिक प्रणालीमा निर्वाचनलाई पारदर्शी र उपयुक्त विकल्पका रुपमा हेरिन्छ, महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत् नै किन आवश्यक ठान्नु भयो ?

लामो समयको राजनीतिक संक्रमणपछि हामीले स्थिर र बलियो सरकार पाएका छौं । मुलुक संघीयतामा गइसकेको छ । बलियो सरकारसँग माग राखेर पूरा गर्नका लागि महासंघ पनि बलियो हुनुपर्छ । महासंघ कमजोर हुने हो भने सरकारले पेल्दै जान्छ ।

७ पूर्वअध्यक्षले महासंघमा सर्वसम्मत नेतृत्व चयनको पहल थाले, ५ तारे होटेलमा ‘ग्यादरिङ’

निर्वाचन भयो भने त्यसको ह्याङ रहन्छ । त्यो इगोमा परिणत भएको हाम्रै घटनाक्रमबाट अझ बढी सिक्ने र बुझ्ने मौका पायौं । निर्वाचनमा गएपछि कसैले जित्छ, कसैले हार्छ । र, सहज ढंगले महासंघ सञ्चालन गर्न गाह्रो हुने रहेछ । यसले कतिपय अवस्थामा फुट सिर्जना गर्न सक्ने अवस्था समेत सिर्जना गर्ने रहेछ ।

अहिले महासंघभित्र मौलाएको पूर्वाग्रही सोच हटाउन, सकारात्मक सहकार्यको वातावरण सिर्जना गर्नका लागि सर्वसम्मत् आवश्यक देखिएकाले त्यसै अनुरुप हामी अगाडि बढेका हौं । हाम्रो प्रयास कसैलाई बरिष्ठ उपाध्यक्ष बनाउने होइन, महासंघलाई एकजुट र बलियो बनाउने हो ।

सर्बसहमति भयो भने कसैले हार्दैन, सबैले जित्छन् मात्रै । त्यसैले यस्तो अवस्थामा सर्बसम्मत नेतृत्व चयन गर्न सकियो भने महासंघ बलियो हुन्छ ।

पूर्वअध्यक्षको जिम्मेवारीमा सर्वसम्मत् बनाउने चाहना र त्यसैका आधारमा अग्ररता लिनु सकरात्मक हो । तर उम्मेदवारी घोषणा गरेर चुनावमा होमिइसकेका उम्मेदवारहरुलाई सहमतिमा ल्याउन सकिएला त ?

हाम्रो चाहना सबै मिलेर एकजुट भएर नै जाऔं भन्ने हो । निर्वाचनमा गएर कसैलाई पराजित गरेर केही हुने पनि होइन । अहिले महासंघलाई एकजुट बनाइ निजी क्षेत्रका समस्या समाधानका लागि काम गर्नुपर्ने समय आएको छ । त्यसैले यस्तो अवस्थामा सर्वसम्मत्को विकल्प छैन ।

फेरि हिँजोका दिनमा मुलुक संघीय संरचनामा जाँदै थियो । शासकीय स्वरुपहरु परिवर्तन भएका थिए । शासकीय अधिकारहरु संघ, प्रदेश र स्थानीय तह गर्दै विभाजन हुँदै थियो । र, राजनीतिक अस्थिरता पनि थिएन । केही कानून, नीति, नियमहरु पनि आवश्यक थियो । तर अहिले समय फेरिएको छ । अब हाम्रा प्राथमिकता राजनीतिक स्थायित्वबाट अगाडि बढेर आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने समय आएको छ । त्यसैले यसैका लागि पनि महासंघलाई एकजुट बनाउनु पर्नेछ । त्यसको एउटै बिकल्प भनेको सर्बसहमति नै हो ।

कसरी सहमति गराउनुहुन्छ त ?

सर्वसम्मत्मा गइसकेपछि एक जनाले त्याग गर्नैपर्छ । तर यसको अर्थ एकजना निर्वाचित भइरहँदा अर्काले केही नपाउने होइन । हामीले दुबै उचित मूल्यांकन गरी व्यवस्थापन गर्ने मध्यमार्गी बाटो अपनाउने छौं ।

विगतमा मै अध्यक्षका लागि उम्मेदावरी दिँदै गर्दा प्रदीप कुमार श्रेष्ठजीलाई सहमति कै आधारमा छाडेको हो । पहिलो वर्ष उहाँ अध्यक्ष बन्नु भयो अर्को वर्ष म अध्यक्ष बने । तत्कालिन समयमा महासंघको हितलाई ध्यानमा राख्दै मैले त्याग गरेको थिए । र, यो अहिले पनि सम्भव छ । को पहिला र को पछि अध्यक्ष बन्ने भन्ने कुराको सहमति उहाँहरु दुबैजना बसेर गर्ने हो । हामीले उहाँहरुलाई बसेर सहमति गर्नुहोस् भनेर दबाब दिइसकेका छौं । सायद उहाँहरु भरे/भोलि बस्दै हुनुहुन्छ होला ।

सहमतिका लागि चन्द्रजी र किशोरजीमध्ये एक जनाले त्याग गर्नैपर्ने हुन्छ । त्याग गर्नेको व्यवस्थापन कसरी हुन्छ । र, त्याग गर्नेलाई कसरी भावी दिनको एसुरेन्स गराउनुहुन्छ ?

यसका लागि हामीले केही विकल्पहरु सोचेका छौं । जसमा दुबैबीच लिखित सहमति गरेर अगाडि बढ्ने । जसमा हामी पूर्वअध्यक्षहरु, बन्दै गरेका अध्यक्ष तथा अन्य सरोकारवाला व्यक्तिहरुको हस्ताक्षर सहितको लिखित सहमति गर्ने छौं । र, पत्रकार सम्मेलन गरेर त्यो सहमतिलाई सार्वजनिक गर्नेछौं ।

चन्द्र ढकाललाई जिताउन सुरज र चण्डीराज ९ वर्षपछि एउटै ‘गुट’मा, चण्डी छाडे चन्द्र सर्वसम्मत

एकजना वरिष्ठ उपाध्यक्ष हुँदै गर्दा अर्कोलाई पनि विधान संशोधन गरेर हुन्छ वा नगरी उचित पदको व्यवस्थापन गर्नेछौं । त्यो भनेको विधान संशोधन गरेर बिशिष्टि सदस्य पनि हुनसक्छ वा अरु कुनै । यसको मत्लब त्याग गर्नेलाई महासंघ बाहिर राख्दैनौं । महासंघमै सक्रिय भूमिकामा राख्छौं भन्ने हो ।

अर्को कुरा हामीले अहिले वरिष्ठ उपाध्यक्षका लागि मात्रै होइन, सबै पदमा सर्वसम्मत् बनाउने प्रयासमा छौं ।

भनेपछि अब त्याग गर्नेलाई नयाँ पद सिर्जना गर्न विधान नै संशोधन गर्नुहुन्छ ?

शेखरजी अध्यक्ष भइसकेपछि विधान संशोधन हुन्छ । र, त्याग गर्ने एकजनालाई उच्च सम्मान गर्दै उपयुक्त पदमा व्यवस्थापन गर्छौं । हामी लिखित सहमति गरेर अघि बढ्छौं । हाम्रो यो सहमति कुनै राजनीतिक नभइ महासंघको हितका लागि हुनेछ भन्ने कुरालाई ध्यानमा राख्दै कार्यान्वयन पनि गर्नेछौं ।

तपाईको नजरमा महासंघको वरिष्ठ उपाध्यक्षमा को आइदिए महासंघ बलियो हुन्थ्यो भन्ने लाग्छ ?

म अहिले पनि कसैको पक्षमा छैन । र, यदी कदमकदाचित सर्वसम्मत् भएन भने म कसैको पक्षमा लाग्दिन । चुनाव भयो भने सुटुक्क गएर एक जनालाई भोट हालेर आउँछु ।

पूर्वअध्यक्षमध्ये तपाईंले यसो भनिरहँदा केही पूर्वअध्यक्षहरु दुबै उम्मेदवारको पक्षमा समर्थन गरिरहनु भएको छ । जसकारण पूर्वअध्यक्षहरु बीचमा पनि मैले भनेकै उम्मेद्धारको नाममा सहमति हुनुपर्छ भन्ने आवाज उठ्ला नि ?

त्यस्तो हुँदैन । हिँजोका दिनमा कोही कतै लाग्नु भएको होला । तर जति पनि हामी गत साता एकठाउँमा बसेर छलफल गर्यौं, त्यसका आधारमा हामी सबैको लक्ष्य सर्वसम्मत् नै हो । बाँकी केही अध्यक्षहरु कतै समर्थनमा लाग्नु होला वा नहोला त्यसमा भन्न सक्ने कुरा भएन ।

तपाईले पूर्वअध्यक्षको प्रतिनिधित्व गरी सर्वसहमतिका लागि अग्रसरता लिएपछि दुबै जनासँग कुरा गर्नु भयो होला, उहाँहरु तपाईको योजनामा कति सकारात्मक पाउनु भएको छ ?

उहाँहरु सकारात्मक हुनै पर्छ । यसमा अहिले के कुरा भयो वा भएन भन्दा पनि यो अहिले शुरुवाती चरणमा भएकाले कसको के अडान भन्ने कुरा भएन । हामी सहमतिको प्रयासमा छौं । र, के विश्वास छ भने हामीले सर्वसम्मत् बनाएरै छाड्छौं ।

सर्बसम्मतको यो प्रयासले कहिलेसम्म नतिजा ल्याउला ?

अहिले हामी छलफलको चरण मै छौं । निर्वाचन पनि नजिक आइरहेकाले धेरै लामो समय पनि छैन । हाम्रो प्रयास एक साताभित्रै नतिजामा पुग्नुपर्छ भन्ने हो । र, सोही अनुसार काम गरिरहेका छौं ।


पुष्प दुलाल