यी हुन् एजेन्ट मिश्र, जोसँगको कुराकानी बाँस्कोटालाई महंगो भयो



काठमाडौं । गत पुस २१ गते सार्वजनिक लेखा समितिको बैठकको एजेन्डा सेक्युरिटी प्रेसको विषयमा थियो । बैठकमा विज्ञका रुपमा विजयकुमार मिश्रलाई आमन्त्रण गरिएको थियो ।

त्योबेला सांसदहरु नै अचम्ममा परे । सेक्युरिटी प्रेसका नेपाली एजेन्ट विजयकुमार मिश्र विज्ञका रुपमा समितिमा आएका थिए । उनले समितिको बैठकमा सेक्युरिटी प्रेसमा ६ अर्ब रुपैयाँ आर्थिक अनियमिता हुन लागेको ठोकुरा समेत गरेका थिए ।

त्यो बैठकमा मिश्रसँगै अर्का व्यक्ति पनि उपस्थित थिए, सुदीपराज पाण्डे । सांसद् सदस्यहरुले त्योबेला नै एजेन्टका रुपमा चिनिएका मिश्रलाई विज्ञका रुपमा बोलाएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा सांसद् सूर्य पाठकले मिश्रलाई विज्ञताको प्रमाणपत्र माग्दै सरकारले किन्न लागेको मिसनको गुणस्तर र बजार मूल्यको जानकारी दिन बोलाएको भन्दै उनले उठाएको प्रश्नमा नै आंशका गरेका थिए ।

लेखा समितिमा सांसद्हरुले सभापति भरत शाहसँग एजेन्टलाई विज्ञका रुपमा बोलाएको भन्दै आपत्ति जनाए । सरकारले जिटुजी मोडलबाट फ्रान्स वा जर्मनीबाट सेक्युरिटी प्रेस किन्ने निर्णय गरेको थियो ।

यद्यपि २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७३ सालमा बिटुबी मोडलमा ५ वर्षमा सरकारलाई हस्तान्तरण गर्ने गरेर स्वीस कम्पनीले प्रस्ताव गरेको थियो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डमार्फत् प्रक्रिया अगाडि नबढाएर जिटुजी मोडलबाट फ्रान्स वा जर्मनीबाट सो प्रेस किन्ने प्रक्रिया अगाडि बढाएका थिए ।

यसका लागि बिहीबार राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले जर्मनी र फ्रान्सको भ्रमण गरेका थिए ।

सार्वजनिक लेखा समितिमा विज्ञको रुपमा प्रस्तुत भएका मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन् ।

उनले आफू सचेत नागरिक भएको र आर्थिक अनियमिता हुन लागेको कुरा जानकारी गराएका थिए । लेखा समितिको बैठकपछि पत्रकारहरुसँग उनले ६ अर्ब रुपैयाँ यसमा अनियमिता हुन लागेको बताएका थिए ।

सरकारले जिटुजी प्रक्रियाबाट फ्रान्स र जर्मनीको कम्पनीबाट प्रेस किन्ने भनेपछि दुई कम्पनीका एजेन्टहरु बढी सलबलाएका थिए । जसमा फ्रान्सको कम्पनीको नेपालको एजेन्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त माया गर्ने यति होल्डिङ हो ।

यति होल्डिङ एजेन्ट भएको हुँदा फ्रान्सको कम्पनीबाट खरिद हुने कुरा धेरैलाई लागिसकेको थियो ।

नेपालमा सुरक्षित मुद्रण नोट, अन्तःशुल्कको स्टिकर, हुलाक टिकटलगायत छाप्नका लागि सुरक्षित मुद्रण स्थापना गर्न लागिएको थियो ।

स्वीस कम्पनी प्रतिस्पर्धामा नभए पनि मिश्रले आफ्नो लबिङ छाडेका थिएनन् । सार्वजनिक खरिदबाट सरकारले सेक्युरिटी प्रेस खरिद गर्ने निर्णय जिटुजीबाट गर्ने निर्णय गरेपछि मिश्र निकट व्यक्तिले सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

सञ्चारमन्त्रीलाई भेटेका मिश्रले भिडियो खिचेका थिए । जसको भिडियो नआएपनि अडियो आएको थियो । उनले प्रधानमन्त्रीसँग त्यो अडियो पुर्याइसकेको विभिन्न सञ्चारमाध्यममा बताउँदै यसले सञ्चारमन्त्रीलाई महंगो हुने बताएका थिए ।

आखिरमा सञ्चारमन्त्रीलाई मिश्रसँगको कुराकानी महंगो नै भयो । काठमाडौंका ठूला कर्पोरेट संचारमाध्यमले अडियो सार्वजनिक नगरे पनि डिजिटल मिडिया ‘हाम्रा कुरा डटकम’ले सो समाचार बुधबार प्रकाशित गर्यो ।

बिहीबार महेन्द्रनगरबाट फर्केपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिए । अर्थात् मिश्रले भनेजस्तै सञ्चारमन्त्रीलाई त्यो कुराकानी महंगो सावित भयो ।


क्लिकमान्डु