६ महिनामा बीमा कम्पनीले गरे ३ खर्ब बढी लगानी, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीले ३ खर्ब ११ अर्ब ९९ करोड ७८ लाख ९९ रुपैयाँ विभिन्न लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीले २ खर्ब ७३ अर्ब ८७ करोड ३ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले ३८ अर्ब १२ करोड ७५ लाख ५३ हजार रुपैयाँ लगानी गरेका छन् ।

१९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । नेपाल लाइफले ८२ अर्ब ५९ करोड ४० लाख ३६ हजार रुपैयाँ लगानी गरेको बीमा समितिले जनाएको छ ।

धेरै लगानी गर्ने जीवन बीमा कम्पनीमध्ये दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन छ । कर्पोरेसनले ४८ अर्ब ९६ करोड ५० लाख ९१ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

लगानीको तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ । नेशनल लाइफले २८ अर्ब ४७ करोड ४५ लाख ७४ हजार रुपैयाँ लगानी छ । चौथो स्थानमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थाले २३ अर्ब ५१ करोड ५७ लाख ९० हजार रुपैयाँ लगानी गरेको समितिको भनाइ छ ।

सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले यो अवधिमा १ अर्ब ६७ करोड ९३ लाख ४२ हजार रुपैयाँ मात्रै लगानी गरेको छ । त्योभन्दा थोरै बढी लगानी गर्ने जीवन बीमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्सको छ । सानिमाले १ अर्ब ८९ करोड ४४ लाख ३८ हजार रुपैयाँ लगानी गरेको छ ।

यता २० वटा निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक १९ वटा निर्जीवन बीमा कम्पनीको लगानी चालु आर्थिक वर्षको ६ महिनामा ३८ अर्ब १२ करोड ७५ लाख ५३ हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी लगानी गर्नेमा शिखर इन्स्योरेन्स छ ।

शिखरले ३ अर्ब ७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै धेरै लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ । नेकोले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८२ करोड ३६ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ भने निर्जीवन बीमातर्फ सबैभन्दा कम लगानी गर्नेमा जनरल इन्स्योरेन्स कम्पनी छ । जनरलले ८३ करोड ९७ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

बीमा समितिले बीमकको ‘लगानी निर्देशिका २०७५’ जारी गरी बीमा कम्पनीले लगानी गर्ने क्षेत्र पनि निर्धारण गरिसकेको छ ।

समितिले निर्देशिका जारी गर्दै बीमा कम्पनीले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्नका लागि बाटो खोलेको छ ।

उक्त निर्देशिका अनुसार कृषि, पर्यटन, जलस्रोत, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था पर्याप्त छ ।

निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न बाटो खुलेको छ ।

यस्तै, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीले धितोपत्र बोर्डबाट इजाजतप्राप्त विनिमय बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन । जसले गर्दा बीमा कम्पनीलाई लगानी गर्न सहज भएको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीले मुद्दति निक्षेपमा पैसा राख्ने र त्यसको ब्याज खाने, अन्यत्र क्षेत्रमा लगानीयोग्य रकम जान कम भएकाले र उत्पादनमुलक क्षेत्रमा लगानी बढोस भनेर समितिले ‘लगानी निर्देशिका २०७५’ जारी गरेको जनाएको छ । यता जीवन बीमा कम्पनीहरु भने यतिबेला लगानीको उपयुक्त वातावरण र राम्रा कम्पनी खोजी रहेको बताउँछन् ।

जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले नियामक निकाय बीमा समितिले भनेको क्षेत्रमा नै बीमा कम्पनीहरुले लगानी गर्दै आएको बताए ।

बीमा क्षेत्रको लगानी जनताको पैसा भएकाले जुन पायो त्यही क्षेत्रमा लगानी गर्न समस्या हुने र लगानी गर्दा त्यसको चुनौती कतिको हुन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

Investmet of life Insurers
Fiscal Year 2076 2nd Qtr
(Nrs. Lakh)
S.N. Name of Insurers total Investment amount
1 Rastriya Beema Sansthan*                              235,157.90
2 National Life Insurance Co. Ltd.                              284,745.74
3 Nepal Life Insurance Co. Ltd.                              825,940.36
4 Life Insurance Corporation (Nepal) Ltd.                              489,650.91
5 Met Life                              196,416.18
6 Asian Life Insurance Co. Ltd.                              178,483.94
7 Surya Life Insurance Co. Ltd.                                 77,996.00
8 Gurans Life Insurance Co. Ltd.                                 74,359.15
9 Prime Life Insurance Co. Ltd.                              118,828.00
10 IME Life Insurance Co. Ltd.                                 26,840.00
11 Union Life Insurance Co. Ltd.                                 43,160.91
12 Jyoti Life Insurance Co. Ltd.                                 22,423.91
13 Sun Nepal Life Insurance Co. Ltd.                                 31,639.55
14 Reliance Life Insurance Co. Ltd.                                 26,717.88
15 Reliable Life Insurance Co. Ltd.                                 19,408.75
16 Citizen Life Insurance Co. Ltd.                                 31,706.65
17 Sanima Life Insurance Co. Ltd.                                 18,944.38
18 Prabhu Life Insurance Co. Ltd.                                 19,489.83
19 Mahalaxmi Life Insurance Ltd.                                 16,793.42
Total                           2,738,703.46


क्लिकमान्डु