सरकारले दियो २५ उद्योगीलाई सीआईपी सम्मान, कसले कति गरे निर्यात ?



काठमाडौं । अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन सहयोग गर्ने २५ जना उद्योगी व्यवासायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । ४ वर्षदेखि रोकिएको सम्मान मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७४-७५ को योगदानलाई आधार मानेर यो सम्मान दिइएको हो । केन्द्रले विभिन्न १३ विधामा २५ जनालाई सम्मान दिएको हो ।

कार्यक्रममा तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा धागोतर्फ रामभन्द्र संघाई ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँको निर्यात, ऊनी गलैचातर्फ दोर्जे ग्याल्सेन लामा ९४ करोड १७ लाख रुपैयाँ निर्यात, तयारी पोसाकतर्फ राहुलमान शाक्य ८२ करोड ८७ लाख रुपैयाँको निर्यात, पश्मिना सलतर्फ सूर्यकुमार गुरुङ ४८ करोड १४ लाख रुपैयाँ र उनी फेल्ट उत्पादनतर्फ एभरेस्ट फेसनका रविन श्रेष्ठले ६९ करोड ७१ लाख रुपैयाँको निर्यात गरेका छन् ।

भारतर्फ रकमका आधारमा निकासीकर्तामध्येबाट डाबर नेपालका हरकिरत सिंह बेदी १२ अर्ब ७० करोड ७६ लाख रुपैयाँ, दिव्यराज सापकोटा ५ अर्ब ३ करोड ३५ लाख, हुलासकी युक्ती गोल्छा ४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको छ । त्यस्तै, चीनतर्फ रकमका आधारमा निकासीकर्तामध्येबाट पेम्बा दोर्जे शेर्पा ४३ करोड ६० लाख, विश्वराज बस्नेत ३९ करोड ३३ लाख, मछिन्द्र पाण्डे २२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

यस्तै हस्तकला निर्यात तर्फ गोपी कंडेल १७ करोड ३७ लाख, कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ ८३ करोड ८४ लाख, सिजीका निर्वाणकुमार चौधरी ३१ करोड, निर्यात व्यापारतर्फ राजलक्ष्मी गोल्छा ४ अर्ब ९५ करोड ६० लाख, सफ्टवेयर निर्यातमा दीपेश प्रधानले १९ करोड ११ लाख रुपैयाँको निर्यात गरेका छन् ।

उद्योग स्थापना भइ सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने स्वदेशी श्रम र सीप उपयोग गर्ने उत्पादनमुलक उद्योगतर्फ होङशी सिमेन्टका प्रबन्ध निर्देशक लिऊ शु कुवाङ १० अर्ब ७१ करोड रुपैयाँको निर्यात गेका छन् ।

सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगीमा व्यवसायीतर्फबाट पवनकुमार गोल्यान ४ हजार १२८ जनालाई रोजगारी दिएका छन् । यस्तै बैंकिङ प्रणालीमार्फत् रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्राउने कम्पनी-व्यवसायीबाट चन्द्रप्रसाद ढकाल रहेको छन् । उनले ढकालेको आईएमईले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ विप्रेषण भित्र्याएका छन् ।

त्यस्तै, पर्यटन क्षेत्रबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट हायात रिजेन्सी १ अर्ब ३ करोड २५ लाख रुपैयाँ मुद्रा आर्जन गरेको छ । त्यस्तै, युवा उद्यमितर्फ निर्यात व्यापारमा महिलाबाट सुनिता शेर्पा ८ करोड ८८ लाख र पुरुषबाट अक्षय गोल्यान ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै संघका अध्यक्षहरुमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर छन् ।


क्लिकमान्डु