एयरलाइन्स पनि मर्जर र एक्विजिसनमा जान पाउने, ३ विमान र २ अर्ब पुँजी आवश्यक (नीतिसहित)



काठमाडौं । सरकारले एयरलाइन्स कम्पनीमा समेत मर्जर र एक्विजिसनको नीति ल्याउने भएको छ । प्रस्तावित राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा उक्त प्रस्ताव समावेश गरिएको छ ।

मस्यौदामा भनिएको छ, ‘अस्वस्थ प्रतिष्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिइ क्षमता तथा पुँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनीहरु एक आपसमा गाभिने र प्राप्ती गर्ने (मर्जर र एक्विजिसन) क्रियाकलापलाई प्रोत्साहित गरिनेछ ।’

बैंक तथा वित्तीय संस्थामा मर्जर र एक्विजिसनको प्रक्रिया अघि बढेका बेलामा सरकारले वायुसेवा कम्पनीमा पनि उक्त नीति लागू गर्ने तयारी गरेको हो ।

उक्त नीति मन्त्रिपरिषदबाट स्वीकृत भइ संसदमा पेश हुने क्रममा छ । उक्त नीति पारित भए घाटामा गइरहेका वायु सेवा कम्पनीहरु विलिन भएर जानुभन्दा एकआपसमा गाभिएर वा एक्विजिसनको प्रक्रियामा गएर सञ्चालन हुने सक्नेछन् ।

हाल नेपालमा १९ वटा वायु सेवा कम्पनी सञ्चालनमा छन् । जसमध्ये नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान समेत गर्दै आएका छन् । हिमालयले भने आन्तरिक उडान गर्दैैन् ।

३ वटा वायुयान अनिवार्य, २ अर्ब पुँजी
राष्ट्रिय हवाई नीतिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा सञ्चालन गर्न, नियमित वा चार्टर उडान सञ्चालन गर्ने उद्देश्यले स्थापित कम्पनीसँग कम्तीमा ३ वटा वायुयान सधैभरी सञ्चालनमा रहन सक्ने व्यवस्था भएको हुनपर्नेछ उल्लेख छ ।

तर आन्तरिक सेवामा सुगम क्षेत्रमा मात्रै सञ्चालन हुन सक्ने वायुयानबाट मात्रै सेवा सञ्चालन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न माग र पूर्तीको विश्लेषणको आधारमा मात्रै वायुसेवा कम्पनीलाई इजाजत दिने र फ्लीट थप गर्ने व्यवस्था मिलाइने समेत उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय वायुसेवाका लागि कम्तीमा ५० करोड रुपैयाँ चुक्तापुँजी भएको र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्ता पुँजीसहित २ अर्ब रुपैयाँको सञ्चालन पुँजी भएको हुनपर्नेछ ।

त्यस्तै, आन्तरिक वायुसेवाका लागि कम्तीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको र एओसी प्राप्त गर्नुपर्ने भएमा कम्तीमा चुक्ता पुँजीसहित ५० करोड रुपैयाँको सञ्चालन पुँजी भएको हुनपर्ने उल्लेख गरिएको छ ।

साथै हवाई उडान प्रशिक्षण संस्था सञ्चालनको इजाजत प्राप्त गर्न कम्तीमा १० करोड रुपैयाँको चुक्ता पुँजी भएको र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा आएमा चुक्तपुँजी सहित कम्तीमा १५ करोड रुपैयाँ सञ्चालन पुँजी भएको हुनुपर्नेछ ।

साथै, साधारण वायु सेवा जस्तै एयर एम्बुलेन्स, माइक्रोलाइट एयरक्राफ्ट लगायतका इन्जिनबाट सञ्चालित वायुयानबाट सेवा सञ्चालनका लागि इजाजत प्राप्त गर्न कम्तीमा १ करोड रुपैयाँको चुक्ता पुँजी र एओसीका लागि चुक्ता पुँजीसहित ३ करोड रुपैयाँ सञ्चालन पुँजी भएको हुनुपर्नेछ ।

त्यस्तै, प्याराग्लाइडिङ जस्ता इन्जिन नचाहिने प्रविधिबाट सेवा सञ्चालनका लागि इजाजत प्राप्त गर्न कम्तीमा ५० लाख रुपैयाँको चुक्ता पुँजीसहित एओसी आवश्यक परेमा चुक्ता पुँजीसहित १ करोड रुपैयाँ सञ्चालन पुँजी हुनपर्ने व्यवस्था गरिएको छ ।

 


क्लिकमान्डु