योजनामा २१ सय पुलः २० प्रतिशत मात्रै निर्माण, सरकारकै कारण ३७ पुल अलपत्र



काठमाडौं । सडक विभाग अन्तर्गत विभिन्न आयोजनमध्ये देशभरीमा स्थानीय तह समेतमा गरी २०९१ वटा पुलमध्ये बनाउनुपर्ने थियो । जसमध्ये हालसम्म ४२५ वटा पुल निर्माण भएका छन् । बाँकी १६ सय ६६ वटा पुल निर्माणाधिन अवस्थामा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले विकास तथा प्रविधि समितिलाई गराएको जानकारी अनुसार ४९२ वटा पुल डिजाइनको प्रक्रियामा छन् । त्यस्तै ६७ वटाको डिजाइन सम्पन्न भएको छ भने डिजाइन तयार भएर १०३ वटा पुल निर्माण भइरहेका छन् ।

आव २०७६/०७७ सम्म ८९५ वटा पुल सामान्य रुपमा निर्माणधीन रुपमा छन् । विभागका अनुसार अहिलेसम्म ३७ वटा पुल सरकार र ९६ वटा पुल निर्माण व्यवसायीका कारण समस्याग्रस्त रहेका छन् भने ५१ वटा काबु बाहिर रहेका छन् ।

विभागका अनुसार हाल स्थानीय सडक पुल ११३७ वटा छन् । जसमध्ये डिजाइन प्रक्रियामा २३३ वटा पुल छन् । डिजाइन पूरा भइसकेका पुलको संख्या ६४ छ भने डिजाइन पूरा भइ निर्माण भइरहेका पुलको संख्या ६९ वटा छन् ।

बाँकी रहेकामध्ये निर्माणाधीन ५०० वटा छन् । स्थानीय सडकमा १९ वटा पुल सरकारका कारण समस्याग्रस्त रहेका छन् भने निर्माण व्यवसायीसँग सम्बन्धित ६८ वटा रहेका छन् । काबु बाहिरका कारण समस्यामा परेका पुल ४१ वटा हुँदा १४३ वटाको निर्माण सम्पन्न भएको छ ।

३२२ वटा रणनैतिक पुल निर्माण गर्नुपर्ने ३८ वटा डिजाइन प्रक्रियामा रहेको र ३ वटाको डिजाइन सकिएको छ । डिजाइन एन्ड बुइल्डमा ३४ वटा छन् ।

सामान्य निर्माणाधीन पुलमा १४० वटा रहेका छन् भने १४ वटा सरकारी निकायका कारण समस्यामा रहेका छन् । १९ वटा निर्माण व्यवसायीको कारण समस्या रहेका छन् । त्यस्तै १० वटा पुल काबु बाहिर रहेको विभागको भनाइ छ । यो हुँदा पनि ६४ वटा पुल भने निर्माण सकिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत २१९ वटा पुल बनाउनु पर्नेछ । जसमा ७७ वटा डिजाइन सकिएको छ भने ६० वटाको सामान्य निर्माण भइरहेको छ । ४ वटा सरकारी निकाय र ५ वटा निर्माण व्यवसायीका कारण निर्माणमा अवरोध भएको छ । यो अवधिमा हुलाकी राजमार्गका ८५ वटा पुल निर्माण भएको छ ।

मदनभण्डारी राजजमार्ग अन्तर्गत १८२ पुलमध्ये ४४ डिजाइन सकिँदा ७८ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् । मदनभण्डारी राजमार्गमा ६० वटा पुल निर्माण भइसकेको छ ।

मध्यपहाडी लोकमार्गमा १२९ पुल रहेका छन् जसमा ३७ वटाको डिजाइन सकिएको छ भने १५ वटा सामानय निर्माण भइरहेकोका छन् । ४ वटा निर्माण व्यवसायीका कारण अवरोध भएको छन् । मध्यपहाडी लोकमार्गमा ७३ वटा पुल बनिसकेका छन् ।

उत्तर दक्षिण सडक योजनामा ६८ वटा पुल रहेका छन् । जसमा ६८ वटाकै सामान्य निर्माण भइरहेको छ । सरकारले बैदेशिक सहायतामा पनि पुल निर्माण गरिरहेको छ । ३४ वटा पुल रहेकामा ३४ वटाकै सामान्य निर्माण भइरहेको छ ।

बैठकमा सडक विभागका महानिर्देशक केशव शर्माले निर्माणको चरणमा रहेका पुलको निर्माण सम्पन्न नभएसम्म अरु पुल बनाउन थाल्न नहुने बताए ।

‘अहिले निर्माण शुरु भएका पुल पुरा नहुँदा नै नयाँ पुल बनाउन थाल्दा बजेट सुनिश्चिततामा समस्या हुन्छ, अब अति आवश्यक बाहेक नयाँ पुल बनाउने तर्फ नलागौं,’ उनले भने ।

गत वर्ष ३ सय वटा पुलको निर्माण सम्पन्न भएको र चालु आवमा २४३ वटा पुल निर्माण हुने उनको भनाइ छ । उनले स्थानीय तहमा जाने पुललाई कम गरेर राजमार्गमा बन्ने पुलको लागि बजेट विनियोजन गर्न आवश्य रहेको बताए ।

बैठकमा समितिकी सभापति कल्याणी खड्काले सरकारका कारण किन ३७ वटा पुल बन्न नसकेको सबैलाई जानकारी गराउन आवश्यक रहेको बताइन ।

ती पुल विभाग, अर्थ मन्त्रालय, भौतिक मन्त्रालय कसको कारण नबनेको हो त्यसो जानकारी गराए समितिले त्यसमा सहयोग गर्ने उनको भनाइ छ । उनले कालिमाटीमा पप्पु कन्ट्रक्सनले बनाएको पुलको अवस्थाको बारेमा पनि जानकारी गराउन आग्रह गरिन ।

‘कालिमाटीमा पप्पु कन्ट्रक्सनले बनाएको पुलमा गाडीहरू पार्किङ गरेर राखेकाे देखिएको छ, त्यसबारेमा अहिलेसम्म के भएको छ जानकारी गराउनु पर्यो, त्यस विषयमा जनताले प्रश्न गरे हामीले जवाफ दिन पाएका छैनाैं, समस्यामा परेकाे हो भने समाधानको बाटाे कसरी खोज्ने हो, त्यसमा  समितिले सहयोग गर्न पनि सक्छ,’ सभापति खड्काले भनिन् ।

 


क्लिकमान्डु