बुलिस ट्रेण्डमा सानिमा बैंकको सेयर मूल्य (प्राविधिक विश्लेषण)



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १६.८४ प्रतिशतले वृद्धि गरी १ अर्ब १४ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो ।

बैंकले खुद ब्याज आम्दानी, अन्त सञ्चालन आम्दानीमा भारी वृद्धि तथा इम्पेरिमेन्ट चार्ज १७ प्रतिशतले घटाएर नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख रुपैयाँले बढेर २ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । इम्पेरिमेन्ट चार्ज २६ करोड ३६ लाख रुपैंयाबाट २१ करोड ८२ लाख रुपैयाँ घटेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ ।

बैंकको खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शीर्षकको जगेडा कोष व्यवस्था पश्चात बैंकले ९५ करोड ९ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि–प्रोफिट)आर्जन गरेको छ । बैंकले कूल १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेकोमा कूल २६ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको एप्रोप्रेसनमा व्यवस्था गरेको छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले एप्रोप्रेसन अन्तर्गत विभिन्न शीर्षकमा साधारण जगेडामा २२ करोड ९४ लाख, डिबेन्चर रिडेम्सन रिजर्भमा २ करोड ६४ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा १ करोड १४ लाख ७४ हजार तथा बिनिमय उतारचढाव कोषमा ७ लाख ९१ हजार छुट्टाएको छ । त्यस्तै कुल रेगुलेटरी रिर्जभ कोषमा ७ करोड १६ लाख ४४ हजार छुट्टाएको छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि–प्रोफिट बैंकले सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

पुस मसान्तसम्ममा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ । त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटर्न अर्निङ १ अर्ब १ करोड ७९ लाख रुपैयाँ छ । सो अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानीअनुपात १३.१२ गुणा कायम छ । निष्क्रिय कर्जा ०.१७ प्रतिशतले बढेर ०.४१ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर ९.२९ प्रतिशत र स्प्रेडदर ४.१७ प्रतिशत छ ।

फ्लोरसिट

फ्लोरसिटबाट हेर्दा करिब एक महिनाको समय अवधिमा ब्रोकर न १४, ४, ४४ तथा ५७ बाट सबैभन्दा बढी खरिददारी भएको छ भने ब्रोकर न ३४, १७, ५८ तथा ४ बाट बिक्री भएको छ । त्यस्तै बजारमूल्य ३०५ तहमा १ लाख २५ कित्ता शेयर कारोबार भएको छ । यी ३०५ तथा ३५० मूल्य बलियो अवरोध छ ।


प्राविधिक विश्लेषण

मैनबत्ती आकृति विश्लेषण

बिहीबार कारोवार बन्द हुँदा माथि र तल स्याडोसहितको स्पिनिङ टप मैनबत्ति बनेको छ । यसले पर्ख र हेरको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

साताको अन्तिम दिन कारोबार बन्द हुँदा आरएसआई ७४.४५ बाट ७१.८४ स्केल आएको छ । यसले थोरै सुधार भए पनि बुलिश मोमेटममा रहेको संकेत गर्दछ । एसआई रेखा ० देखि १०० स्केलभित्र मुभ हुन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

गत महिना अन्त्यमा एमएसीडले सिग्नल लाइनलाई सेन्ट्रललाइनभन्दा माथि क्रस भएको थियो । यसले बढ्ने संकेत गरेको थियो । सानिमा बैंकको मूल्य ३१२ बाट ३६० समय पुग्यो । एमएसीडीको हिस्टोग्राम पनि सेन्ट्रललाई माथि बढेकाले अझ पनि बढ्ने संकेत गर्दछ । एमएसीडीमा २ वटा रेखा हुन्छन् जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

कमोडिटि च्यानल इन्डेस्क

गतहप्ता कारोबार बन्दसँगै कमोडिटि च्यानल इन्डेस्कले धनात्मक ३४५ को स्केलबाट घटेर धनात्मक १८८ को स्केलमा आएको देखाउँछ । यसले बैंकको पनि पर्ख र हेरको संकेत गर्दछ । सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दामाथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दातल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिन्जर ब्याण्ड

सानिमा बैंकको चार्ट हर्दा मूल्यले माथिल्लो ब्याण्ड छेडेर माथि गएकोमा पुनः फर्किएको छ । बोलिन्जर ब्याण्ड भोल्युममा आधारित प्राविधिक सूचक हो । जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ ।

निस्कर्ष

केही समय यता नेप्से परिसूचक बढेसंगै सबै समूहमा वृद्धि देखिएको छ । समग्र बजार उकालो लागेसँगै सानिमा बैंकको मूल्य ३०० रुपैंयादेखि ३ सय ४७ रुपैंया पुग्यो । पुस मसान्तमा सानिमा बैंकले १६.८४ प्रतिशतले वृद्धि गरी १ अर्ब १४ नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले खुद ब्याज आम्दानी, अन्त सञ्चालन आम्दानीमा भारी वृद्धि तथा इम्पेरिमेन्ट चार्ज १७ प्रतिशतले घटाएर नाफा बढेको हो । चालु आवको दोस्रो त्रैमासमा वितरणयोग्य नाफाबाट सेयरधनीलाई करिब २१ लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्छ ।

फोबोनेसी प्रोजेक्सनबाट हेर्दा अहिले ६१ प्रतिशतले टेवालिएको देखिन्छ । च्यानल आकृतिबाट ३७५ तह बलियो टेवा रहेको छ । गत बिहीबार तलमाथि स्याडो सहितको बुलिस मैनबत्ति बनेको छ ।

आरएसआई ७१.८४ तथा एमएसीडीमा डिसेम्बर महिनाको अन्त्यमा बुलिस क्रश गरेको थियो भने हिस्टोग्राम पनि सेन्ट्रललाइन माथि बढेको छ । २० दिने मुभिङ एभरेज रेखाभन्दा बैक मूल्यमाथि छ । यसअर्थमा सानिमा बैंकको स्ट्रेन्थ तथा बुलिस मोमेन्ट्ममा रहेको संकेत गर्दछ ।

तथ्यांकको आधारमा गरिने प्राविधिक विश्लेषणको आधारमा हुने लगानीको लाभहानीको जिम्मेवारी क्लिकमाण्डूले लिने छैन


क्लिकमान्डु