रुदीले उत्पादन थाल्दा, शुरु भएन ४८ मेगावाटको खिम्ती–२, पैसा जुटाउनै भयो सकस



काठमाडौं । शनिबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा ६.६ मेगावाट क्षमताको एक जलविद्युत् आयोजनाको विद्युत् जोडियो । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोलाबी जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरु गरेको हो ।

सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ ।

सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन शुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

निर्माण शुरु भएको करिब २ वर्षमै उत्पादन शुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए । तर सोही कम्पनीसँग जोडिएको अर्को कम्पनीले निर्माण गर्न लागेको एक आयोजना भने पैसा जुटाउन नसक्दा समस्यामा परेको छ । जसका कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।

कूल ४८.८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत आयोजना पिपल्स हाइड्रोले निर्माण गर्न लागेको हो । सो आयोजनामा समेत बिन्दवासिनी समूहले लगानी गरेको छ । सोही कारण पिपल्स र बिन्दबासिनीको सम्बन्ध जोडन खोजिएको हो ।

सानो खुसी एकातिरबाट आउँदा अर्कोतर्फ भने दुःखी हुनुपर्ने अवस्था कम्पनीका लागि देखिएको छ । यद्यपि आयोजना प्रवद्र्धक भने पैसा जुगाड गर्न लागिपरेको बताउँछन् ।

तर बैंक तथा वित्तीय संस्थाले लगानीका लागि तत्परता नदेखाउँदा आयोजना समस्यामा परेको भने साँचो हो ।

हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती भन्दा माथिल्लो तटमा निर्माण गर्न लागिएको आयोजनामा लगानी जुटन समस्या देखिएको छ । दोलखा र रामेछापमा निर्माण शुरु हुन लागेको आयोजना गत कात्तिकदेखि नै निर्माण शुरु गर्ने तयारी गरिएको थियो ।

आयोजना पिपुल्स हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको हो । आयोजनामा चिनियाँ लगानी भित्र्याउने भनेर प्रवद्र्धक कम्पनीले अघिल्लो वर्ष नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

इपिसी मोडलमा निर्माण गर्ने सो आयोजनामा चिनियाँ कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्ससँग २ वर्षअघि ८ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता समेत गरिएको थियो ।

चिनियाँ ठेकेदारलाई शुरुमा भुक्तानी गर्नुपर्ने ८८ करोड बराबरको रकम नपाउँदा आयोजना निर्माण हुन सकेको छैन । जलविद्युत् आयोजनामा लागनी गर्न बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी रकम लगानी भइसकेको तथ्य पनि सार्वजनिक भएको छ ।

चिनियाँ कम्पनीसँग भएको सम्झौता अनुसार स्रोत, उपकरण, जनशक्ति उपलब्ध गराउनुपर्छ । यस्तै पेश्की स्वरुप कुल लगानीको १० प्रतिशत रकम दिनुपर्ने सर्त छ । तर पेश्की दिने रकम नै नभएका कारण आयोजना निर्माणमा जान नसक्ने अवस्थामा पुगेको हो ।

आयोजनाका प्रवद्र्धक पैसा जुटाउन विभिन्न बैंक तथा वित्तीय संस्थामा पुगेपनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।

कम्पनीका इन्जिनियर रामहरि शर्माका अनुसार पैसाको जोगाड हुन नसक्दा आयोजना निर्माणमा ढिलाइ भइरहेको छ । पेश्कीबापत दिने एकमुष्ठ रकम जुटाउन असफल भएपछि कम्पनीले किस्ताबन्दीमा रकम उपलब्ध गराएको छ । १० प्रतिशत पेश्की रकमलाई ५/५ प्रतिशत गरेर पठाइएको छ ।

पैसा नपाएको भन्दै चिनियाँ कम्पनीले आयोजना स्थलमा क्याम्प समेत बनाएको छैन ।

प्रवद्र्धक कम्पनीले २०७३ मा निर्माण अनुमतिपत्र लिएको थियो । यस्तै २०७५ वैशाखमा नै सम्झौता भएको थियो । तर हालसम्म काम शुरु हुन सकेको छैन ।


क्लिकमान्डु