नेपाल भारत सिमावर्ती बजारमा भारुको माग घट्यो, १६५ पुगेको दर १६० मा झर्यो
काठमाडौं । अनौपचारिक बजारमा १६५ सम्म पुगेको भारतीय रुपैयाँको दर अहिले घटेको छ ।
नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) बीच भएको सम्झौताअनुसार सन् १९५७ देखि नै भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा सटही दर कायम छ । ६ महिना अगाडिसम्म १ सय भारुको अनौपचारीक बजारमा १ सय ६३ देखि १ सय ६५ रुपैयाँ र औपचारीक बजारमा राष्ट्र बैंकले तोकेको खरिद बिक्रीदरमा बट्टा सटहीको कारोबार भइरहेको थियो ।
तर ६ महिनायता भने सरकारी रेटमा नै सीमावर्ती क्षेत्रमा बट्टा सटहीको कारोबार भइरहेको मेची मनी एक्सचेन्जर संघका अध्यक्ष विष्णु मैनालीले क्लिमाण्डूलाई बताए ।
‘राष्ट्र बैंकले तोकेको रेटमा बिक्री गर्नु त पर कै कुरा त्योभन्दा तल झर्ने अवस्था अहिले सिर्जना भएको छ, अहिले भारु खरिद गर्ने मान्छे नै छैनन्,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले भारुको खरिद मूल्य १ सय भारुको १ सय ६० रुपैयाँ १५ पैसा र बिक्री मूल्य १ सय ६० रुपैयाँ ४० पैसा तोकेको छ । तर हाल सीमावर्ती क्षेत्रमा भारु १ सयको नेरु १ सय ६० रुपैयाँमा खरिद गर्न व्यक्ति पाउन गाह्रो भएको अध्यक्ष मैनालीको भनाइ छ ।
भारतमा भारु ५ सय र १ हजार दरका भारु नोट चलनचल्तीमा प्रतिबन्ध भएको करिब ३ वर्ष हुन लाग्यो । भारत सरकारले यी दरका भारु नोटमा प्रतिबन्ध गरेपछि नेपालमा पनि यसको चलनचल्ती रोकिएको छ । त्यसपछि नेपाल राष्ट्र बैंकले सबै दरका नोट वितरण बन्द गर्यो ।
नेपालमा ठूला भारुदरका नोटमा प्रतिबन्ध भएपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण र खुद्रा व्यापारीहरु जतिसक्दो भारु संकलन गरेर राख्न थाले । सीमावर्ती क्षेत्रमा नेपालीभन्दा बढी भारु नै चलनचल्तीमा हन्छ । यी क्षेत्रमा सर्वसाधारण र खुद्रा व्यापारीले पनि भारु नोट सटही गर्ने हुँदा र भारतले जीएसटी लागू गरेपछि बट्टा सटहीको घटेर सीमावर्ती क्षेत्रमा मनी एक्सचेन्जर व्यवसाय सुस्ताएको व्यवसायीहरुको भनाइ छ ।
‘खुलायम भारु खरिद बिक्री हुँदा मनि एक्चेन्जरमा आएर भारु साट्ने मान्छे हुँदैनन्’ झापा मनिएक्चेन्जरका कुमार ओझाले क्लिकमाण्डूसँग भने ‘नोट बन्दीपछि भारतले जीएसटी लागू गरेसँगै ठूला कारोबार बैंकिङ च्यानलमार्फत हुन्छ भने सानोतिनो कारोबारका लागि बाटैमा सस्तोमा भारु सटही गरिदिने धेरै हुन्छन् ।’
राष्ट्र बैंकले भारु बिक्री वितरण रोक लगाउनुको साथै भारु नोट निक्षेपको रुपमा जम्मा गर्न जटिलता थपेपछि बजारमा आपूर्ति बढेको कारण यसको मूल्यांकन घटेको उनले बताए ।
भारु नोट सटही नै गरेर जीविको पार्जन गर्दै आएका मनिएक्चेन्जर व्यवसायीको रोजीरोटी खोसिएको जय मनिएक्चेन्ज बिराटनगर जोगवनीका जुगेर अलामको भनाइ छ ।
‘पैसा सटहीको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिएको संस्था भन्दा अवैध रुपमा बट्टा सटही गर्नेहरुको भिड बढी छ,’ उनले क्लिकमाण्डूलाई बताए ।
राष्ट्र बैंकले मनिएक्सचेन्ज कारोबारमा ५ हजारभन्दा बढीको कारोबारमा व्यक्तिगत विवरण खुल्ने आधिकारीक प्रमाणपत्रको प्रतिलिपि लिन निर्देशन दिएको छ । कतिपयले मनी एक्सचेन्जमा प्रक्रिया पुर्याएर सटहीको कारोबार गर्न नमानेर व्यापारीहरुबाट कारोबार गर्नेको माध्यमबाट नेपालमा भारतीय कालोधन र जाली भारु नोट भित्रिने मनी एक्चेन्जर व्यवसायीहरुको बुझाई छ । राष्ट्र बैंकबाट मनी एक्सचेन्जको अनुमती नलिएर सस्तोमा बट्टा सटहीको कारोबार गर्नेलाई छाबिन गरी कारवाही गर्न उनीहरुले माग गरेका छन् ।
सरकारले भारु सटहीको लागि ३ वर्ष बितिसक्दापनि भारत सरकारसँग प्रभावकारी रुपमा छलफल गरी समस्याको समाधान निकाल्न नसक्दा व्यापार व्यवसाय गर्न असजह भएको नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवालले बताए ।
‘सबैभन्दा बढी सामान आयात निर्यात गर्ने गाडीको चालकलाई ढाट तिर्न हुन्छ,’ उनले भने ‘ठुलो भुक्तानीमा समस्या नभएपनि पेट्रोल पम्प, गाडी मर्मत केन्द्र र डाटमा भारु नै दिनु पर्ने हुँदा समस्या छ ।’ सानो तिनो समस्याले सामान ढुवानी समयमा नै नहुने हुँदा व्यापार व्यवसाय प्रभावित भएको उनको भनाई छ ।
सीमावर्ती क्षेत्रमा अवैध भारुको कारोबार गर्ने व्यक्तिलाई कारर्वाही गरिरहेको इलाका प्रहरी कार्यलय झापाका प्रहरी नायव उपरिक्षक (डीएसपी) महेन्द्र श्रेष्ठ क्लिकमाण्डूलाई बताए ।
‘गत महिना ४ लाख भारु सहित खुल्ला अवैध बट्टा कारोबार गर्ने १ जनालाई प्रक्राउ गरी आवश्यक कारबाही गर्यौ,’ उनले भने ‘सुचनाको आधारमा छानबिन गरी कारवार्ही गर्ने काम गरिरहेका छौँ तर बन्द कोठामा वा पसल भित्र भएको कारोबार रोक्न भने गाह्रो हुन्छ ।’ बजारमा भारु नोट प्रसस्त मात्रमा पाइनाले अवैभ कारोबार बढेको संकेत भएको उनको भनाई छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैर कानुनी रुपबाट कमाएको कालो र नक्कली नोट नियत्रणमा ल्याउने भन्दै सन् २०१७ नोभेम्बर ९ बाट भारु ५ सय र १ हजार दरका नोट प्रचलनमा प्रतिबन्ध लगाए । मोदी सरकारले ठुला दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि नेपालको बैंकिङ प्रणलीमा रहेको ८ करोड भारु राष्ट्र बैंकमा थन्किएको राष्ट्र बैंकका निर्देशक तथा विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख गुरुप्रसाद पौडेलले बताए ।
‘अर्थमन्त्रालय र राष्ट्र बैंकले आरबीआईमा भारु सटही लागि पत्राचार गरिरहेका छौ,’ उनले क्लिकमाण्डुसँग भने, ‘राष्ट्र बैंकको अनुरोधमा नै प्रधानमन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्री भारत भ्रमणमा जाँदा त्यहाँको अर्थमन्त्रीसँग भारु सटहीको कुरा भएको छ ।’ उनले भने ‘नोटबन्दीको विषय अब राष्ट्र बैंकभन्दा माथि पुगिसकेको छ’ तर स्थानिय स्तरमा भारु नोट सम्बन्धि हुने गतिविधि माथि भने राष्ट्र बैंकले छानविन गर्न स्थानिय प्रशासन र मनिएक्सचेन्जरहरुसँग समन्वयन गरिरहेको उनले बताए । इजाजत नलिएर बट्टा सटहीको कारोबार गरेमा अवैध ठहरिने र राष्ट्र बैंकले तोकेको दरभन्दा बढी वा थोरैमा भारु सटहीको कारोबार गर्नेलाई पनि छानबिन गरी कारबाही गरिने उनको भनाई छ ।