आजदेखि बैंकमा लागू भयो ‘गो–एएमएल’, बैंकमा चेक जम्मा गर्न जाँदा ३ पुस्ते विवरण चाहिने



काठमाडौं । वाणिज्य बैंकमा बुधबार (आज)देखि गो–एएमएल प्रणाली लागू भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–एएमएल प्रणालीमा रही कारोबार गर्न निर्देशन दिएको थियो ।

सोही अनुसार वाणिज्य बैंकहरुले आजदेखि प्रणालीबाट कारोबार शुरु गरेका हुन् । राष्ट्र बैंकले लामो समयको प्रयासपछि यो प्रणाली आजदेखि लागू गर्न सफल भएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियमअनुसार गत महिना बैंक तथा वित्तीय संस्थालाई गो–एएमएल सफ्टवेयर राख्न निर्देशन दिएको थियो ।

निर्देशन अनुसार माघ १ गतेदेखि वाणिज्य बैंक र आगामी २०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ । गो-एएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण निवारणका लागि ल्याइएको सफ्वेयर हो ।

वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार/क्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा विद्युतीय माध्यम गो–एएमएलमार्फत पेश गर्नेछन् ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा हुन सक्ने वित्तीय लगानी रोक्न ल्याउन यो प्रणाली लागू गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूलाई बताए ।

‘सम्पत्ति शुद्धीकरण र वित्तीय पारदर्शिताका लागि यो व्यवस्था लागू गरिएको हो,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा हुने सम्पूर्ण कारोबारको जानकारी अब राष्ट्र बैंकले यो प्रणालीमार्फत लाइभ हेर्न सक्छ ।’

शंकास्पद कारोबार वा क्रियाकलापको रिपोर्ट राष्ट्र बैंकले सजिलै हेर्ने र थाहा पाउने हुँदा अब बैंकिङ कारोबार सुरक्षित हुने उनको विश्वास छ ।

हालसम्म राष्ट्र बैंकमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक १० लाखभन्दा माथिको कारोबारमात्र विवरण पठाउने गरेका थिए । तर अब राष्ट्र बैंकले आफ्नो मातहतका सबै बैंक तथा वित्त कम्पनीहरुको कारोबारको विवरण स्वयमः हेर्न सक्छ ।

बैंकिङ कारोबारमा गो-एएमएलको प्रभाव
यो सफ्टवेयर राखेपछि कुनै पनि व्यक्तिले कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्नेछ । त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट चाहिन्छ ।

यस्तै, गो–एएमएल सफ्टवेयरमा बैंकले आफ्ना नयाँ वा पुराना सम्पूर्ण ग्राहकको विवरण अपडेट गराउनु पर्नेछ । यसकारण अब बैंकहरुले ग्राहकसँग केही कागजपत्र अपुरो नै राखेर खाता खोलेको भएमा ती अपूरा कागजपत्र बैंकले पुनः माग गरिने राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् ।

‘केवाइसीमा माग गरिएको कुनै एक विवरण पनि बुझाउन बाँकी रहेछ भने यो ग्राहकको विवरण गो–एएमएल सफ्टवेयरमा अपडेट हुँदैन,’ उनले भने, ‘बैंकहरुले सबै ग्राहकलाई त्यस्ता अपूरा कागजपत्र वा विवरण फोनमार्फत् वा प्रत्यक्ष रुपमा माग गर्न पनि हामीले निर्देशन दिइसकेका छौँ ।’

गो–एएमएल सफ्टवेयरको माध्यमबाट मुलुकको वित्तीय जानकारी संकलन गरी विश्लेषण गर्न सघाऊ पुग्ने उनले बताए ।

हाल आवश्यक कागजात बैंकहरुले भौतिक रुपमा वा इन्टरनेटको माध्यममार्फत् बुझाउँदै आएका छन् । तर अब सबै विवरण सिस्टममा हुने भएकाले छुट्टाछुट्टै विवरण बुझाइरहनु पर्ने झन्झट रहँदैन । तर बैंकका कर्मचारी र ग्राहकले भने बढी समय खर्चिनु पर्ने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले क्लिकमाण्डूलाई बताए ।

‘गो–एएमएललाई चाहिने विवरण बैंकहरुले राख्नु पर्ने हुँदा बैंकिङ कारोबारमा लाग्ने थपिएको छ,’ उनले भने ‘प्रविधिको प्रयोग गरी सम्पत्तिको शुद्धीकरण गर्ने खोजिएको हुँदा कर्मचारीले सिस्टममा ग्राहक वा कारोबारको विवरण राख्दाँ धेरै ध्यान दिनुपर्ने हुन्छ ।’

पुराना ग्राहकहरुलाई गो–एएमएललाई आवश्यक पर्ने ग्राहकको विवरण माग गरिरहेको उनले जानकारी दिए ।

गो–एएमएलमा गएपछि बैंकमा ग्राहकले जम्मा गर्ने रकमको स्रोत खुलाउनु पर्ने हुन्छ । यसैगरी प्रक्रिया कार्यान्वयन भएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरक–फरक शाखा र समयबाट डिपोजिट भए पनि देखिनेछ । अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण राष्ट्र बैंक पठाइने गरेको छ ।

गो-एएमएल सफ्टवेरको प्रयोग कसरी ?
बैंक तथा वित्तीय संस्थाले गो-एएमएलमा बैंकहरुले ग्राहकको, खातामा रकम पठाउने व्यक्ति वा संस्थाको विवरण तयार गर्नुपर्नेछ । साथै, एउटै व्यक्ति वा संस्थाले यस प्रकृतिको कार्य ग्राहक पहिचान विवरणसँग मेल नखाने गरी पटक पटक गरेको पाइएमा वित्तीय जानकारी इकाइलाई जानकारी गराउनु पर्नेछ ।

आवश्यक विवरणहरु नखुलेको अथवा कारोबार वा पेश गरिएको विवरण र व्यक्ति शंकास्पद लागेका कुनै खाता कारोबारको विवरण रोकेर तत्काल सम्बन्धित निकायमा जानकारी गराउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफूले जारी गरेका विद्युतीय उपकरण वा कार्डको विदेशमा भएको प्रयोग ग्राहकले आफूलाई दिएको जानकारी वा उद्देश्य अनुरुप भए-नभएको र विदेशी बैंक वा वित्तीय संस्थाले जारी गरेको विद्युतीय उपकरण वा कार्यको प्रयोग आफ्नो संयन्त्र मार्फत् भएको प्रयोगको समेत निरन्तर अनु्गमन गर्नु पर्नेछ ।

यसरी अनुगमन गर्दा शंकास्पद देखिएमा त्यस्तो विद्युतीय उपकरण वा कार्डको प्रयोगमा रोक लगाई वित्तीय जानकारी इकाइलगायत सम्बन्धित अन्य निकायमा तत्काल जानकारी गराउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कुनै व्यक्ति वा संस्थाले सीमाभन्दा बढी स्वदेशी वा विदेशी मुद्राको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनु पर्नेछ ।

साथै कारोबारका लागि छुट्टाछुट्टै थ्रेस होल्ड ट्रान्ज्याक्सन रिपोर्ट (टिटिआर) पेश गर्नुपर्नेछ । अब सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा जान्छ ।

अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्नेगर्छ । गो-एएमएलमा गएपछि १० लाखभन्दा बढी कारोबार संकलन गर्ने, झिक्ने तथा ट्रान्स्फर गर्ने) रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ ।

दैनिक १० लाखभन्दा बढीको कारोबार गर्ने सर्वसाधारणको टीटीआरमार्फत् सुक्ष्म निगरानी हुनेछ । यसमा एकै व्यक्तिको खातामा धेरै व्यक्तिले एकै दिनमा पटक पटक गरी १० लाखभन्दा बढी रकम झिक्ने वा डिपोजिट राख्ने काम गर्यो भने त्यो विवरण सिधै वित्तीय जानकारी इकाइ (एफआईयु)मा जानेछ ।


क्लिकमान्डु