सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च



काठमाडौं । कुनै पनि सडकमा समयमै मर्मत गर्दा ५ डलर लाग्ने र त्यही सडकमा खाल्डा परिसकेपछि ८० डलर पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । नेपाल सरकारले पनि खाल्डा पर्नुभन्दा पहिले नै खाल्डा पर्न सक्ने सम्भावित स्थानमा मर्मत गर्ने नीति लिएको छ ।

तर त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि सडक मर्मतमा खर्च भइरहेको छ भने जनताले पनि सास्ती भोगिरहेका छन् ।

सरकारले सडक निर्माणमा मात्रै ध्यान दिँदा मर्मत ओझेलमा परेको छ । एकातिर सडक मर्मतका लागि माग भएबमोजिम बजेट विनियोजन भएको छैन भने अर्कातिर विनियोजित बजेट पूर्णरूपमा खर्च हुन सकेको छैन ।

गत वर्षभन्दा चालू आवमा सडक मर्मतमा बजेट बढेको छ । नयाँ संरचनानुसार सङ्घीय सरकार अन्तर्गतका निकायले स्थानीय सरकारलाई सोझै रकम दिन मिल्ने नमिल्ने भन्ने पनि अन्योल छ । डिभिजन सडक कार्यालय कुनै नेपाल सरकारकै मातहत त कतिपय प्रदेश सरकार मातहत जाँदा पनि सडक मर्मतमा अन्योल छ ।

राम्रो अवस्थामा रहेको सडकमा थोरै परिमाणमा मात्रै ढुङ्गा, गिटी झर्दा त्यहीँबाटै सडक खाल्डापर्ने गरेको छ । एउटा सवारीसाधनले खसालेको ढुङ्गा, गिटी अर्को सवारीसाधनको टायरले थिच्दा प्वालपर्ने र अर्कोले थिच्दै जाँदा ठूलै खाल्डा पर्ने गरेको छ । सामान्यतया नेपालमा सडक कालोपत्रको आयु ६र७ वर्ष हुने प्राविधिक बताउँछन् । त्योभन्दा धेरै वर्षसम्म पनि मर्मत नहुँदा सडकमा खाल्डा बढिरहेको छ ।

समयसमयमा मर्मत नहुँदा सडक पूर्णरूपमा बिग्रिएर पुनःनिर्माण नै गर्ने अवस्थामा पुग्ने सडक बोर्ड नेपालका पूर्वअध्यक्ष पूर्ण कडरियाले बताए । सडकमा खाल्डा परेपछि पुर्ने नभएर खाल्डा पर्दैछ भनेर पहिले नै सम्भार गर्नुपर्ने उनको सुझाव छ ।

ुखाल्डा पर्नुअघि थोरै खर्चमा मर्मत हुने भए पनि त्यही सडक केही समयपछि ठूला खाल्डाका कारण मर्मतमा धेरै खर्च लाग्छ,’ उनले भने ।

सडकमा रहेका खाल्डाखुल्डीले सवारीसाधन सञ्चालन खर्च बढाइरहेको उनको भनाइ छ । सडकमा खाल्डाका कारण छोटो दूरी पार गर्नसमेत लामो समय लाग्दा सवारीसाधन सञ्चालन खर्च बढेको हो ।

सवारीसाधन प्रतिघण्टा ६० किलोमिटर गुड्ने गरी सडक तयार हुँदा यो खर्च कम गर्न सकिन्छ । सडक बोर्डले सडक मर्मतका लागि अन्तर्राष्ट्रिय मान्यतानुसार पाउनुपर्ने रकम अर्थ मन्त्रालयले दिनुपर्नेमा उनको जोड छ ।

‘सवारीसाधनको पार्टपूर्जा ल्याउँदा आउने राजश्वबाट पनि सडक मर्मतका लागि सरकारले रकम छुट्ट्याउनु पर्छ,’ उनले भने ।

सडकमा निर्माण सामग्री खस्दा त्यसले सडकमा पिकले खन्दा भन्दा सजिलै खाल्डा बनाउने शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । स्विटरमा एक ठाउँबाट धागो निस्कँदा त्यहीँबाटै सिङ्गो स्विटर उध्रिए जसरी नै सडकमा कुनै एक ठाउँमा खाल्डा पर्दा त्यसले समयमै मर्मत नहुँदा पूरै सडक बिगार्छ । कुन सडकमा सवारीसाधनको चाप कति हुन्छ भन्ने आँकलन नगर्दा कतिपय सडकमा चाप अत्याधिक छ ।

‘कम चौडाइ भए पुग्ने ठाउँमा सडक बढी चौडाइको छ तर जहाँ सवारी चाप बढी छ त्यहीँ सडक साँघुरो छ,’ उनले भने ।

मर्मतको काम सडक विभाग र निर्माण व्यवसायी कसैको पनि प्राथमिकतामा नपरेको पूर्वसचिव तुलसी सिटौलाले बताए । काम छरिएर टुक्राटुक्रा हुँदा निर्माण व्यवसायीले ठेक्का आह्वान गर्दा आवेदन नदिने गरेको उनको भनाइ छ ।

सडक मर्मत समयमा नभएर ढिलाइ हुँदा कयौं गुणा बढी रकम खर्च हुने भएकाले समयमै मर्मत गर्नुपर्नेमा उनको जोड छ । सडकको आयु बढाउने प्रविधि भित्र्याउन पनि उनले  सुझाव दिए ।  सडकसँगै सडक पुल र सुरुङमार्गको मर्मतको समेत योजना बनाउनुपर्ने उनी बताउँछन् ।

सडक विभागका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले सडक मर्मतका लागि छुट्ट्याइने रकम चालू आवमा बढ्नु सकारात्मक कुरा भएको बताए । गत वर्षभन्दा यो वर्षको बजेट बढ्नु सडक मर्मतका हिसाबले आशालाग्दो कुरा भएको उनको भनाइ छ ।

बर्सेनि सडकको मर्मत हुँदै जाँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ धेरै नभए पनि त्यो नहुँदा मर्मत गर्नुपर्ने सडकको लम्बाइ बढ्दै जाने उनले बताए । समयमै सडक मर्मत गर्दा कम समय र खर्च लाग्ने भए पनि त्यसमा ढिलाइ हुँदा दुवै बढ्ने उनले बताए ।

‘केही वर्ष पहिलेसम्म सडक मर्मतका लागि रकम नभए पनि अहिले अवस्था सुध्रिएको छ,’ उनले भने ।

सडक बोर्ड नेपालले भने डिभिजन सडक कार्यालय सडक मर्मतभन्दा नयाँ सडक निर्माणमा लाग्ने गरेको जनाएको छ । नयाँ सडक निर्माणको जिम्मेवारी आयोजनालाई दिएर सरकारले डिभिजनलाई मर्मतको मात्रै जिम्मा दिनुपर्ने बताउँदै आएको छ ।


क्लिकमान्डु