निजी क्षेत्रले बनायोे ६१ वटा चार्जिङ स्टेशन, प्राधिकरणको कहिले ?



काठमाडौं । निजी क्षेत्रका विभिन्न ३ कम्पनीले राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण गरेर सेवा नै दिन थाल्दा समेत नेपाल विद्युत् प्राधिकरणको भने हालसम्म तयारीमा नै रहेको छ ।

सम्बन्धित कम्पनीका अनुसार हालसम्म निजी क्षेत्रले मात्रै ५८ वटा चार्जिङ स्टेशन निर्माण गरिसकेका छन् । विद्युतीय सवारीको बढ्दो प्रयोगका कारण चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्र अग्रसर देखिएको हो ।

निजी क्षेत्रले विशेष गरी ४ प्रकारका सवारी साधन चार्ज गर्न मिल्ने त्यस्ता स्टेशन बनाएका छन् । उनीहरुले सेवा समेत आफ्नै सवारी साधनको चार्ज गरेर शुरु गरिसकेका छन् ।

विद्युतीय सवारी प्रयोग गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएपछि त्यस्ता स्टेशन निर्माणमा समेत चासो बढेको हो ।

विशेष गरी सुन्दर यातायात, बिवाइडी, लक्ष्मी इन्टरनेशनल र एआइए मोटरले आफ्नो ब्राण्डको विद्युतीय गाडी खरिदकर्तालाई निशुल्क सेवा दिन चार्जिङ स्टेशन नै निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।

त्यसबाट निजी क्षेत्र नै चार्जिङ स्टेशन निर्माणमा अग्रणी स्थानमा रहेको देखाएको छ ।

प्राधिकरणले राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेपनि त्यो प्रक्रियामा नै रहेको छ ।

निजी क्षेत्रले बनाएका चार्जिङ स्टेशनमा साइमेक्स, हुण्डाई, निरो र सोल ब्राण्डका विद्युतीय सवारी चार्ज गर्न सकिने सम्बन्धित कम्पनीले जनाएका छन् ।

जानकारी अनुसार २० वटा स्टेशन बिवाइडीले निर्माण गरेको छ । केही थप त्यस्ता स्टेशन समेत निर्माणको क्रममा छन् । यस्तै २८ वटा लक्ष्मी इन्टरनेशनलले स्टेशन बनाएको छ ।

भने केआइए मोटरले १० वटा र सुन्दर यातायातले ३ वटा स्टेशन बनाइसकेका छन् ।

बिवाइडीका अनुसार राजधानीका नक्साल, रत्नपार्क, सिहंदरबार, कमलादी, गैरीधारा, थापाथली, बालुवाटार, पुल्चोक, तिनकुने लगायत १४ स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ भने सुन्दर यातायातले एउटा मात्रै सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणको भने टेन्डर प्रक्रियामा नै रहेको छ । केही समयभित्रै आवश्यक प्रक्रिया सम्पन्न गरी चार्जिङ स्टेशन निर्माण शुरु गर्ने प्राधिकरणको तयारी छ ।

यस्तै सुन्दर यातायातले पनि राजधानीको कालापूल, सितापाइला तथा बसुन्धारामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।


क्लिकमान्डु