ड्राइभिङ लाइसेन्समा गलत प्रभाव र प्रोत्साहन रोक्न अटोमेसनमा जाने विभागको तयारी



काठमाडौं । ड्राइभिङ लाइसेन्समा हुने गरेको गलत प्रभाव र प्रोत्साहन रोक्नका लागि यातायात व्यावस्था विभागले सवारी चालक अनुमति पत्र(लाइसेन्स)को लिखित परीक्षा कम्प्यूटर प्राणलीबाट लिने तयारी गरेको छ ।

विभागका निर्देशक तीर्थराज खनालले मानवीय उपस्थिती कम गराउनका लागि विभागले उक्त सोचका साथ अटोमेसनमा जाने सोच बनाएको बताए । अटोमेसनमा गइसकेपछि चालक अनुमति पत्र लिनका लागि लिखित परीक्षा परीक्षार्थीले कम्प्युटरबाटै दिनेछन् ।

कम्प्युटर प्रणालीबाट परीक्षा हुँदा नतिजा तुरुन्तै आउँछ भने मानवीय त्रुटी पनि कम हुनेछ ।

‘लिखित परीक्षामा अनियमितता हुने आरोप चल्दै आएको छ, त्यसलाई हटाउनका लागि अटोमेसनमा जानुको विकल्प छैन,’ खनालले क्लिकमाण्डूसँग भने ।

विभागको तथ्यांक अनुसार अहिले दैनिक ८ हजार ९ सयले अनलाइनमार्फत् सवारी चालक अनुमति पत्र लिनका लागि आवेदन दिन पाउने व्यवस्था छ । जसमा सबैभन्दा बढी चाप प्रदेश नम्बर ३ मा रहेको विभागको भनाइ छ ।

त्यस्तै, प्रयोगात्मक परीक्षा (ट्रायल)मा पनि कम्प्युटरकृत प्रणाली लागू गरिने विभागको योजना छ । निर्देशक खनालले कार्यविधी नै बनाएर अटोमेसन लागू गरिने बताए ।

यसका लागि साक्षर व्यक्ति आवश्यक पर्नेछ भने सामान्य कम्प्यूटरको जानकारी समेत परीक्षार्थीलाई हुनुपर्ने छ । विभागले हाल स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ ।

दैनिक ६ हजार लाइसेन्स प्रिन्ट गर्दै आएको विभागले मास प्रिन्टरबाट स्मार्ट लाइसेन्स प्रिन्ट गर्न तयारी गरिरहेको छ ।

विभागले सन् २०१८को डिसेम्बरसम्मका सवारी चालक अनुमति पत्र पास भएका व्यक्तिलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । त्यसपछिका करिब ८ लाख व्यक्तिले लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।


क्लिकमान्डु