विद्युत् माग बढेर उच्च विन्दुमा पुग्दा किन बन्द गरियो मध्यमर्स्याङदी आयोजना ?



काठमाडौं । विद्युत् माग बढेर १ हजार ३५० मेगावाट पुगेको बेला अर्धजलाशययुक्त प्रकृतिको मध्यमर्स्याङदी जलविद्युत् आयोजना बन्द गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मर्मतका लागि भन्दै ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको एउटा युनिट बन्द गर्न लागेको हो ।

राजधानीमा मात्रै विद्युत् माग बढेर ४१० मेगावाट पुगेको छ । मध्यमर्स्याङदीबाट उत्पादन हुने विद्युत् काठमाडौं– मर्स्याङदी १३२ केभी प्रसारण लाइनमार्फत् काठमाडौंमा ल्याइएको छ ।

सोमबारदेखि बन्द गर्न लागिएको सो आयोजनाको एउटा युनिट मर्मतका लागि कम्तीमा पनि १८ देखि २० दिन लाग्ने देखिएको छ ।

राजधानी र प्रमुख शहरी क्षेत्रमा साँझको समयमा बढी विद्युत् माग हुँदा पूर्ण क्षमतामा चलाउन सकिने सो आयोजना बन्द गर्दा विद्युत् व्यवस्थापनमा थप समस्या आउन सक्ने देखिएको छ ।

आयोजनाका अनुसार आज सोमबार बिहानदेखि सो आयोजनाबटा विद्युत् उत्पादन बन्द गरिएको छ ।

आयोजनामा ३५/३५ मेगावाट क्षमताका २ वटा यूनिट छन् । तीमध्ये हरेक यूनिटको वार्षिक रुपमा नै मर्मत् गर्नुपर्ने कार्यसूची रहेको छ ।

कालीगण्डकीमा बालुवाको मात्रा बढी हुने भएकाले विद्युत् गृहमा जडान भएको रोटर तथा अन्य उपकरणको नियमित मर्मत गर्नुपर्ने हुन्छ । सोही कारण आयोजनाको एउटा यूनिट बन्द गरेर मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

नदीमा पानीको सहत घटेको भन्दै यही अवसर पारेर आयोजनाको मर्मत गर्न लागिएको हो । फागुनको दोस्रो सातादेखि नदीमा पानीको सतह बढ्ने भएकाले यही समय उपयुक्त रहेको बताइएको छ ।

मर्मतका लागि एउटा यूनिट बन्द भएपनि अर्को यूनिट चलाउन सकिने प्राधिकरणको भनाइ छ ।

आयोजना प्रमुख शिवकुमार शाहले नियमित कार्यसूची अनुसार नै आयोजनाको मर्मत गर्न लागिएको बताएका छन् ।

प्राधिकरणले हरेक वर्ष हिउँदमा विद्युत उत्पादन बन्द गरेर मध्यमर्स्याङदीको विद्युत् गृहमा रहेको मेशिन तथा उपकरण मर्मत गर्दै आएको छ । विद्युत् माग बढी हुने साँझ विहानको समयमा ४ घण्टा सो आयोजना पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

यस्तै प्राधिकरणले सोही नदी बेसिनमा रहेको अर्को आयोजनाको समेत मर्मत गर्ने जनाएको छ । नियमित कार्यसूची अनुसार नै वार्षिक रुपमा विद्युत् गृहमा जडान भएका उपकरण तथा अन्य सामानको मर्मत सम्भार गर्नुपर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु