भैरहवाबाट उद्योगीको रुपमा उदाएका सुरज, ५ वर्षमा टपटेन औद्योगिक घराना बन्ने लक्ष्य



रुपन्देही(भैरहवा) । पुल्चोक क्याम्पसबाट इन्जिनियरिङको अध्ययन पूरा गरेपछि सुरज उप्रेती व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा थिए । बुवा सिताराम उप्रेतीले शुरु गरेको व्यवसायको दायारालाई उद्योग खोल्ने सोच उनमा थियो ।

पवर्तबाट भैरहवा झरेका सुरजका बुवा त्यो क्षेत्रमा परिचत र सफल व्यवसायीको रुपमा आफूलाई चिनाइसकेका थिए । बुवाले शुरु गरेको व्यवसायको बलियो फाउन्डेसनमा उनी सफलताको तला थप्न चाहन्थे । जुन सोच उनले उद्योगबाट मात्र हुने देखे ।

जुनबेला उद्योग लगाउनु सबैभन्दा बढी चुनौती थियो । त्योबेला औद्योगिक वातावरण राम्रो थिएन । लोडसेडिङ देखि श्रम समस्या प्रमुख थियो । त्यसै बेला उनी इन्जिनियरिङ सकेपछि एसआर स्टिल खोलेर उद्योग क्षेत्रमा प्रवेश गरे ।

इन्जिनियर भएकाले निर्माण क्षेत्रमा योगदान दिन र बलियो निर्माण क्षेत्र बनाउनको लागि स्टिल उद्योगमा खोल्ने निर्णय लिएको सुरज बताउँछन् ।

भैरहवामा उनको कर्पोरेट कार्यालयमा क्लिकमाण्डूसँग उद्योग खोल्दाको अनुभव सुनाउँदै सुरजले भने, ‘बुवाले स्क्रयाब स्टिल मिल लिनु भएको थियो, बुवाको इच्छा त्यसमा घरजग्गाको काम गर्ने थियो, मैले उद्योगमा जाने निर्णय लिए ।’

सुरजको उद्योग चलाउने निर्णय सही पनि साबित भयो । ५ नम्बर प्रदेशमा एसआर स्टिल अहिले अग्रणी ब्राण्डका रुपमा स्थापित भइसकेको छ ।

बुवाले शुरु गरेको व्यवसायको कारण सानैदेखि आफूले व्यवसायिक वातावरण घरमा देखेको सुरज बताउँछन् ।

‘बुवाले सर्भिस क्षेत्रमा बढी फोकस गर्नु भएको थियो, त्यसलाई मैले उद्योगमा फोकस गर्दै कर्पोरेट हिसाबले ग्रुपलाई सञ्चालन गरे,’ सुरजले भने ।

रुपन्देहीबाट उदाएको कर्पोरेट ग्रुपको रुपमा एसआर ग्रुप स्थापित भएको छ । जसको अध्यक्ष सुरजका बुवा सिताराम उप्रेती छन् भने प्रवन्ध निर्देशकको रुपमा सुरजले ग्रुपलाई अगाडि बढाएका छन् ।

अहिले ग्रुप अन्तर्गत सर्भिस सेक्टरको काम सुरजको बुवाले नै हेर्दै आएका छन् भने उद्योगको काम सुरज आफूले हेर्छन् । ७ वर्षको अवधिमा दैनिक कामका लागि अब सुरजले बुवालाई नसोधेरै पनि पनि निर्णय लिने भइसकेका छन् भने मेजर डिसिजनको लागि बुवाको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने उनी सुनाउछन् ।

७ वर्षको अवधिमा सुरजले युवा उद्योगीको रुपमा आफूलाई चिनाएका छन् । उद्योगको पृष्ठभूमि नभएपनि उनले शुरु गरेको उद्योगको यात्रा स्टिलहुँदै ९ वटा उद्योगमा पुगेको छ ।

बिरासतमा आएको व्यवसायलाई अगाडि बढाएका सुरज पारिवारिक व्यवसायलाई अगाडि बढाउन बनेको सिस्टम बनाएर सञ्चालन गर्नुपर्ने अनुभव सुनाउछन् । नयाँमा आफैले सिस्टम बनाउदै अगाडि बढाउनुपर्ने हुन्छ ।

व्यवसायमा दोस्रो पुस्ताको व्यक्ति भएपनि उद्योगमा उनी पहिलो पुस्ताका हुन् । युवा अवस्थामा नै उद्योगमा हात हालेका सुरजको अनुभवमा उद्योग चलाउन सजिलो छैन ।

पहिलो पुस्ताको उद्योगीलाई नेटवर्किङ बनाउन सबैभन्दा ठूलो समस्या हुने उनी देख्छन् ।

‘सम्पर्क र सञ्जाल सर्भिस सेक्टरमा बढी भएको हुँदा उद्योगमा खास गरेर भारतमा नेटवर्क बनाउन समस्या हुने रहेछ,’ सुरजले अनुभव सुनाउँदै भने ।

व्यवसायी बन्नका लागि पहिलो कुरा सूचना चाहिने र त्यसपछि प्यासन र ब्याकफोर्स चाहिने कुरा उनी बताउँछन् ।

७ वर्षको अवधिमा सुरजले युवा उद्योगीको रुपमा आफूलाई चिनाएका छन् । उद्योगको पृष्ठभूमि नभएपनि उनले शुरु गरेको उद्योगको यात्रा स्टिलहुँदै ९ वटा उद्योगमा पुगेको छ ।

एसआर फुड अन्तर्गत अहिले देशको नै सबैभन्दा ठूलो उद्योग एसआर ग्रुपले चलाएको छ । जसमा स्विट्जरल्याण्ड बुलर ब्राण्ड ल्याएर फुडको युनिटमा मार्केट लिडर बन्न सकेको छ ।

अहिलेसम्म एसआर ग्रुपमा ६ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ग्रुपले २ सय करोडभन्दा बढी लगानी गरिसकेको बताउँछन् । औद्योगिक पृष्ठभूमि भएको भन्दा नयाँ उद्योगीलाई चुनौती हुने भन्दै सुरज सिकाइले नै सफलता प्राप्त गर्न सकिने बताउँछन् ।

सुरजको फोकस उद्योग हुँदै बैंक तथा कलेज हुँदै क्रिकेटसम्म जोडिएको छ ।

अब ५ तारे होटलमा फोकस

नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आगामी वर्षसम्म सञ्चालन आउने तयारीमा छ । जसको कारण भैरहवा क्षेत्रमा होटल निर्माणको काम अगाडि बढेको छ ।

एसआर ग्रुपले ५ तारे होटल खोल्ने काम अगाडि बढाइसकेको छ । अमेरिकाको होलिडे इङकले व्यवस्थापन समाल्ने गरेर भैरहवामा एसआर ग्रुपले ५ तारे होटल खोल्ने योजना अगाडि बढेको सुरजले सुनाए ।

५ वर्षभित्र टपटेन औद्योगिक घराना पुग्ने लक्ष्य

भैरहवामा केन्द्रित रहेर व्यवसाय सञ्चालन गरेको एसआर ग्रुपलाई ५ वर्षभित्रमा टपटेन औद्योगिक घरानामा पुर्याउने लक्ष्य लिएको सुरज सुनाउछन् ।

एसआर ग्रुपले अहिलेको लगानीको फोकस ५ नम्बर प्रदेशमा नै गर्ने योजना उनको छ । तर काठमाडौंमा कर्पोरेट कार्यालय खोल्नुपर्ने आवश्यकता उनले देखेका छन् । अन्य औद्योगिक घरानासँग सम्बन्ध बनाउन होस् या व्यवसाय विस्तारका लागि हामीले कर्पोरेट कार्यालय काठमाडौंमा खोल्ने योजना बनाएका छौ ।

उद्योग खोल्न जग्गा नै प्रमुख समस्या

७ वर्षको उद्योग सञ्चालनको अनुभवमा सुरजले देखेको अहिलेको प्रमुख समस्या उद्योग खोल्नको लागि जग्गा हो । पहिलाजस्तो लोडसेडिङको समस्या र श्रम समस्या नभएपनि कच्चा पदार्थको लागि भारतमा निर्भर हुनु उद्योगको लागि अर्को समस्या सुरजले देखेका छन् ।

उनले यसको लागि सरकारले केही सहुलियत दिनुपर्ने बताउछन् ।

‘२ करोड रुपैयाँमा खुल्ने उद्योग जग्गाको कारण थप १० करोड लगानी गर्नुपर्ने अवस्था आएको छ, त्यो कस्ट प्रविधिमा लगाउन सकेको भए उद्योग तथा उपभोक्तालाई नै फाइदा हुने थियो,’ उनले भने ।

नयाँ पुस्तालाई सुरजको सल्लाह

नयाँ युवा पुस्तालाई सानो भएपनि उद्यम गर्न नेटवर्किङ बनायो भने उद्योग चलाउन सजिलो हुन्छ । त्यसपछि जनशक्ति व्यवस्थापन गर्न सकेमा सफलता मिल्ने उनको अनुभव छ ।

उद्योगका लागि पछिल्लो समय आर्थिक संकट नै देखिने अवस्था आएको सुरजले सुनाए । उद्योगहरुको पेमेन्ट ६ महिनासम्म पनि नउठ्ने अवस्थामा पुगेको छ । पछिल्लो समय विद्युत् प्राधिकरणले काटेको ट्रङलाइन/डेडिकेटेटले थप समस्या पारेको उनी बताउछन् ।


क्लिकमान्डु