काठमाडौंका ट्राफिक लाइट पुसभित्रै सञ्चालनमा ल्याउन मेयर विद्यासुन्दर शाक्यको निर्देशन



काठमाडौं महानगरपालिकाले काठमाडौंमा जडान गरिएको सबै ट्राफिक टाइट पुस महिनाभित्रमा सञ्चालनमा ल्याउने भएको छ ।

महानगरीय ट्राफिक प्रहरीसँग समन्वय गरेर बानेश्वर, सिंहरदरबार, गौसाला, माहाराजगञ्ज चोकलगायतका स्थानमा पुसभित्रमा ट्राफिक लाइट सञ्चालनमा ल्याउन महानगरले तयारी गरेको हो ।

मेयर विद्यासुन्दर शाक्यले विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी सडक विभाग र सम्वन्धित निकायसँग छलफल गरेर जतिसक्दो छिटो पुर्न निर्देशन दिए ।

त्यस्तै सडक विभागको समवन्यमा चैतभित्रमा कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बाँयातिरको खाली ठाँउमा सर्भिस लेन बिस्तार गर्ने, सडक विभागको समवन्यमा कालीमाटी मुनीको दुबैतर्फको अन्डरपास बैशाखभित्रमा व्यवस्थित गर्नेलगायतका निर्देशन अल्पकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल आयल निगम र सडक विभागसँग समन्वय गरेर सवारी आगमनलाई बाधा पर्ने किसिमले सञ्चालनमा रहेका पेट्रोलपम्पहरु स्थानान्तरण गर्ने, पिक एण्ड ड्रपलाई थप व्यवस्थित गर्ने, माघभित्रमा सडक विभागसँगको समन्वयमा जेव्राक्रस थप गर्ने, ट्राफिक संकेत मर्मत गर्ने, सीसीटिभीलाई थप व्यवस्थित गर्ने, गुठी संस्थानलगायतसँगको समन्वयमा सडक आसपासका खाली जग्गाहरु भाडामा लिई पार्किङका लागि उपयोग गर्ने जस्ता विषयमा पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

फागुनभित्रमा सम्वन्धित निकायसँग समन्वय गरेर महानगर क्षेत्रभित्र यात्रु चढ्ने र ओराल्ने स्थानमा प्रतिक्षालयसहित बस पकेटहरु बनाउने, फुटपाथ व्यवस्थित गर्ने जस्ता कुरामा पनि महानगरपालिकाको जिम्मेवारीमा परेका छन् ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको बैठकमा उठेका बिषय र महानगरको नेतृत्वमा सम्पादन हुनुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

‘जुन काम जुन बिभागसँग सम्बन्धित छ, उही बिभागका प्रमुखले जिम्मेवारी लिनोस् । यदि तपाई काम गर्न सक्नुहुन्न भने अहिल्यै भन्नुहोस्,’ उनले भने, ‘गर्न नसक्ने काम भए अहिले नै जिम्मा लिन सक्दिन भन्नुस् । नियमित कामको जिम्मेवारी छोडेर होइन, त्यसलाई जोडेर तपाईले काम गर्नुपर्छ ।’

कार्ययोजनामा बिहान साढे ८ सम्ममा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधन गन्तव्यमा पुर्याइसक्नु पर्ने, सडकबाट निर्माणजन्य सामग्री हटाउनुपर्ने, पैदलमार्गमा भएको अतिक्रमण हटाउनु पर्ने जस्ता काम महानगरको जिम्मेवारीमा परेका छन् ।

मोटरसाइकल र मोटरबाट हुने र्यालीलाई निरुत्साहित गर्ने काम पनि महानगरले गर्नुपर्ने कामको सूचीमा छन् । सौर्यबत्तीले सडकमा आवश्यक पर्ने उज्यालो प्राप्त नभएकाले सौर्यबत्तीको सट्टा मास लाइट जडान गर्ने काम पनि महानगरको भागमा छ ।

पोर्टेबल आकाशे पुल बनाउने, सम्भव हुने सडक किनारामा पार्किङ बक्स बनाउने जस्ता काम सम्बन्धित कार्यालयसँगको सहकार्यमा महानगरले गर्नुपर्ने छ ।


क्लिकमान्डु