राष्ट्रियस्तरको विकास बैंक नै रहन चाहन्छौंः शाइन रेसुङ्गाका सीइओ प्रकाश पौडेलको अन्तर्वार्ता



बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको छ । क्षेत्रिय स्तरको विकास बैंक मर्जर तथा एक्विजेशन हुँदै राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकको व्यवस्थापनको नेतृत्व स्थापनाकालदेखि नै प्रकाश पौडेलले गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलसँग राष्ट्रियस्तरको विकास बैंक भएपछिको अनुभव र योजनाको बारेमा बुटवलमा क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानी:

शाइन रेसुङ्ग राष्ट्रियस्तरको विकास बैंक बनिसकेको छ, अब काठमाडौंलाई कसरी टक्कर दिने योजना छ ?

५ वटा क्षेत्रियस्तरका विकास बैंकलाई मर्ज गरेर हामी राष्ट्रियस्तरको विकास बैंक बनेका छौं । गुल्मीको रेसुंगा, प्युठानको गौमुखी, सिदार्थनगरको पूर्णिमा र बुटवलको साइन विकास बैंक गाभिएको हो । हाम्रो क्षेत्रमा व्यवसाय राम्रो छ । अहिले ५ लाख हाम्रो ग्राहक छ ।

काठमाडौंमा व्यवसायको जुन केन्द्रियता छ, काठमाडौं बाहिरसँग जोडिएको व्यवसाय पनि बढी नै छ । हाम्रो ५ नम्बर प्रदेशको फरक–फरक क्षेत्रमा आधार छ । त्यो आधार काठमाडौंसँग जोडिएको छ । हामी राष्ट्रियस्तरको हुँदा काठमाडौंमा ग्रोथ गर्न चुनौति भने छ । हाम्रो फोकस काठमाडौं होइन । ५ नम्बर प्रदेशमा नै हामी अझै केन्द्रित हुन्छौं ।

अब बैंकलाई कसरी अघि बढाउनुहुन्छ ?

जुन ठाउँमा हाम्रो बैंक छ । यहाको अर्थतन्त्र विस्तारको क्रममा छ । यो बढ्दो क्रममा रहेको अर्थतन्त्रको कारण बैंकले पनि आफुलाई अगाडि बढाउन सक्छ । रुपन्देही जिल्ला पछिल्लो समय आर्थिक हबको रुपमा विकास हुँदै गएको छ । यहा अब क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ । जसले गर्दा सेवा क्षेत्र पनि विकास हुने क्रममा रहेको छ ।

रुपन्देहीसँगै अन्य जिल्लामा आर्थिक क्रियाकलापहरु बढ्ने क्रममा छन् । जसले गर्दा फोकस ५ नम्बर प्रदेशमा नै हुने छ । क्षेत्रियस्तरको विकास बैंक हुँदा हामीले दिने डेलिभरीमा सिमितता थियो । राष्ट्रियस्तरको भएपछि त्यो हुँदैन । ग्राहकलाई हामीले पूर्णरुपमा सेवा दिनसक्ने थियौं । क्षेत्रियस्तरको हुँदा निक्षेप देशभरबाट संकलन गरेपनि कर्जा दिन सम्भव थिएन । अब कर्जा पनि हामीले देशभर दिन सक्ने अवस्था भयो ।

क्षेत्रियस्तरको विकास बैंक हुँदा हामीलाई कस्तो खाले समस्या परेको थियो भने रुपन्देहीमा कसैले उद्योग लगायो । यसको धितो काठमाडौंमा छ पोखरामा छ । हामीले त्यो धितो लिन नसक्ने अवस्था थियो । जसले गर्दा कर्जा विस्तार हुन सकेको थिएन । ५ नम्बर क्षेत्रको हरेक ठाउँमा हामी स्थापित भएका छौं ।

शाइन रेसुङ्गा ५ नम्बर प्रदेशमा सबैभन्दा बलियो देखिन्छ । अब देशभर कसरी सञ्जाल विस्तार गरेर बलियो हुने ?

अहिलेको वर्ष हामी धेरै शाखा विस्तार गर्ने योजना छैन । हामीहरु मर्जर भएर राष्ट्रियस्तरको विकास बैंक भएको हो । यसले गर्दा पोस्ट मर्जरको व्यवस्थापन हामीले गर्नुपर्ने छ । त्यसपछि हामीहरु काठमाडौं, पोखरा र चितवनमा शाखा विस्तार गर्ने योजनामा छौं । अरु ठाउँमा विस्तार शाखा खोल्ने योजना छ ।

विकास बैंकहरुलाई वाणिज्य बैंकहरुले लिन विभिन्न प्रस्ताव गरेका छन् । शाइन रेसुंगा वाणिज्य बैंकसँग मर्जरमा जाने योजना छ या ब्राण्ड जोगाएर बस्ने ?

हिँजोका दिनमा पनि वाणिज्य बैंकहरुको प्रस्ताव नआएको होइन । ३ जिल्ले हुँदा होस् या १० जिल्ले हुँदा प्रस्तावहरु आइरहेकै थिए । अहिले बैंकिङ क्षेत्र मर्जरको लहर नै चलेको छ । आजको अवस्थामा कुरा गर्ने हो भने शाइन रेसुंगा वाणिज्य बैंकसँग मर्जरमा जाने योजनामा छैन ।

हाम्रो स्टेकहोल्डरको इच्छा काठमाडौं बाहिर पनि बैंक स्थापित हुनसक्छ भन्ने छ । काठमाडौं बाहिरको बैंक पनि व्यवसायिक ढंगले चल्नसक्छ भन्ने रहेको छ । भविष्यमा बैंकहरु काठमाडौं केन्द्रित भएका छन् । त्यसलाई विकेन्द्रिकरण गर्न जरुरी छ । त्यसैले हाम्रो फोकस काठमाडौं होइन ।

प्रविधिमा निकै नै चुनौति थपिएको छ, क्षेत्रियस्तरको भन्दा राष्ट्रियस्तरका लागि बढी लगानी गर्नुपर्ने हुन्छ । कस्तो तयारी छ ?

हामीले क्षेत्रियस्तरको विकास बैंक हुँदा नै प्रविधिमा लगानी गरेका थियौं । नेपालको बैंकिङ क्षेत्रको औसतभन्दा हामीले माथिल्लो तहमा बसेर प्रविधिमा काम गरेका छौ । राष्ट्रियस्तरको विकास बैंक नहुँदा पनि सिस्टम अडिटदेखि लिएर डाटा स्टोरेजमा हामीले वाणिज्य बैंकले चलाउने सेक्युरिटीमा हामीले काम गरेका थियौं ।

अब हाम्रो फोकस डिजिटल बैंकिङमा हो । हामीले भिसासँग सहकार्य गरेका छौं । हामीले सबै प्रक्रियालाई डिजिटल बनाउने तयारीमा छौं । अब डिजिटलमा जान नसकेमा सेवा दिन सकिँदैन भन्ने बुझिसकेका छौं । त्यो अनुसार अपग्रेड गर्दै लैजाने तयारीमा छौ ।

राष्ट्रियस्तरको विकास बैंक र क्षेत्रिय स्तरको हुँदा के फरक पर्ने रहेछ ?

क्षेत्रियस्तरबाट राष्ट्रियस्तरको विकास बैंक भएको धेरै समय भएको छैन । हामीले यो क्षेत्रका ग्राहक जो हुनुहुन्छ । उहाँहरुले हाम्रो क्षेत्रको बैंक पनि राष्ट्रियस्तरको भयो । उहाँहरुले अब हामीले बैंकलाई प्रमोट गरेन भने वाणिज्य बैंकसँग जान्छ । र, यो ठाउँ खाली हुन्छ भने भावना विकास भएको छ । राष्ट्रियस्तर गएसँगै हामी आफैं पनि बढी जिम्मेवार भएको महशुस भएको छ ।

कर कार्यालय र बैंकमा बुझाउने फाइल एउटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि कर्जाको माग घट्यो भनिन्न । विकास बैंकमा कस्तो असर परेको छ ?

दोहोरो ब्यालेन्ससिट राख्ने कुरा संसारमा कहीँ पनि हुँदैन । एउटामात्र ब्यालेन्ससिट बनाउ भन्नु जायज कुरा हो । हामीले अनौपचारिक क्षेत्रलाई बैंकिङ क्षेत्रमा छिराउनको लागि सबै उदार भएको हो । अब औपचारिक प्रणालीमा आएपछि थप व्यवस्थित गर्नको लागि चालिएको कदमले केही अन्यौलता बढेको हो । हिँजोजस्तो सजिलो गरेर बृद्धि गर्ने होइन अब व्यवसायिक तरिकाले बैंकले पनि व्यवसायिक संस्थाले बृद्धि हासिल गर्नुपर्छ । एउटा तरिकाले चलेको प्रणालीलाई अर्कोमा लैजाँदा त्यसलाई प्रणालीमा ल्याउनको लागि केही समय लाग्ने देखिन्छ । राष्ट्र बैंकको परिवर्तन गरेको व्यवस्थाले हामीजस्ता साना बैंकहरुमा ऋणको मागमा केही कमी आएको देखिएको छ ।

हाम्रो स्टेकहोल्डरको इच्छा काठमाडौं बाहिर पनि बैंक स्थापित हुनसक्छ भन्ने छ । काठमाडौं बाहिरको बैंक पनि व्यवसायिक ढंगले चल्नसक्छ भन्ने रहेको छ । भविष्यमा बैंकहरु काठमाडौं केन्द्रित भएका छन् । त्यसलाई विकेन्द्रिकरण गर्न जरुरी छ । त्यसैले हाम्रो फोकस काठमाडौं होइन ।

५ नम्बर प्रदेशमा फोकस भएको बैंकले यो क्षेत्रमा अब ऋण कस्तो क्षेत्रमा लगानी गर्न खोजेको छ ?

५ नम्बर प्रदेशको सम्भावना निकै ठूलो भएको क्षेत्र हो । विमानस्थलले गर्दा होटल तथा शिक्षामा राम्रो सम्भावना भएको क्षेत्र हो । हामीले पनि पर्यटन, कृषिमा राम्रो ग्रोथ गरेका छौ । हामीले मध्यम खाले कर्जामा फोकस गरेका छौं । रुपन्देही भनेको ट्रेडिङको फोकस भएको हुँदा यसमा लेन्डिङ फोकस हुन्छ ।

सेयरधनीले अब कस्तो अपेक्षा गर्न सक्छन् ?

हाम्रो १० वर्षको लाभांशको इतिहास हेर्नुभयो भने औसतभन्दा हामी माथि छौं । राष्ट्रियस्तरको विकास बैंक भएपछि पनि औसत तथ्यांकभन्दा हाम्रा तथ्यांक राम्रो छ । हामीले सेयरधनीलाई दिने लाभांश पनि बैंकिङको औसतभन्दा माथि हुने छ ।

वाणिज्य बैंकको पहुँच नै मर्जर तथा एक्विजेशनले स्थानीय तहमा नै पहुँच पुग्दा विकास बैंकको व्यवसायमा असर परेको छ वा छैन ?

वाणिज्य बैंकको पूँजी संरचना बढी भएको हुँदा उनीहरुले ठूलो परियोजनामा लगानी गर्न सक्छ । हाम्रो प्राथमिकता त्यो क्षेत्रमा होइन । हामी पक्कैपनि पूँजीको आधारले वाणिज्य बैंकभन्दा साना छौ । तर, अरु सेवाको विषयमा वाणिज्य बैंक र विकास बैंक भनेर छुटउन पर्ने रहेन । प्रतिस्पर्धा निकै बढेको छ । ठूला बैंकसँग प्रतिस्पर्धा गर्नु चुनौती छ । चुनौती छ भन्दैमा प्रतिस्पर्धा गर्न नसक्ने स्थिति होइन ।

जतिबेला हामी ५० करोडको बैंक थियौं हामीले २ अर्बको वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरेकै हो । अहिले साढे २ अर्बको विकास बैंक भएका छौं ८ अर्बको वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा छौं ।


पुष्प दुलाल