झन्डै १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
चालु आर्थिक वर्ष २०७६÷७७ को चार महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सरकारसँग कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुुसार असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको थियो । यो अवधिमा विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेको थियो । कात्तिक मसान्तमा आईपुग्दा ९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तमा ९ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्त १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा कात्तिक मसान्तमा १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।
चार महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३१.८ प्रतिशत, ७२.५ प्रतिशत र २९.९ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ कात्तिक मसान्तमा प्रति ब्यारेल अमेरिकी डलर ६५.२९ रहेकोमा २०७६ कात्तिक मसान्तमा ३.० प्रतिशतले कमी आई प्रति ब्यारेल अमेरिकी डलर ६३.३२ कायम भएको छ ।
त्यसैगरी, सुनको मूल्य २०७५ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १ हजार २२२.४० रहेकोमा २०७६ कात्तिक मसान्तमा २०.० प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १ हजार ४६६.९० पुगेको छ ।