सेयर बजार उकास्ने विधि खोज्दै अर्थमन्त्री खतिवडा, सीआइटीलाई डिलरको काम सक्न दवाब



काठमाडौं । नागरिक लगानी कोषले ‘स्टक डिलर’को काम गर्नका लागि यतिबेला २ वटा मोडालिटीमा छलफल भइरहेको छ ।

नागरिक लगानी कोषले आफ्नै स्वामित्वमा स्टक डिल्लरका काम गर्ने वा आफूजस्तै अन्य कम्पनीलाई सहभागी गराएर अघि बढ्ने भन्ने अध्ययन भइरहेको छ ।

कोष स्रोतका अनुसार स्टक डिल्लरका लागि पुनरबीमा कम्पनी, बीमा संस्थान, बीमा कम्पनी, नेपाल टेलिकमसँगको सहकार्यमा जाने की भन्ने विषयमा छलफल गरिरहेको छ ।

अन्य कम्पनीसँग मिलेर काम गरेको खण्डमा फण्ड ठूलो हुने र त्यसले बजारको विकास हुने अपेक्षा समेत गरिएको छ । त्यो विषयमा अझै निर्णय हुन भने सकेको छैन ।

कोषले अन्य कम्पनीसँग नभएर आफै मात्रै सहायक कम्पनी खोलेर काम गर्ने हो कि भन्ने विषयमा पनि अध्ययन गरिरहेको छ । आफै गर्दा फण्ड पर्याप्त नहुने र कार्यालय सञ्चालन, कर्मचारीको खर्चलगायतको विषय पनि प्राथमिकतामा आएको छ ।

यी दुई मोडालिटीमध्ये कुनबाट जाने भन्ने अन्योलताले अझ बढी समय लागेको स्रोतको भनाइ छ । समय लागे पनि कोषले स्टक डिलरको काम गर्नुपर्ने बाध्यता छ ।

वित्तीय क्षेत्र विकास रणनीति आर्थिक वर्ष २०७३/७४ देखि आव २०७७/७८ सम्ममा त्यो काम गर्नैपर्ने बाध्यकारी व्यवस्था छ । आव २०७७/७८ पनि नजिकिँदै छ । त्यसैले पनि कोषलाई कार्यक्रम सञ्चालन गर्नका लागि बाध्यता छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा निकै चासो राखेका छन् । पछिल्लो समयमा सेयर बजारमा निकै उतार चढाव छ । बजारमा आएको गिरावटलाई मन्त्री डा. खतिवडासँग जोडेर विरोध गर्ने गरिएको छ ।

जसले गर्दा मन्त्री खतिवडाले पनि कोषले स्टक डिलर समयमा नै गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् । समयमा नै स्टक डिलरले पूर्णता पाएको खण्डमा सेयर बजारमा उछाल आउने र मन्त्रिमाथी लागेको बजारप्रति नकारात्मक रहेको सन्देश न्यून हुँदै जाने अपेक्षा रहेको कोष सञ्चालक सदस्यको भनाइ छ ।

कोषले गत फागुनदेखि सेयर किन्न सुरु गरेको छ । त्यो समयमा थोरै रकमको सेयर किनेको भएर त्यसको असर खासै नदेखिएको कोषको बुझाइ छ ।

कोषले स्टक डिलरको काम गर्नका लागि १ वर्षभन्दा लामो समयदेखि धितोपत्र बोर्डले कोषलाई मार्केट मेकरको काम गर्नका लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको थियो ।

‘पहिले कति कम्पनीले काम गर्ने भन्ने निश्कर्ष निकालेपछि कम्पनी दर्ताको प्रक्रियामा जान्छौं, अहिले केही कम्पनीसँग छलफल गरिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक रमण नेपालले भने ।

अहिले कोषले प्रबन्धपत्र र नियमावली बनाउने काम सकेको छ ।

आर्थिक वर्ष २०७२/७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनिएपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल बनेको थियो ।

त्यो कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर बोर्डका अध्यक्षलाई बुझाइसकेको छ ।

प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ । अहिले दिनानुदिन घटिरहेको बजारलाई स्टक डिलरले केही हदसम्म सन्तुलनमा ल्याउने लगानीकर्ताको बुझाइ छ ।


क्लिकमान्डु