५ ट्रिलियन डलरको अर्थतन्त्र बनाउने नरेन्द्र मोदीको सपना पुरा नहुने



मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको ५ ट्रिलियन डलरको अर्थतन्त्र २०२५ सम्म बनाउने सपना पुरा गर्न कठिन हुने देखिएको छ ।

भारतको खस्कँदो अर्थतन्त्रको वर्तमान अवस्थाले मोदी सरकारले लिएको ५ ट्रिलियन डलरको महत्वाकांक्षी योजना भेट्याउन मुस्किल हुने त्यहाँका अटो व्यवसायीहरुले बताएका छन् ।

भारतीय सरकारले सन् २०२५ सम्ममा अर्थतन्त्रको आकार ५ ट्रिलियन डलर पुर्याउने महत्वकांक्षी लक्ष्य लिएको छ । जसलाई लिएर विभिन्न खाले टिप्पणी हुँदै आएको छ । अहिले भारतको अर्थतन्त्र २.७ ट्रिलियन अमेरिकी डलर छ ।

तर अहिले भइरहेको सुस्त गतीको वृद्धिदरले त्यो लक्ष्य भेट्याउन नसकिने उनीहरुको तर्क छ ।

उक्त लक्ष्य पूरा हुन भारतले वार्षिक ८.५ प्रतिशतले बृद्धिदर हासिल गर्नुपर्ने हुन्छ त्यसका लागि उत्पादनमुलक क्षेत्रको वार्षिक बृद्धि १२.५ प्रतिशतका दरले हुनुपर्ने उनीहरुको भनाइ छ ।

भारतको अर्थतन्त्रमा अटो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरुले पछिल्लो समय अटो क्षेत्रमा देखिएको सुस्तताका असर अर्थतन्त्रमा पर्ने उनीहरुको भनाइ छ ।

गाडी उत्पादक कम्पनी महिन्द्राका म्यानेजिङ डाइरेक्टर पवन गोयन्काले टिप्पणी गर्दै अहिलेको अवस्था कायम रहे भारतले आर्थिक लक्ष्य पूरा गर्न निकै मुस्किल हुने बताएका छन् ।

मुम्बईमा आयोजित इन्डिया कन्क्लेभ-२०१९ मा बोल्दै उनले भारतीय उद्योगहरुले दीर्घकालिन नीति लिएर अघि बढ्नुपर्ने बताए ।

यो स्तरमा आर्थिक बृद्धि हुनका लागि अटोमोवाइल्स क्षेत्रको कारोबारमा बृद्धि हुन आवश्यक छ । तर अहिले अटो क्षेत्रको अवस्था निराशाजनक अवस्थामा छ ।

‘म्यानुफ्याक्चरिङ जीडीपी १.२ ट्रिलियन डलर पुग्नुपर्छ र त्यसका लागि आगामी ४ देखि ५ वर्षसम्म वार्षिक १२ प्रतिशतको वृद्धिदर आवश्यक छ,’ उनले भने ।

अहिलेको आर्थिक वर्षको तथ्यांकअनुसार भारतमा अटो क्षेत्रको व्यापार १५ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ । यो पछिल्लो २ दशकको सबैभन्दा धेरै गिरावट हो ।

भारतले थप निर्यात र विद्युतीय गाडी उत्पादनमा जोड दिनुपर्ने अटो जानकारहरुको तर्क छ । तर निर्यात र विद्युतीय गाडी उत्पादनमा भारत र ग्लोवल मार्केटबीच प्रतिस्पर्धामा निकै ग्याप छ ।

त्यसैगरी मारुती सुजुकीका अध्यक्ष आरसी भर्गभाले पनि आर्थिक लक्ष्य पूरा गर्न पूर्वाधारमा धेरै परिवर्तन आवश्यक रहेको औल्याएका छन् ।

पछिल्लो ५ वर्षलाई हेर्दा भारतमा डोमेस्टिक सेल्स र उत्पादन ७ प्रतिशतले बढेको छ । गाडी उत्पादकले वीएस–६ सिस्टममा गएपछि गाडीको मूल्य १० देखि १५ प्रतिशतले बृद्धि गर्न खोजेका छन् ।


क्लिकमान्डु