मुक्तिनाथ विकास बैंकमा भरतराज ढकालको रि-इन्ट्री, अब सिइओ होइन अध्यक्ष



काठमाडौं । मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरतराज ढकाल अब अध्यक्ष बन्ने भएका छन् ।

सोमबार पोखरामा हुने बैंकको वार्षिक साधारणसभाले उनलाई सञ्चालकमा निर्वाचित गर्नेछ । र, सञ्चालक समितिको पहिलो निर्णयले ढकाललाई अध्यक्षमा चयन गर्ने बताइएको छ । बैंकको प्रगतिमा ढकालको योगदान निकै रहेको बैंक स्रोतको भनाइ छ ।

ढकाल सहकारी संस्था चलाउँदा चलाउँदै बैंकर्स बनेका हुन् । निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, ग्राहक संख्या सबै हिसाबमा मुक्तिनाथ निकै बलियो छ ।

एक समयमा ढकालले मुक्तिनाथमा हुँदा अंगालेको मोडेल नेपालमा निकै चर्चित रहेको थियो । त्यो समयमा जर्मनी, डेनमार्कलगायतका देशबाट लघुवित्तमा विद्यावारिधी गरेका विद्यार्थी मुक्तिनाथ आएर ६-७ महिनासम्म बसेर काम गरेका थिए ।

उनले एक समयमा भनेका थिए, ‘विकास बैंकको अवधारणा भनेको वाणिज्य बैंक पुग्न नसकेका ग्रामीण दूरदराजका जनतालाई वित्तीय सेवा प्रदान गर्नु हो, तर, हाम्रा विकास बैंकहरु वाणिज्य बैंकको जस्तै शहर केन्द्रित भइरहेका छन,हामी विकास बैंकहरुले अहिले गरिरहेको बैंकिङ मोडेल नै चेञ्ज गर्न चाहन्छौं ।’

ढकालको सक्रियतामा २०६३ साल पुस १९ गतेदेखि स्याङजा, कास्की र तनहुँलाई आधार बनाएर मुक्तिनाथ विकास बैंकले वित्तीय करोबार शुरु गरेको थियो । २०६३ पुस १९ गते मुक्तिनाथ विकास बैंकले कारोबार शुरु गरेको थियो ।

बैंक खोल्नुअघि ढकाल काठमाडौंमा रोयल को–अपरेटिभ नामक सहकारी संस्था संचालन गर्थे । २०६१ मा बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश तयार पारियो । त्यसपछि ढकाल फेरि बैंक खोल्न सक्रिय भए । ३० जना प्रवर्द्धकले १ करोड ३० लाख रुपैयाँ लगानी गरेर खोलेका थिए ।

स्याङजा, कास्की र तनहुँ गरी ३ जिल्ला कार्यक्षेत्र भएको बैंक सञ्चालनमा आएको २ वर्षपछि अर्थात् ०६५ को अन्तिममा १० जिल्लेमा स्तरोन्नति हुँदै पोखरामा मुख्य कार्यालय सार्र्याे ।

नेपालमा पहिलोपटक लघुवित्त संस्थाले आफ्ना ग्राहकलाई एसएमएस, मोवाइल बैंकिङ र एटीएम कार्ड दिने संस्थाको रुपमा मुक्तिनाथलाई लिइन्छ ।

पछि उनले बैंक छोडेर डेपुटी सीइओ प्रधुम्न पोखरेल सिइओ भए ।
नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनमा बस्न नपाउने व्यवस्था छ । जसकारण धेरै सीइओहरुले पद छाडे ।

ढकालले पनि बाफियाले तोकेभन्दा बढी लगानी भएका कारण सीइओको पद छाडेका हुन् । बैंकको सीइओ छाडेका ढकाल कृषि व्यवसायमा लागे । अब उनी आफैले दुःख गरेर खोलेको बैंकको अध्यक्ष बन्ने भएका छन् ।


क्लिकमान्डु