संख्या बढ्दा जीवन बीमामा बढ्यो अस्वस्थ प्रतिस्पर्धा, आम्दानी अनुसार कम्पनी चल्न नै मुश्किल



काठमाडौं । नेपालमा हाल बीमाको दायरा बढेर २२ प्रतिशत पुगेको तथ्यांक बीमा समितिले सार्वजनिक गर्ने गरेको छ । समितिका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको जोड्ने हो भने २६ प्रतिशत नेपाली नागरिकमा बीमाको पहुँच पुगिसकेको छ ।

यो क्रम बढ्दै जाने बीमा समितिले जनाएको छ । सामान्यतया हेर्दा बीमा गर्नेको संख्या बढनु राम्रै विषय हो । तर त्योभन्दा महत्वपूर्ण विषय बीमा गर्ने नाममा हुने अवस्थ प्रतिस्पर्धा निकै संवेदनशिल विषय बन्दै गएको छ ।

विश्वका विभिन्न देश तथा छिमेकी मुलुकलाई हेर्दा नेपालमा जीवन बीमा कम्पनीहरुलाई व्यवसाय गर्न निकै गरो पर्ने अवस्था देखिँदै आएको छ ।
नेपालमा भएको जनसंख्या, प्रतिव्यक्ती आय, शैक्षिक योग्यता, बेरोजगारीको तथ्यांक हेर्दा भएका जीवन बीमा कम्पनी हेर्दा जीवन बीमा कम्पनीमा बिकराल समस्या नजिकिँदै छ ।

विषयको उठान नेपालबाट नै शुरु गरौं । हाल नेपालको जनसंख्या २ करोड ९९ लाखको हाराहारीमा छ । नेपालमा जीवन बीमा कम्पनीको संख्या १९ वटा छन् । नेपालको जनसंख्या र जीवन बीमा कम्पनीको संख्या हेर्दा एउटा कम्पनीले १५ लाख ७४ हजार जनालाई सेवा पुर्याउनु पर्ने देखिन्छ ।

हाल नेपालको जनसंख्यामा २५ देखि ५४ वर्ष उमेर समूहको संख्या ३७.२ प्रतिशत अर्थात् १ करोड ११ लाख २३ हजार रहेको छ । यो समूहलाई आम्दानी गर्ने उमेर समूहको रुपमा लिइन्छ ।

नेपालमा बेरोजगार दर पनि ११.४ प्रतिशत रहेको छ । नेपालीको प्रतिव्यक्ति आए लगभग १०२६ डलर छ । तसर्थ यो अवस्थामा नेपालका यतिधेरै बीमा कम्पनी कसरी चल्छन् भन्ने प्रश्न गम्भीरताका साथ उठ्न थालेको छ ।

नेपालमा काम गर्ने (आय आर्जन) गर्नेको संख्या कमी छ । बेरोजगारीको समस्याका साथै रोजगारीको सुनिश्चितता पनि छैन । नेपालमा ६७.९ प्रतिशत मात्रै साक्षर नागरिक छन् ।

हाम्रो छिमेकी मुलुक भारतलाई हेर्दा १ अर्ब ३५ करोड ३० लाख जनसंख्या छ । त्यतिधेरै जनसंख्या भएका देशमा जम्मा २४ वटा मात्रै बीमा कम्पनी छन् । भारतमा एक बीमा कम्पनीले ५ करोड ६३ लाख ७५ हजार जनतालाई बीमा सेवा उपलब्ध गराएको छ ।

यो हेर्दा नेपालको तुलनामा भारतमा बीमा कम्पनीको निकै थोरै देखिन्छ । भारतीय नागरिकको प्रतिव्यक्ति आय २०१६ अमेरिकी डलर छ । भारतमा बेरोजगार दर ६.१ प्रतिशत मात्रै छ । भारतमा कमाउनेको संख्या ४१ प्रतिशत अर्थात ५५ करोड ७४ लाख ३६ हजार छन् । साक्षरता दरमा पनि भारत नेपालभन्दा धेरै अगाडि छ । भारतमा साक्षरतादर ७१.२ प्रतिशत छ ।

जीवन बीमा कम्पनी धेरै भएको देशको रुपमा बंगलादेशलाई लिने गरिन्छ । बंगलादेशमा ३२ वटा बीमा कम्पनी छन् । ३२ वटा कम्पनी भए पनि एक कम्पनीले ५० लाख ३१ हजारलाई बीमा सेवा दिइरहेका छन् । बंगलादेशमा १६ करोड १० लाख जनसंख्या छ ।

उक्त जनसंख्यामा ६ करोड ४५ लाख ६१ हजार अर्थात् ४० प्रतिशत जनसंख्या आयआर्जन गर्न सक्ने एक अध्ययनले देखाएको छ । बंगलादेशको साक्षरता दर ७२.८ प्रतिशत छ भने बेरोजगारी दर ४.४ प्रतिशत छ । बंगाली नागरिकको प्रतिव्यक्ती आय १६ सय ९८ अमेरिकी डलर रहेको छ ।

नेपालको तुलनामा पाकिस्तानमा बीमा कम्पनी आधाभन्दा कम छ । पाकिस्तानमा ९ वटा मात्रै बीमा कम्पनी छन् । त्यहाँको एक बीमा कम्पनीले २ करोड ३५ लाख ५६ हजार जनतालाई बीमा सेवा दिइरहेको छ ।

हाल पाकिस्तानमा २१ करोड २० लाख जनसंख्या छ । हाल त्यहाँको साक्षरता नेपालभन्दा कम अर्थात् ५७.९ प्रतिशत छ । पाकिस्तानका ३८ प्रतिशत जनसंख्या प्रत्यक्ष रुपमा आयआर्जन गर्न सक्ने अवस्थामा छन् भने बेरोजगार दर ६ प्रतिशत छ ।

पाकिस्तानको हाल प्रतिव्यक्ति आय १ हजार ४७३ अमेरिकी डलर छ । यता भुटानमा भने जम्मा एउटा मात्रै बीमा कम्पनी छ । त्यहाँको जनसंख्या १० लाख छ । १० लाख जनसंख्यालाई नै एउटा बीमा कम्पनीले सेवा दिइरहेको छ ।

भुटानको साक्षरता दर ६४.९ प्रतिशत छ । यस्तै भुटानमा बेरोजगारी दर ३.२ प्रतिशत छ । यता भुटानमा प्रतिव्यक्ति आय भने ३ हजार ३ सय ६० अमेरिकी डलर छ ।
श्रीलंकामा अहिलेसम्म १५ वटा जीवन बीमा कम्पनी छन् । १५ वटा कम्पनीमध्ये एउटाले १४ लाख ६७ हजार जनतालाई सेवा दिइरहेका छन् ।

त्यो देशका नागरिकमध्ये ४१ प्रतिशत आय आर्जन गर्न सक्ने अवस्थामा छन् भने बेरोजगार दर ४.४ प्रतिशत रहेको छ ।

यस्तै श्रीलंकाली नागरिकको प्रतिव्यक्ति आय ४ हजार १०३ अमेरिकी डलर छ । त्यहाँका ९२.६ प्रतिशत साक्षरता छ ।

यता मलेसियामा नेपालको भन्दा ५ वटा कम मात्रै जीवन बीमा कम्पनी छन् । त्यहाँका जीवन बीमा कम्पनीमध्ये एक कम्पनीले २२ लाख ८६ हजार जनतालाई बीमा सेवा दिएको छ ।

त्यहाँको जनसंख्या ३ करोड २० लाख छ । त्यहाँको बेरोजगारी दर ३.४ प्रतिशत छ । मलेसियाको साक्षरता दर ९४.६ प्रतिशत छ भने त्यहाँ जनताको प्रतिव्यक्ति आय ११ हजार २३९ अमेरिकी डलर छ ।

यता थाइल्याण्डमा भने नेपालको भन्दा एउटा मात्रै कम जीवन बीमा कम्पनी छ । नेपालमा १९ वटा रहेका छन भने थाइल्याण्डमा १८ वटा जीवन बीमा कम्पनी छन् ।
ती बीमा कम्पनीमध्ये एउटाले ३८ लाख ३३ हजार जनालाई जीवन बीमा सेवा दिइरहेको छ । त्यहाँको जनसंख्या ६ करोड ९० लाख छ भने साक्षरता दर ९२.९ प्रतिशत छ ।

थाइल्याण्डमा बेरोजगारीको संख्या निकै न्यून अर्थात ०.७ प्रतिशत मात्रै छ । प्रतिव्यक्ति आय पनि ७ हजार २७४ अमेरिकी डलर छ ।

नेपाल बाहेक ७ वटा देशको तथ्याङक हेर्दा बीमा कम्पनी थोरै हुँदा पनि धेरै जनतालाई सेवा दिन सकिने देखिएको छ ।

जसले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्नुको साटो सहजै सेवा दिन सकिने देखिएको छ । नेपाल बाहेक सबै देशको प्रतिव्यक्ति आय पनि राम्रो छ ।

बीमा गरेपनि त्यसमा लाग्ने प्रिमियम शुल्क तिर्न आय आर्जन पनि हुनुपर्छ । त्यसका लागि बेरोजगारी दर पनि कम हुनु आवश्यक मानिन्छ ।

८ वटा देशका सबैभन्दा बढी बेरोजगारी नेपालमा बढ्री छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजु पौडेल जीवन बीमा कम्पनीलाई व्यवसाय संचालन गर्न ठूलो समस्या नभएको देख्छन् ।

‘निर्जीवन बीमा कम्पनीमा कम्पनी अनुसार व्यवसाय बढाउन समस्या देखिएको छ,जीवन बीमा कम्पनीमा त्यो समस्या छैन,’ कार्यकारी निर्देशक पौडेलले भने । उनले बीमा कम्पनीहरुलाई पूँजी अनुसार व्यवसाय गर्न कठिन भएमा मर्जरको बिकल्प भने खुल्ला भएको र त्यसैको लागि मर्जरको निर्देशिका ल्याइएको बताए ।

नयाँ तथा पुरानो बीमा कम्पनीका लगानीकर्ता तथा उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारीहरु ५ वर्षसम्म जीवन बीमा कम्पनीलाई संचालन गर्न कठिनाई नहुँने बताउँछन् ।

अहिलेको अवस्थामा धेरै बीमा कम्पनी हुनुलाई नराम्रो रुपमा लिन नमिल्ने सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोशक पौडेलको भनाइ छ ।
‘अहिले धेरै कम्पनी हुँदा धेरै जनतामा बीमाको पहुँच पुगेको छ, धेरै कम्पनी हुँदा नेपालको तराइ क्षेत्रका जनता बीमा गर्न छिमेकी मुलुकमा जानु परेको छैन । नेपाली कम्पनीले नै सेवा दिइरहेका छन्’ उनले भने ।

यो क्रम दीर्घकालिन रुपमा भने रहन नसक्ने उनको तर्क छ ।

अहिले बीमा कम्पनीको प्रतिस्पर्धाले नै धेरै जनतामा बीमा पुगेको, यसको विषयमा चर्चा भएको उनको बुझाइ छ ।

‘हामी सधैं यति नै कम्पनी रहने सक्ने वा नसक्ने भन्ने रहन्छ । जनतामा बीमाको पहुँच बढेपछि कम्पनी घट्दा पनि फरक पर्दैन, जस्तै अहिले वाणिज्य बैंकहरु मर्ज भइरहेका छन् । उनीहरुको शाखाले दिने सेवामा कमी आएको छैन’ उनले भने ।

अहिले नै कम्पनी घटे भने अपेक्षितरुपमा जनतामा यसको पहुँच नपुग्ने सीइओ पौडेलको बुझाइ छ ।


क्लिकमान्डु