गभर्नरको प्रश्नः कसलाई चेक दिने भन्ने कुरा थाहा नपाउनेलाई किन बैंकले जागिर दिएको ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कर्मचारीलाई चेक दिने समेत थाहा नभएका कस्ता कर्मचारी राखेको भन्दै बैंकरहरुलाई प्रश्न गरेका छन् ।

ग्लोबल र जनता बैंक कर्मपछि भएको एकिकृत कारोबारको उद्घाटद गर्दै गभर्नर नेपालले यस्तो प्रश्न गरे ।

‘तपाईहरु चेक कसलाई दिने समेत थाहा नभएका कस्ता कर्मचारी राख्नुहुन्छ ? कर्मचारीको वृति विकासको लागि भनेर छुट्याएको ३ प्रतिशत कहाँ खर्च गर्नुभयो ? अहिले वित्तीय अपराध तल्लोतहका कर्मचारीबाट भइरहेको छ । के अब बैंकहरुको एचआर पनि राष्ट्र बैंकले नै हेर्नुपरेको हो ?’ डा. नेपालले प्रश्न गरे ।

उनले बैंकहरुलाई प्रभावकारी रुपमा प्रविधिमा लगानी गर्नु समेत आग्रह समेत गरेका छन् ।

गभर्नर नेपालले बैंकका अध्यक्षले प्रमुख कार्यकारी अकिृत (सिइओ)लाई यति नाफा कमाउनु भनेर दबाब नदिन आग्रह गरे ।

‘राष्ट्र बैंंकले अनुगमन गरिरहेको हुन्छ, त्यो रेगुलेशन मान्नु,’ गभर्नरले भने ।

अहिले बैंकहरु धेरै पैसा कमाउने लहडमा लागेको भन्दै पैसा कमाउँदा नियममा बसेर काम गर्न आग्रह गरे ।

ग्लोबल र जनता बैंकको मर्जरपछि अन्य बैंकहरुलाई पनि उर्जा मिल्ने बताए । राष्ट्र बैंकले आगामी दिनमा पनि मर्जरलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंक ठूलो भएसँगै आयोजनमा गर्ने लगानी पनि बढने आशा रहेको बताए । धेरै बैंक भएमा प्रतिस्पर्धा हुने पनि स्मरण गराए ।

उनले भने ‘अब बैंक ठूलो भएपनि बैंकको ब्याज पनि घट्ने अपेक्षा रहेको छ ।’

कहिले बैंकको एटिएम, कहिले चेक त कहिले स्वीफ्ट ह्याक गरे पैसा लुटिएको भन्दै बैंकहरुलाई प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे ।

उनले भने ‘चन्द्र ढकालले बैंकपनि ठूलो बनाउनु भयो । अब प्रविधि पनि ठूलै ल्याउनु हुन्छ होला ।’

कार्यक्रममा उनले फोर्स मर्जर राम्रो नभएको र बैंकहरु स्वतस्फुर्त रुपमा जान दिन आग्रह गरे । उनले भने ‘फोर्स मर्जरले नकारात्मक असर पार्छ ।’

उनले बैंकहरुको तरलता अभाव रोक्न विकास खर्च बढाउन आग्रह गरे । उनले बैंकलाई नाफा बढाउने होइन, उद्योगी व्यवसायीले पनि नाफा बढाउने खालको बाताबरण बनाउन आग्रह गरे ।

उनले भने ‘बैंकहरुले ३ महिना, ६ महिनामा ब्याजको प्रेमपत्र पठाउनु हुन्छ, कुनै कुनै बैंकले १ वर्षको पनि एकै दरमा ब्याज दिनुहुन्छ । अब बैंकहरुले आयोजना अवधि भरको लागि एउटै ब्याजमा ऋण दिनु पर्यो ।’

देशका औद्योगिक बातावरण नभएको, बिप्रेषण पनि घटेको, रोजगारी पनि नबढेको र रोजगारीको लागि विदेश जाने कामदारको संख्या घटेको उल्लेख गरे । उनले भने ‘नेपालमा रोजगारी दिन नसक्ने भएपछि पहिला नै कामदारलाई रोजगारीको लागि विदेश पठाएको भए नेपालमा आउने विप्रेषण बढ्ने थियो ।’

कार्यक्रममा श्रेष्ठले बैंकले बढी ब्याज लिए भनेर निकै गुनासो गरेका थिए । जवाफमा गभर्नर नेपालले भने ‘तपाईहरु प्राय सबै जना बैंकमा हुनुहुन्छ, व्यवसाय पनि गर्नुहुन्छ । कोही बैंकमा बसेर व्यवसाय गरिरहनु भएको छ । कोही बैंकमा नबसी व्यवसायी गरिरहनु भएको छ । यसमा तपाईहरु सिरियस हुनु । अनि राजेशजी तपाईका सांग्रिला बैंक हैन, महालक्ष्मी पनि होला, जे होस् मलाई थाहा छ ।’

गभर्नरले थपे- ‘तपाईहरुले जुन दिन विशुद्ध रुपमा आफ्नो व्यवसाय गर्नुहुन्छ, त्यो दिन जोडदार रुपमा ब्याजको कुरा उठाउनु । राष्ट्र बैंकलाई सबै थाहा छ । हामीलाई सबै संस्थाहरुको कुरा थाहा छ । तपाईहरुले चित्त नबुझेको कुरा थाहा छ । मनलाग्यो भन्दैमा जे पायो त्यही भन्न पाउनुहुुन्न ।’

सबै मान्छेहरुलाई पैसा कमाउने रहर भएको गभर्नरले बताए ।

‘तपाईंहरु सबैलाई पैसा कमाउने रहर छ, कमाउनुहोस् तर पारदर्शी तरिकाले’ उनले भने, ‘राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणलाई मानेर अघि बढ्नुहोस् ।’

ग्लोबल आइएमइ र जनता बैंकको मर्जरले उत्साह दिएको बताउँदै अरु बैंकलाई पनि मर्जरमा जान हौसला मिलोस् भन्ने गभर्नरले सुझाब दिए ।


पुष्प दुलाल