काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा अध्यक्ष महेश गुरागाईले बीमा कम्पनीहरुले प्रविधि र मानव सशांधनमा खर्च बढाउनु पर्ने बताएका छन् ।
राजधानीमा गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेसनल स्किल डेभलपमेन्ट प्रोग्राम अन प्राइसिङ एण्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ विषय कार्यक्रममा अध्यक्ष गुरागाईले बीमा कम्पनीहरुले आईटी र मानव संशाधनमा गर्न नगर्दा पैसा विदेशिएको बताए ।
उनले भने ‘नेपालमा एक्चुअरी अध्ययन गरेको जनशक्ति कम छ,नेपालमा जनशक्ति नभएकोले नेपालमा पैसा भारतमा गएको छ, अब नेपालमा नै जनशक्ति उत्पादन गर्नुपर्छ । त्यसको लागि कम्पनीहरुले पनि लगानी बढाउन आवश्यक छ ।’
नियामक निकाय बीमा समितिले २, ४ वर्षमा बीमा कम्पनीहरुले आफ्नौ एक्चुअरी चाहिन्छ भन्न सक्छ, त्यसको लागि कम्पनीहरु अहिलेबाटै तयार हुनुपर्ने उनको भनाई छ । विदेशमा बीमा कम्पनीहरुले आईटी, मानव संशाधनमा खर्च बढाएपनि नेपालमा त्यसो हुन नसकेको उनको भनाई छ ।
त्रिभुवन विश्व विद्यालय गणित विज्ञान स्कुलले एक्चुअरीको अध्ययन सुृरु गरेको र केही वर्षमा नै नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुनेमा आफू आशाबादी रहेको उनको भनाई छ ।
कार्यक्रममा बीमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसीले नेपालमा केही वर्षयता बीमाको गतिविधि बढेपनि सोहि अनुपातमा ज्ञान बढ्न नसकेको बताए । अहिले बीमा कम्पनीहरु नाफा कमाउन बढी लागेपनि नाफा भन्दा प्रतिश्पर्धामा जानु पर्ने उनको भनाई छ । उनले भने ‘बीमा कम्पनीहरुले नाफालाई मात्रै ध्यान दिनु भन्दा पनि उपभोक्ताको चाहना, आवश्यकतालाई ध्यान दिएर सोही अनुसारको उत्पादन ल्याउनु पर्छ, अरुको कपि गरेर हुँदैन, आफ्नै केही चाहियो, उत्पादन पनि आफ्नै, त्यसको मूल्य पनि आफ्नै चाहियो ।’
कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले नेपालमा एक्चुअरी आउन ढिला हुँदा विदेशमा पैसा गएको भन्दै चिन्ता जनाए । उनले भने ‘नेपालमा एक्चुअरी भएको भए नेपालको धेरै पैसा बाहिर जानबाट रोकिने थियो, अब छिटै हाम्रो आफ्नै एक्चुअरी तयार पार्नुपर्छ, जसले गर्दा नेपालको पैसा नेपालमा नै रहन्छ ।’
नेपाल पुर्नबीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीले पनि नेपालमा एक्चुअरी नहुँदा करोडौ रुपैया विदेश गएको बताए ।
उनले भने ‘अब हाम्रो विदेश जाने पैसा नेपालमा नै रोक्नुपर्छ । ३ वर्षदेखि नेपालमा पढाइ पनि सुरु भएको छ । अब बीमा कम्पनीहरुले त्यही अनुसारको नयाँ उत्पादन पनि ल्याउनुपर्छ ।’
कार्यक्रममा विज्ञान गणित स्कुलका निर्देशक प्रकाश मुनी बज्राचार्यले नेपाली विद्यार्थीमा एक्चुअरी साइन्स पढने उत्साह निकै बढेको बताए । पढेपछि रोजगारी पाइने भएकाले यसमा आकर्षण बढेको उनको भनाई छ । उनले भने ‘एक्चुअरी पढेका विद्यार्थी बीमामा मात्रै हैन, एनएफआरएस प्रणाली लागु भएकाले बैंकिङ क्षेत्रमा पनि चाहिन्छ ।’
पहिलो वर्ष ३७, दोस्रो वर्ष ३१, तेस्रो वर्ष ३७ र चौथो वर्ष ३६ जना विद्यार्थी भर्ना भएको उनको भनाई छ ।
प्रतिक्रिया