सहकारीबाट सुरु भएको अमूलले भारतभर फैलायो कारोबार, हरेक दिन कमाउँछ डेढ अर्ब रुपैयाँ



सन् १९४५ मा भारतमा स्वन्त्रताको आन्दोलन चलिरहेको थियो । सम्पूर्ण देशमा ब्रिटिस साम्राज्यले शासन गरिरहेको थियो । जे जति व्यवसाय हुन्थे सबै ब्रिटिस शासनको स्वीकृतिमा हुन्थे । भारतमा स्वतन्त्रताको ठूलो लडाई चलिरहेका बेलामा एउटा सहकारी स्थापना भयो ।

सरदार वल्लभ भाई पटेलले सहकारी सुरुवात गरेका थिए । कम्पनी १९४६ डिसेम्बर १४ तारिखमा सहकारी सोसाइटीका रुपमा रजिस्ट्रेसन भयो । जसको उद्देश्य थियो । भारतमा दुधको उत्पादन बढाउनु, किसानको अवस्था सुधार गर्नु र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउनु । यसका लागि वर्गिज कुरियनले भारतको सबैभन्दा ठूलो डेरी प्रडक्ट ‘अमूल’ सुरुवात गरेका थिए । कुरियनलाई भारमा ‘मिल्क म्यान’का रुपमा समेत चिनिन्छन ।

भारतको अधिकांश क्षेत्रमा कारोबार फैलाएको अमूल बिहानको चियामा दुधका रुपमा, नास्ताको ब्रेडमा बटरका रुपमा, आइक्रिमका रुपमा हरेकका घरमा पुगेको छ ।

उच्च गुणस्तरयुक्त प्रडक्टका कारण आज भारतमा यो कमपनी सबैभन्दा अघि छ । जसले हरेक दिन १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्छ । अमूलको सुरुवात ७४ वर्ष अघि सुरु भएको थियो ।

सुरुवातमा कम्पनीको क्षमता प्रतिदिन २५० लिटरको मात्रै थियो । आजका दिनमा कम्पनीले हरेक दिन ३३ लाख लिटर दुध संकलन र बिक्री गर्छ । कम्पनीमा ७ लाख ६४ हजार सदस्य छन् । कम्पनीमा हरेक दिन ५० लाख लिटर भण्डारन क्षमता छ । कम्पनी दुध उत्पादनमा यति ठूलो छ कि विश्वका कुल दुध उत्पादनको १.२ प्रतिशत हिस्सा अमूलमा पर्छ ।

अमूलले कारोबार सुरु हुने ताका भारतमा दुधको कमी थियो । त्यसैले कुरियनको नेतृत्वमा भारतमा दुध उत्पादनमा आत्मनिर्भर बनाउने काम सुरु भएको थियो ।

उनले त्रिभुवन भाई पटेलका साथमा मिलेर खेला जिल्ला सहकारी समिति सुरु गरेका थिए । सन् १९४९ मा उनले गुजरातका २ वटा गाउँलाई सहकारीको सदस्य बनाए । र, डेरी सहकारीता संघको स्थापना गरे । कुरियन भैसीको दुधबाट पाउडरको निर्माण गर्ने विश्वकै पहिलो व्यक्ति थिए । त्यसअघि गाईको दुधबाट मात्रै पाउडर बनाइन्थ्यो ।

अमूलको सफलतामा तत्कालिन प्रधानमन्त्री लालबहादुर शास्त्रीले समेत मन पराए । त्यसैले उनले अमूल मोडललाई अन्य स्थानमा फैलाउनका लागि राष्ट्रिय दुग्घ विकास बोर्ड गठन गरेका थिए ।

जसको अध्यक्ष उनै कुरियनलाई बनाइएको थियो । त्यसपछि भारत सबैभन्दा धेरै दुध उत्पादन गर्ने मुलुक बनेको थियो । कुरियनले सन् १९६५–१९९८ सम्म ३३ वर्ष बोर्डमा अध्यक्ष बनेका थिए । साथै, सन् १९७९ देखि सन् २००६ सम्म इन्स्टिच्युट अफ रुरल म्यानेजमेन्टका अध्यक्ष समेत भएका थिए ।

अमूलले दुधसँगै बटर उत्पादन पनि सुरुवात गर्यो । बटर सन् १९५६ मा सुरुवात भएको थियो । तर त्यस समयमा अन्य ब्रान्डसँग कडा टक्कर थियो । मूलको पाल्सन गर्ल नामको एक कम्पनीसँग बजारमा कडा टक्कर थियो । त्यसैले अमूलले बटर प्रमोट गर्नका लागि नयाँ तरिका निकालेको थियो ।

उसले विज्ञापन बनाउने कम्पनी एक एजेन्सीलाई अमूलका लागि एक मस्कट तयार गर्न भनेको थियो । जसमा विज्ञापन महिलालाई मनपर्ने बनाउन भनिएको थियो । जसले गर्दा महिलालाई मन पर्यो र प्रडक्टको डिमान्ड निकै बढ्यो ।

अमूलले बनाएको ‘अटर्ली बटर्ली क्याम्पेन’ सबैभन्दा चलेको विज्ञापन थियो । जसलाई गिनिज वल्र्ड रेकर्डमा समेत राखिएको छ । विज्ञापनमा कुनै पनि अभिनेतालाई राखिएको थिएन् । अमूलको सफलता उसको सोच तथा मार्केटिङमा आधारित थियो । जसले आम मानिसमा यस्तो विश्वास दिलायो कि अमुल पनि हामी जस्तै किसान हो र उसले उत्पादन गरेको प्रडक्ट उत्तिकै राम्रो हुन्छ र सस्तो पनि हुन्छ ।

अमूल दुधमा मात्रै होइन, बटरमा पनि बजारको लिडर हो । अमूलसँग ८५ प्रतिशत बजार हिस्सा छ । त्यस्तै, पाउच मिल्कमा २५ प्रतिशत बजार हिस्सा छ । त्यसका साथै पनिरमा बजार हिस्सा ८० प्रतिशत छ । आइसक्रिममा ४० प्रतिशत बजार हिस्सा अमूलले ओगटेको छ ।

अमूलको वार्षिक आम्दानी सन् २०१६ मा ११ हजार ६६८ करोड भारु थियो भने सन् २०१७ मा यो बढेर २० हजार ७३३ करोड भारु थियो । सन् २०१८ मा २९ हजार २२५ करोड भारु र सन् २०१९ मा यो बढेर ३२ हजार ९६० करोड रुपैयाँ पुगेको थियो ।

अमूल एक सहकारी संस्थाका रुपमा काम गरिरहेको छ । त्यसैले नाफालाई लिएर धेरै काम गरेको छैन । सन् २०१८ मा अमूलको नाफा ४९ करोड भारु थियो भने सन् २०१९ मा नाफा बढेर ५३ करोड भारु पुगेको थियो ।


क्लिकमान्डु